Comments Add Comment

बर्दिवासमा हात्ती आतंक

३१ भदौ, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा केही दिनयता जंगली हात्ती प्रवेश गरेपछि स्थानीयबासी त्रसित भएका छन् । १५ दिनयता बर्दिवास नगरपालिकाका वडानम्बर १, ३ र ५ मा जंगली हात्ती पसेर घरमा र बालीनालीमा क्षति पुर्‍याएको स्थानीय बताउँछन् ।

चुरे क्षेत्रमा रहेको बर्दिवास नगरपालिकाका पर्साहीधाप, रजवास, पाटु, समीगाछी, पञ्चेडाँडा र भब्सी लगायतका बस्तीमा तीनवटा जंगली हात्ती पसेर क्षति पुर्‍याएको बर्दिवास-१ का वडाअध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए । आइतबार पनि बर्दिवास-१ को समीगाछी र पञ्चेडाँडाका बस्तीमा हात्ती पसेका छन् । हात्तीले समीगाछीमा शुक्रबहादुर गुर्मछानेको काठको घर भत्काउनुका साथै चारवटा कच्ची घरमा क्षती पुर्‍याएको पोखरेलले बताए ।

एक साताअघि मात्र बर्दिवास ३ का चारवटा घरमा हात्तीले क्षति पुर्‍याएका थिए । हात्तीको समूहले बर्दिवास-१ स्थित देउराली माध्यमिक बिद्यालयको सुरक्षाका लागि लगाइएको तारजालीको बाँध १० मिटरभन्दा बढी भत्काएको बर्दिवास ३ का अध्यक्ष राजन ढुंगानाले जानकारी दिए ।

जंगली हात्तीको समूह कताबाट आएको हो केही थाहा नभए पनि वर्षेनी हात्तीको समूह यस क्षेत्रमा देखापर्ने गरेको छ । कुनै बेला हात्तीको करिडोर रहेको यस क्षेत्रमा मानव बस्ती बसेको स्थानीय बताउँछन् । कोशीटप्पु बन्यजन्तु क्षेत्रबाट हात्ती यता पसेको हुनसक्ने स्थानीयको अनुमान छ ।

संरक्षित क्षेत्रबाटै  बिच्केका हात्ती यस क्षेत्रमा पसेका हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेल बताउँछन् । मध्यरातको समयमा स्थानीयबासी र वन सुरक्षाकर्मीको सहयोगमा हात्ती लखेट्ने तयारी पनि भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment