३० भदौ, गुल्मी । बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको पहिरो खसेर खोला थुनिएको हो । पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ ।
चार घर डुबानमा
खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् । स्थानीय बिमल खड्का अनुसार चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ डुबानमा परेका छन् ।
पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका मानिसहरु रातभर जाग्राम बसेका छन् । पहिरोबाट बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।
ओभर फ्लो भएर बग्न थाल्यो खोला
खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।
शुक्रबार राति साढे ११ बजेबाट थुनिएको खोलाको बहाव शनिबार बिहान साढे पाँच बजेबाट आफै बग्न थालेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए । तर जोखिम भने नटरेको उनले बताए । रेग्मीले भने, ‘पानी बग्न थालेको त छ तर नदी किनारका बासिन्दालाई अलर्टमा रहन भनेका छौं ।’
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने पानी बग्न सुरु गरेकाले केही हदसम्म जोखिम कम हुँदै जान थालेको बताए । तर पनि सामान्य अवस्था नहुन्जेल खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए । ‘खोला किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ,’ प्रजिअ पौडेलले भने ।
प्रतिक्रिया 4