Comments Add Comment

टाइममै दौडन सिपालु मन्त्रीसँग टाइम्स् स्क्वायर पुग्दा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा आएर प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा पुगेको पनि दुई साता बितिसकेको छ । प्रधानमन्त्री अमेरिकामा आउँदा राष्ट्रसंघको महासभामा बोलेका र बिभिन्न देशका राष्ट्रप्रमुखहरुसँग भएका महत्वपूर्ण छलफलहरुको पनि समाचार बनेको बिषय पनि लगभग शान्त भैसकेको छ ।

प्रधानमन्त्री अमेरिकामा आउँदा म आफैले गरेको विशेष टेलिभिजन अन्तर्वार्ताले पनि धेरै चर्चा अनि मिडिया कभरेज पायो । राष्ट्रसंघ र यससँग समाचार बनिसकेको भए पनि यो विषयमा मलाई भने एउटा छोटो संस्मरण जस्तो नलेखेसम्म भित्री पाटाहरु अपूर्ण हुने लाग्यो ।

प्रसङ्ग हो–प्रधानमन्त्रीसँगै प्रतिनिधि मण्डलमा आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टाइम म्यानेजमेण्ट क्षमता अनि टाइम्सस्क्यारको ।

अमेरिका र समय

अमेरिकाको प्रगति हुनु र मर्यादित सिस्टम हुनु भनेकै यहाँकोे कानुन र टाइम म्यानेजमेण्ट अर्थात् समयको उचित ब्यवस्थापन गर्न सक्नु मानिन्छ । यहाँ हरेक सेकेण्डलाई महत्वका साथ उपयोग गर्ने प्रयास गरिन्छ । ६ वटा टाइम जोनमा बाँडिएको अमेरिका देशले आफैले वर्षमा दुई पटक एक घण्टा समय बढाउने र घटाउने समेत गर्दछ । समयको उचित ब्यवस्थापन अर्थात् अपोइन्मेण्टलाई निकै महत्व दिइन्छ ।

संसारकै ब्यस्त शहर मध्येकै एक न्यूयोर्कको सब–वे अर्थात् रेल चढ्ने स्थानमा पुगेर एकछिन हेर्ने हो भने मात्र पनि यहाँका मानिसले समयलाई दिने महत्वको बारेमा प्रष्ट हुन्छ । न्यूयोर्कको रेलमा एक सेकेण्ड ढिला भएर एउटा रेल छुट्यो भने अर्को रेल कुर्दा अनि त्यसपछिको कनेक्सन रेल कुर्दा मानिस १०-१५ मिनेट ढिला हुनेदेखि नै काममै जान नपाउने सम्मको खतरा हुने हुँदा समयलाई निकै महत्व दिएर हतार हतार दौडेको मात्र देख्न पाइन्छ ।

टाइम्स स्क्वायर पुग्दा

प्रधानमन्त्रीको टोली सहित अमेरिकाको न्यूयोर्कमै आउनको साँझ नै मैले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर अमेरिकामा स्वागत गरेँ । आफ्नै जिल्लाका मात्र नभएर लामो समयदेखि ब्यक्तिगत रुपमा नजिकको चिनजान भएका मन्त्री अमेरिकामा आउँदा स्वागत गर्दा धेरै खुशी लाग्यो ।

प्रधानमन्त्रीको सम्बोधनको दिनसम्म अलि धेरै नै ब्यस्त हुने त्यसपछिको दिनमा अलि समय निस्कने संकेत गरेका मन्त्री ज्ञवाली सहितको टोलीलाई भेट्न म पनि आतुर थिएँ । प्रधानमन्त्रीको सम्बोधन भएको साँझ नै म टेक्ससबाट न्यूयोर्क पुगेको भए पनि भोलिपल्ट मात्र भेट्ने समय मिलेको थियो । भोलिपल्ट बिहानै परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गरेँ तर उनी दिनभर कार्यक्रममा ब्यस्त हुने हुँदा साँझ ५ बजे पत्रकार भेटघाट कार्यक्रममा मात्र भेटौं भन्ने कुरा भएपछि म पनि प्रधानमन्त्रीको अन्तरवार्ता लिए अनि अन्य भेटघाटमा लागेँ ।

सदैव हुने न्यूयोर्कको जाम त्यसमाथी पनि राष्ट्रसंघको महासभाको बेला हुने अनियन्त्रीत जामले म म्यानहाटनमा पैदल नै यात्रा गरिरहेको थिएँ । साँझ ५ बजेको पत्रकार सम्मेलनमा पुग्न पैदल यात्रा भएकाले केही ढिला भए पनि म पुगेँ । प्रधानमन्त्रीको अमेरिका भ्रमण अनि भेटघाट अनि आफूले गरेका भेटघाट र उपलब्धीबारे बताएपछि मन्त्री ज्ञवालीको पत्रकार सम्मेलन सकियो ।

पत्रकार सम्मेलन सकेर एकैछिन होटेलमा आएका मन्त्री ज्ञवालीले भने टाइम्स स्क्वायर तर्फ जाने चाहना राखे । परराष्ट्र सचिव शंकर बैरागी, स्वकीय सचिव खेमराज ज्ञवाली सहित हामी टाइम्स स्क्वाएर पुग्यौं । न्यूयोर्कमा आउने जो कोहि पनि एक पटक टाइम्स स्क्वायर पुग्ने चाहना राख्छन् नै । पैदल नै हिँडेर टाइम्स स्क्वायर पुगेका मन्त्री ज्ञवालीले यति ब्यस्त शहरको बीचमा सानो ठाउँलाई गरेको ब्यवस्थापन, त्यसबाट भएको आर्थिक उपार्जन अनि संसारका सबैको आकर्षण देख्दा रमाइलो मुडमा एकैछिन टोलाएर हेरे । सायद उनको मनमा काठमाडौंको बिचमा कतै यस्तै बनाउन पाए हुन्थ्यो की भन्ने कुरा घुमेको थियो होला तर मैले बिचैमा रत्नपार्कलाई यस्तै बनाउँदा के होला भन्ने प्रश्न गरेँ । उनी मुस्कुराए मात्र ।

अध्ययनशील नेता

टाइम्स स्क्यारको छोटो अवलोकन पछि मन्त्री ज्ञवालीले संसारकै ठूलो पुस्तक पसल मध्ये पर्ने बार्नेस एण्ड नोबेल पुस्तक पसलमा जाने चाहना राखे । टाईम्स स्क्वायरबाट पैदल नै हामी फेरि पुस्तक पसल तर्फ लाग्यौं । निकै ठूलो पुस्तक पसलमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी केही थान पुस्तक किने उनले । मैले सोधेँ कति बेला पढ्न समय पाउनुहुन्छ नि यति धेरै किताब ? बिहान ७ बजे नै कार्यकर्ता घरमा आउँछन् होला । दिउँसो मन्त्रालय अनि रातिसम्म कार्यकर्ता नै आउँछन् होला । मुसुक्क हाँस्दै उनले भने- बिहान ६ बजे अनि राति ११ बजेसम्म त भेटघाट र फोनमै ब्यस्त भइन्छ तर त्यसपछिको समय निकालेर भए पनि अध्ययन त गर्नै पर्यो नि ।

स्वस्थ नेता

मन्त्री ज्ञवाली बसेको होटेल अनि टाइम्स स्क्वायर, पुस्तक पसल अनि होटलको यात्रा गर्दा म, उनका स्वकीय सचिव खेम ज्ञवाली भन्दा धेरै अगाडि दौडेका हुन्थे । हरेक बिहान मर्निङ वाकमा निस्कने मन्त्री ज्ञवालीको हिँडाइ देखेपछि मैले पनि तपाईंको पेट त मन्त्री हुँदा पनि नबढे पछि कहिले बढ्ला भनें । तर उनले उहि पुरानै मुस्कानमा जवाफ दिए- यो बढ्दैन त्यसैले केही रोगले पनि छुने हिम्मत गरेको छैन ।

टेक्सस पुग्दा

न्यूयोर्कको ब्यस्त समयबाट दुई दिनको समय निकालेर नेपालीहरुको बाक्लो बस्ती रहेको राज्य टेक्सासमा पनि पुगेका मन्त्री ज्ञवालीले त्यहाँ पनि निकै राम्रोसँग समय म्यानेज गर्न जानेको देखियो । बिहान एअरपोर्टबाट सीधै जिल्लाबासी, एनआरएन अगुवा तथा स्थानीयहरुसँग ब्यस्त भएका उनी पत्रकारहरुको कार्यक्रम, सामुदायिक छलफल अनि साँझसम्म नेपालीहरुसँग भेटघाट हुँदै पार्टीका शुभचिन्तक अनि समर्थकहरुलाई समय मिलाएर अलग अलग भेटमा ब्यस्त रहे ।

ड्यालसको कार्यक्रम सकेर उनी ड्राइभमा वाकोमा आफ्ना पूर्व स्वकीय सचिव श्रीकृष्ण गौतमकोमा समेत बसेर हौसला दिँदै ह्युस्टनको कार्यक्रममा पुगे । ह्युस्टनमा नेपालीको कार्यक्रममा ब्यस्त भएका उनी आफ्नै गाउँले द्रोण गौतमकोमा बसेर कार्यकर्ता अनि जिल्लाबासीलाई अलग अलग भेटेका थिए ।

गुल्मेलीलाई खुशी पार्न सफल

आफ्ना जिल्लाका मन्त्री आउँदा गाउँको बिकासदेखि भेटघाटका लागि चाहना राख्नु स्वाभाविक नै हो । मन्त्री ज्ञवाली अमेरिका आउँदा धेरै गुल्मेली उनीसँग समय मिलाएरै कुरा गर्ने समय दिए ।

न्यूयोर्कमा रहेका गुल्मीलेलाई गुल्मी समाजकै कार्यक्रममा पुगेर भेटेका उनले टेक्सासको ड्यालास, वाको अनि ह्युस्टनमा पनि गुल्मेलीहरुसँग खुलेर छलफल गरेका थिए  । होटलेमै पुगेर फोटो खिच्ने भन्दा पनि सामुहिक रुपमा कार्यक्रम नै गरेर कुरा राख्ने समय दिएका मन्त्री ज्ञवालीसँग गुल्मेलीहरु खुशी देखिए ।

गैरआवासीय नेपालीका अगुवासँग

बिदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र क्षमता नेपालमा लगाउनु पर्दछ भनेर सदैब सकारात्मक कुरा गर्ने मन्त्री ज्ञवालीले अमेरिकाको आफ्नो निकै ब्यस्त समयमा पनि एनआरनका अगुवाहरुसँग अलग्गै भेटेर अध्ययन गरेका छन् । नागरिकता सम्बन्धी लामो समयदेखि लागि परेका एनआरएन अभियान्ता खगेन्द्र जिसी, एनआएन अमेरिका बोर्ड अफ डाइरेक्टर सन्जय थापा लगायतसँग बसेर छलफल गरेका ज्ञवालीले आफूहरु बिदेशमा रहेका नेपालीलाई नागरिकता दिन आतुर रहनुका साथै नेपालमा ज्ञान र सिप र लगानी भित्राउन पनि आतुर रहेको बताएका छन् । उनले बिदेशमा रहेका नेपालीभन्दा पनि भूगोल र भावनाले बाँधिएको समेत बताए ।

कार्यकर्तासँग

राष्ट्रसंघको कार्यक्रममा भाग लिन आएका मन्त्रीले देशको प्रतिनिधित्व गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो प्रभाव देखाएका थिए । आफ्नो निकै ब्यस्त समयका बाबजुद पनि मन्त्री ज्ञवालीले नेकपाको शुभचिन्तक संस्था मानिने प्रवासी नेपाली मन्च अमेरिकाका अगुवा तथा कार्यकर्ताहरुलाई पटक पटक समय दिएर भेटघाट तथा छलफल गरेका थिए ।

राष्ट्रसंघमा यस पटक प्रधानमन्त्रीले गरेको सम्बोधन र उपस्थितिबारे उनकै बिरोधीले समेत प्रशंशा गर्ने गरी सफल बनाउनुमा अबश्य पनि परराष्ट्र मन्त्रीको भूमिकामा ज्ञवालीको विषेश हात छ । नेपालले पहिलो पटक उच्च तहमा बेलायत क्यानडा जस्ता देशमा गराएका भेट र आफैले राष्ट्रसंघको शान्ति सम्बन्धी कार्यक्रम कार्यक्रममा सम्बाेधन, धेरै बैठकहरुका साथै बेलायत, नर्बे, आयरल्याण्ड, बुल्गेरिया, अजरबैजान, भारत, पाकिस्तान, मडागास्कार, मलेसिया, राष्ट्रसंघका उपप्रमुखहरु, अमेरिकन सरकारका उच्च प्रतिनिधि लगायतसँग भेटघाट र छलफलमा जुटेका मन्त्रीले समय निकालेर नै आफ्नो लागि शुभचिन्तकका लािग समेत समय निकाल्नु समान्य थिएन ।

यसरी अमेरिकाको छोटो बसाइमा धेरै काम गर्न सफल भएका मन्त्री ज्ञवालीको टाइम म्यानजमेण्ट क्षमता देखेर धेरै प्रभावित भए । नेता खराब छन्, आफै केही गर्दैनन्, अरुलाई मात्र गराउन खोज्छन् अनि केही जान्दैनन् भन्ने भ्रमबाट माथि रहेका मन्त्री ज्ञवालीको समय म्यानेजमेण्ट सबैले सिक्नयोग्य देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment