Comments Add Comment

विभत्स अपराध ! ससुरालीको बंश मासेर ‘डिभोर्स’को बदला ?

९ जनाको हत्या गरेर किन रुखमा झुण्डिए रामबहादुर ?

७ जेठ, काठमाडौं । मान्छे कतिसम्म क्रुर हुन सक्दोरहेछ भन्ने मंगलबार पाँचथरको मिक्लाजुङमा देखियो । दुई परिवारको वंश नास गर्ने गरी एक युवकद्वारा भएको ९ जनाको सामूहिक हत्याले धेरैलाई स्तब्ध बनायो ।

खुकुरीले हानेर ९ जनाको हत्या भएको केही घन्टा नबित्दै संदिग्ध व्यक्ति पनि रुखमा झुण्डिएको अवस्थामा फेला परे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको कारण पारिवारिक कलह देखाएको छ । तर, पारिवारिक कलहको परिणाम पनि यतिसम्म विभत्स हुँदोरहेछ भन्ने कल्पना मानिसहरुले शायदै गरेका होलान्

बडीखेलको शैलीमा नरसंहार

मंगलबार बिहान ६ बज्दा नबज्दै पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्या भएको खबर प्रहरीसम्म आइपुग्यो । ससुरा बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका ९ जनाको सामूहिक रुपमा विभत्स हत्या भएको थियो । १२ वर्षकी वालिका मध्यरातमा भागेर बाँच्न सफल भइन् ।

करिब १६ वर्षअघि यसैगरी ललितपुरको बडिखेलमा भएको एकै परिवारको ५ जनाको हत्या भएको थियो । प्रहरी अधिकारीहरुका अनुसार त्यसपछि वंश नाश गर्ने योजनाका साथ भएको ठूलो घटना हो यो ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिमका अनुसार घटनास्थलको दृश्य निकै विभत्स थियो । शवहरु घर बाहिर र भित्र थिए । हरेकलाई निकै पटक धारिलो हतियार प्रहार गरेर मारेको देखिन्थ्यो ।

दुई परिवारको घर करिव दुई किलोमिटर दुरीमा छ । मध्यम स्तरका उनीहरुको गाउँमा अरुसँग ठूलो रिसिइबी पनि भएको थाहा थिएन ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरकाअनुसार ४१ वषर्ीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको छ ।

यस्तै फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक ज्वाइँ-ससुरा हुन् ।

मध्यराति भएको घटनामा घरमै रहेकी बालिका सीता खजुम भने भागेर बाँच्न सफल भइन् ।

उनका अनुसार मुकुन्डो लगाएर आएका व्यक्तिले परिवारका सदस्यहरुको हत्या गरेका थिए । परिवारका सदस्यहरुमाथि आक्रमण हुन थालेपछि भाग्ने क्रममा उनको हात भाँच्चिएको छ । उनकै वयानका आधारमा प्रहरीले घटनामा एक जना मात्र संलग्न रहेको थाहा पायो ।

संदिग्ध व्यक्ति रुखमा झुण्डिएको भेटिए

हत्याका घटनामा प्रहरीले रिसिबीको पक्षलाई विश्लेषण गरेर अनुसन्धान थालेको छ । यो सामूहिक हत्यामा अनुसन्धान ‘न्यारो डाउन’ गर्ने ठाउँ के थियो भने एकआपसमा नाता सम्बन्ध भएका दुई परिवारमा घटना भएको थियो ।

वंश नास गर्ने योजनाका साथ भएको हत्याकाण्डहरुमा पारिवारिक कारण देखिन्छ । ‘हाम्रो प्रारम्भिक आशंका परिवारिक विवादतिर थियो’, एक अनुसन्धान अधिकारी भन्छन् । भागेर ज्यान जोगाएकी सीताले दिएको बयानअनुसार प्रहरीले संदिग्ध व्यक्तिको हुलिया तयार पार्यो ।

घटनामा संलग्न व्यक्ति भाग्न सक्ने आशंकामा जिल्लाका सम्पूर्ण नाकामा शील गरियो । संदिग्ध व्यक्तिको खोजी भइरहेका बेला घटनास्थलबाट केही किलोमिटरको दूरीमा एक युवकको शव भेटिएको खबर आयो ।

प्रहरी टोली पुगेर हेर्दा घटनामा बाँच्न सफल बालिकाले दिएको हुलिया अनुसारकै व्यक्ति थिए । मिक्लाजुङ-८ मा भेटिएका उनको पहिचान मानबहादुर माखिमको रुपमा भयो । उनी परिवारकै सदस्य अर्थात घटनामा मारिएका बमबहादुरका कान्छा ज्वाइँ हुन् ।

प्रहरीले सर्च गर्ने क्रममा नजिकै रगत लत्पतिएको खुकुरी र लुगा भेट्यो । ‘प्रमाणै भेटिएपछिचाहिँ हामी घटना उनैले गराएको भन्ने निष्कर्षमा पुग्यौं’, अनुसन्धान अधिकारी भन्छन्, ‘यद्यपि, केही पाटो बाँकी छ कि भनेर अनुसन्धान गर्ने काम भइरहेको छ ।’

‘डिभोर्स’ले निम्त्याएको विनाश

घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरु मानबहादुरले किन यो घटना घटाए भन्ने खोजीमा छन् । त्यसक्रममा मानबहादुर र उनकी पत्नी मनकुमारी फियाकबीच राम्रो सम्बन्ध नभएको स्थानीयले बताइदिए ।

नेपाल कम्युनिष्ट पार्टी पाँचथरका अध्यक्ष राजकुमार भण्डारीका अनुसार उनीहरुको १० वर्षअघि विवाह भएको थियो । बिहेको डेढ वर्षपछि जन्मिएका जुम्ल्याहा बच्चाको केही समयमै मृत्यु भयो । त्यसपछि मानबहादुर वैदेशिक रोजगारीमा गए तर, परिवारमा भने कलह सुरु भयो । ‘विदेश गएदेखि श्रीमतीसँग सम्बन्ध विगि्रएको रहेछ’, भण्डारीले स्थानीयलाई उद्धृत गर्दै अनलाइनखबरलाई सुनाए ।

मानबहादुर करिब ५ वर्ष विदेश बसेर घर फर्किँदा श्रीमती माइतमै थिइन् । पछिल्लो समय श्रीमान्-श्रीमतीबीच बोलचाल पनि हुन छाडेको थियो । स्थानीयका अनुसार डेढ वर्षअघि मनकुमारी मोरङको वारङ्गीमा आएकी थिइन् । त्यसवेला मनबहादुरले उनलाई धनकुटा-६, बुधबारेबाट जबरजस्ती उठाएर घर लगेका थिए ।

घर पुगेर पनि पति-पत्नीबीच मेल हुन सकेन । मनकुमारी पुनः माइत नै फर्किइन् । उनले जिल्ला अदालतमा छोडपत्रका लागि मुद्दा दर्ता गराएकी थिइन् । यही विवादका कारण मानबहादुरले ससुरा र साढूदाइको वंशकै हत्या गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ ।

मानबहादुर भाग्न खोजेका थिए ?

अनुसन्धान अधिकारीका मानबहादुरले सोमबार राति झापामा रहेका केही आफन्तलाई फोन गरेको देखिएको छ । यो फोन सम्पर्क दुई परिवारका सदस्यहरुको विभत्स हत्यापछि नै भएको अनुमान गरिएको छ ।

उनले फोन सम्पर्क गरेकाहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । प्रारम्भिक कुराकानीमा बताए अनुसार मानबहादुरले ५ हजार रुपैयाँ सापटी मागेका थिए । ‘पुरानो रोग बल्भिmयो भन्दै उनले पैसा मागेका रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् ।

घटनापछि सीमापारि वा अन्यत्र भाग्न पैसा मागेको हुनसक्ने अधिकारीहरुको आशंका छ ।

तर, घटनास्थलबाट करिब डेढ घन्टा हिँडेपछि नै उनले आत्महत्याको बाटो रोजे । रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

यसअघि पनि भएको थियो हत्या प्रयास

जब दुई परिवारका ९ जनाको विभत्स हत्या भएको खबर फैलियो, स्थानीयवासीले खानामा सिसाको धुलो हालेको एउटा घटना सुनाए । यसलाई हत्याकाण्डसँग जोडेर हेरिएको छ र, परिवारका सदस्यहरुको हत्या प्रयास यसअघि पनि भएको आशंका गरिएको छ ।

स्थानीयका अनुसार लघु उद्यम विकास कार्यक्रम अन्तरगत आयोजना गरिएको ढाका बुन्ने तालिममा खानेकुरा सिसा मिसाएको भेटिएको थियो । यो घटनामा उक्त परिवारका दुई सदस्य बिरामी भएका थिए ।
‘यो विषय प्रहरीलाई जानकारी गराइए पनि गम्भिरतापूर्वक अनुसन्धान भएको थिएन’, स्थानीय चन्द्रकुमार तामाङले अनलाइनखबरसँग भने । त्यही घटनालाई गम्भिरतापूर्वक नलिँदाको परिणाम मंगलबारको घटना भएको स्थानीयको दाबी छ ।

घटनाको समग्र अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि काठमाडौंबाट पठाएको एसपी उमाप्रसाद चर्तुवेदीको टोली पठाएको छ भने प्रदेश र जिल्लाबाट पनि टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment