७ असोज, गुल्मी । नेपाली सेनाको इन्जिनियरिङ टोलीले तुरतुरेको पहिरोले थुनिएर बनेको बागलङ्को बडिगाड खोलाको ताल विस्फोट गरेर फुटाउन नसकिने निश्कर्ष निकालेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत तुरतुरेमा गत भदौ २९ शुक्रबार राति पहिरो खस्दा खोला थुनिएर ठूलो ताल बनेको छ । उक्त ताल खोल्न सेनाको १४ नम्बर बाहिनी अड्डा काठमाडौबाट प्रमुख सेनानी राधाकृष्ण थापासहितको बम डिस्पोजल टोलीले ताल आसपासको बस्तुगत अवस्थाको अवलोकन गरेको हो ।
अध्ययनपछि सेनानी थापाले अहिलेको अवस्थामा बम हानेर ताल खोल्दा तल्लो भागमा ठूलो क्षती हुने भएकोले यसरी खोल्न नसकिने निश्कर्ष निकालेको बताए ।
ताल थुनिएर पानी बग्नै छाडेको अवस्थामा भने नेपाली सेनाले थप जनशक्ति पठाएर ताल खोल्ने बताउँदै उनले त्यसका लागि प्राविधिक टोलीलाई नेपाली सेनाको घोडाबाँधे ब्यारेकमा राखिरहने बताए ।
काठमाडौं पुग्नेवित्तिकै रिपोर्ट बुझाउने र हप्तापछि सडक विभागले सडक निर्माण गरेपछि मात्रै आफ्नो टोली तालको पानी घटाउन आउने सेनानी थापाको भनाइ छ ।
खोलामा बगिरहेको पानी अहिले ताल माथिबाट बगिरहेको छ । तालमा करिब ८ लाखदेखि १० लाख लिटरसम्म पानी रहेको सेनाको अध्ययन टोलीले जानकारी दिएको छ ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले पनि तत्काल ताल खोल्न समस्या रहेको बताएका मछन् । ‘नेपाली सेनाको टोलीबाट कसरी ताल खोल्न सकिन्छ भन्ने अध्ययन भएको छ,’ प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘अध्ययन टोलीको प्रतिवेदनका आधारमा अगाडि बढिनेछ ।’
उनले ताल खोल्न भन्दा पनि तत्काल अस्थायी रुपमा भएपनि बन्द मध्यपहाडी लोकमार्ग सुरु गर्न काम अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।
प्रतिक्रिया 4