Comments Add Comment

सिके राउतको वास्तविक चरित्र देखियो !

‘राउतपथ’ को ल्यान्डिङ, सर्वश्व समाप्तिको सम्झौता

बैरागदेखि बचावसम्म, मधेसको इतिहास, मधेसीको वीरताको वर्णन आफैंले लेखें । मधेस र नेपालमा त्यो पुस्तकको प्रचार–प्रसार गरे ।

मधेसबारे लेखिएका सबै कुरा अकाट्य हो भनी सिके राउतले आफ्नो पुस्तकमा अनेक उदाहरणहरू खोजेर ल्याएर पुष्टि गर्ने प्रयाससमेत गरे । अन्ततः आफ्ना सहकर्मी तथा राउतपथमार्गीहरुलाई त्यो किताब पढ्न पनि अनिवार्य गर्ने डाक्टर सिके राउतको वास्तविक चरित्र फरक देखियो ।

मधेसबारे लेखिएको इतिहासको किताबलाई सिके राउत आफैंले ढुट्याए । मधेसी वीरताको कथालाई आफैंले पंगु बनाइदिए ।

अनुज मिश्र

कुनै विद्धानका निम्ति आफूले लेखेको किताबप्रतिको स्नेह यो संसारकै उच्चतम प्रेममध्येको विशेष एक प्रेम हो । जसलाई अन्य कुनै प्रेमसँग दाँज्न मिल्दैन । सिके राउत त्यो प्रेम पनि सम्झौता गरेर फर्किसके । त्यस किताबका पंक्तिहरूलाई आफैंले रातो कलम लगाएर गलत सावित गरेर लेखे– ‘राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामाग्री प्रयोगमा नल्याउने ।’

यद्यपि सिके राउत र सरकारबीच भएको सम्झौता स्वागतयोग्य छ । तर, वीर मधेसी र मधेसको इतिहासलाई विसर्जन गर्ने अधिकार कसैलाई छैन । लेखक राउतले लेखेको कृति प्रकाशित भएपछि पाठकको अधिकारबारे थाहा न भएर होला, त्यो अधिकार आफैंले सम्झौता गरेका । ‘द डेथ अफ अ राइटर’, ‘रोला बार्थ’ आदि नाम न सुनेर होला, डा. लेख्ने सिके राउतले मधेसी समुदायको त्यो हकमाथि गुपचुप सम्झौता गरेका ।

अब मधेससँग बाँकी नै के रहेको छ र ? बाटाहरू कुन–कुन छन् त ? तत्काल यो सरकार रहेसम्म केन्द्र अगाडि ‘हो मा हो’ मिलाउनु बाहेकका कुनै पात्रहरू छैनन् । न अन्य कुनै बाटा छन् । मधेसी नेतादेखि अतिवादी राउतसम्मले अंगीकार गरेका मान्यताहरु सिद्धान्ततः एवं व्यवहारिकरूपले समर्पण गरेका हुन् ।

सिके राउतको सिद्धान्तले सबै भन्दा बढ़ी पिरोलेको अतिवादी मधेसी र मध्यम मधेसीलाई पनि हो । किनभने ६ महिने आन्दोलनको थिचोमिचोपछि मधेसमा अहिले एउटा अलग तरंग बज्रिएको छ । सबै हारको मनोविज्ञानले नतमस्तक र अवसरभोगी राजनीतिमा लिप्त भएका छन् ।

सिके राउतको माग विशाल थियो । जनमत संग्रहको माध्यमले नेपालभित्र खाडल ल्याउने प्रयत्नमा मधेसी जनंसख्या सजिलै बहुमत ल्याउलान् भन्नेहरूले राजाकालीन जनमत संग्रह याद गरे पुग्थ्यो । त्यसकारण पनि राउतपथ अर्थहीन थियो ।

सिके राउत अविश्वसनीय पहिलेदेखि नै थिए । कारण, उनलाई कहिले इण्डिया, कहिले यूरोपियन यूनियन त कहिले सरकारको मधेसी मतियारको संज्ञा दिइएको थियो ।

अतः मधेसका मधेसी जनता उनको पागलपन र हौसलालाई सलाम गर्दै उनको भावनालाई कदर गर्थे ।

पागलपन यसकारण कि– मधेसीहरुले सरकारसँग विखण्डनको राजनीति चाहेका छैनन्, तर उनी अलग्ग मधेसको राजनीति गर्थे । ‘यो मानिस के भन्दो रहेछ, यो त पागलपन हो !’, भन्दै नसुने जस्तो गरेर मधेसको जनसंख्याले उनलाई कहिल्यै गम्भीरतापूर्वक लिएन । भलै उनीमाथि मधेसी हुनुको कारण भावनात्मक कदर होला, जुनचाहिँ आफ्नो समुदायप्रतिको जन्मजात झुकाव हो, र त्यो प्राकृतिक हो । मधेसीहरूलाई सिके राउतलगायत हरेक नेताहरुले ‘उल्लू’ बनाउँदै आइरहेका छन् । चाहे त्यो मधेसी नेता होस् वा पहाड़ी नेता ।

भावनाको कदर यसकारण कि पागलपनको इलाज हुन सक्छ । अर्को इलाज सम्भव नभए पनि समयले इलाज गर्ला । विद्धान हुन्, कुनै बेला आफैं बुद्धि फर्किने छ । राउतले कसरी जोहो गरे केही भीड भन्ने प्रश्नको उत्तर तलतिर सन्दर्भ सँगै छ ।

यावत प्रश्नहरुबीच सवाल–जवाफ गर्ने समय नै रहेन । १६ बुँदे अदालती रिट विरुद्ध सरकार कस्सियो । अनि त्यसको पक्षमा मधेस उभियो ।

रिटकर्ता काठमाडौंका मधेसी भए पनि खासरुपमा कुनै राजनीतिकरूपले सक्रिय व्यक्ति थिएनन् । तिनलाई मधेसले नेता भनेर चिनेका थिएनन् । त्यसैले उनको कानूनी सवालपछि जनमानस विभेद मान्न तयार भए । अर्कोतिर नयाँ पुस्ताका नयाँ खुनहरु त्यो भिडलाई विभिन्न लोक संस्था र लूज फोरमको माध्यमले घुमाउने भरपूर प्रयास गर्‍यो । अनि शुरू भयो, मधेस आन्दोलन–३ को नारा, प्रदर्शन, गोली वर्षा । सुशील कोइराला मुर्दाबाद, १६ बुन्दे सम्झौता खारेज गर ! पुत्ला दहन ! प्रहरी उत्पीड़न मूर्दाबाद ! निर्मम व्यवहार बन्द गर ! आदि आदि ।

जनताले सरकार र प्रहरीलाई आतंककारी भनिरहे । सरकार र प्रहरीले जनतालाई आतंककारी, विखंडनकारी भनेर भटाभट गोली हिर्काइरह्यो। विखण्डनकारीको नारा लाग्दा राउत गौण थिए ।

‘यति धेरै ठूलो मधेस आन्दोलन भएको छ, मधेसीहरुलाई विखण्डनकारी भनिँदैछ, अनि पनि तपाईं किन मौन ?’, मधेसीहरूको प्रश्नमा राउत भन्थे, ‘म विखण्डनकारी छु, म आन्दोलनमा गए झन दमन होला, झन उत्पीड़न होला, त्यसैले म मौन छु ।’

राउतको त्यस अभिव्यक्तिलाई मधेसीहरु दुई किसिमले हेर्थे । एक राउतलाई विखण्डनवादी धारका रुपमा बुझ्थे । अर्को, राज्यको सहयोगी । किनभने राज्यको सहयोगबिना विखण्डनको नारा नेपालमा सहज थिएन ।

राउतको कामले सहयोगीलाई बढ़ी बल पुर्‍याएको थियो । कारण राउत कार्यक्रम गर्थे अनि पक्राउ पर्थे । त्यसपूर्व उनी कमै पक्राउ परेका होलान् । तर, पक्राउ परेको समाचार आउँदा ‘विखण्डनवादी डा. सीके राउत पक्राउ’ भनेर आउँथ्यो । यस्तो न्यूज आउँदा सबै मधेसी, पहाडीको ध्यान तानिने गर्दथ्यो ।

वास्तवमा सिके राउतलाई समाउनुपर्ने पर्याप्त कारणहरू नभए पनि किन प्रहरी उनलाई त्यसरी समाउँथ्यो ? कसको इशारा थियो ? मधेसी लगायत धेरैले प्रश्न उठाउने गरेका थिए । उत्तर एउटै आउँथ्यो,– हिरो बनाउन ! त्यस्तै ‘इमेज’ले केही दर्जन मधेसीहरु सिके राउततिर तानिएका हुन् । जसका सर्जक अदृश्य रहें, आज छर्लङ्ग भएका छन् ।

त्यही राज्यविरुद्ध नझुक्ने सिके राउत पछि त्यस समयमा विरलै एकाध व्यक्ति थिए, उनको विखण्डनकारी नारा सुन्न समेत पनि कोही खड़ा हुँदैनथे । अन्ततः योजनाबद्ध रूपले उनैलाई हिरो पनि बनाइयो ।

विखण्डनवादी भन्दा पनि प्रहरीले पक्राउ गर्ने र छोड्ने डा.सीके राउतलाई देख्न भीड़ लाग्थ्यो । त्यसको मतलब, भीड़ विखण्डनको नारालाई आत्मसाथ गर्न उभेका हुन् भने होइन!

पटक–पटक राउतलाई समातेर हिरो बनाउने सरकार र राउत जब एकै मञ्चमा देखिए । मधेसी लगायत पूरै नेपाल जिल्ल भयो । कारण, जति छिटो राउत आफ्नो नाराबाट पछि हटेका छन्, त्यो अविश्वसनीय र अकल्पनीय छ ।

विखण्डनको नाराले यति सजिलै ज्यान त्याग्दैन । कश्मीर लगायत अनेक त्यसका उदाहरणहरू छन् । वीर नान्य देव लगायतका वीर पुरुषको गाथा लेखेका राउत कसरी स्वम् डरपोक भए ? विखण्डनसँग किन सहज सम्झौता गरे ? यावत प्रश्नमा लेखको अभिरुचि नरहे पनि राउत र विप्लवलाई प्रश्रय दिनेको सोधखोज अनिवार्य छ । हुनुपर्छ।

सम्झौता भाषणमा सिकेको अनुहार थलथल परिरहेको थियो । लवज सरकारको प्रशंसामा निस्किन मानिरहेका थिएनन् । उनी दम कस्थे । आँट गर्थे र अगाडि पढ्थे । तैपनि उनको हृदयले मानेन र दुई शब्द निकाल्यो– ‘जनमत संग्र्रह’ र ‘स्वतन्त्र मधेस’ जुन सम्झौता विपरीतका शब्दहरू हुन । सरकारले प्रष्टयाएको छ, ‘जनअभिमत’ भनेको ‘जनमत संग्रह’ होइन ।

ओली सरकारले मधेसका यस्ता विभूतिहरुलाई नंगयाउन सफल प्रयास गरेका छन् । उपेन्द्रजी संविधानको पुनर्लेखन भन्दाभन्दै मुद्दा छोडे । र, फेरि उजागर भए । राजपा चुनाव बहिष्कार गरेर अन्ततः चुनावमै सहभागी भयो । राजपा पनि अर्धनग्न भएकै हो ।

खासमा चुनावपछि जनप्रतिनिधिहरुले जसरी विकासको मुद्दा उठाएर, अधिकारको मुद्दालाई छेउ लगाएर भ्रष्टाचारमा लिप्त भएका छन् । यसले पनि वर्तमान सरकारको आधारलाई प्रष्ट गरेको छ । मधेसी नेताहरु उजागर भएकै हुन् । यसले के पनि भन्छ भने वर्तमान सरकार निकै शक्तिशाली हो । खास गरेर अध्यक्ष प्रचण्ड र प्रधान ओलीको केमिस्ट्री मिलेको छ ।

वर्तमान मधेस राजनीतिका घटनाक्रम हेर्दा, एकपछि अर्को हुँदै लगभग मधेस नाउँमा राजनीति गर्ने पार्टी, संस्था, व्यक्ति सबै कमजोर, खोक्रो सावित भैरहेका छन् । जसमा मधेसको निम्ति सबैभन्दा घातक डा. सीके राउत नै सावित भएका छन् ।

राउतले समस्त मधेसीको मानमर्दन हुनेगरी अभियान चलाए । अन्तर्राष्ट्रिय समुदायदेखि काठमाडौंका नागरिक समाज अगाडि मधेसीलाई विखण्डनवादी भएको बिल्ला भिराउने योजनाबद्ध कृत्य आज उजागर हुँदा मधेसीहरू खुसी साथै लज्जित महसुश गरिरहनुपरेका सीके पात्रहरू नाम अगाडि शानले डा‘क्टर लेखिरहनु लज्जास्पद पनि हो ।

डा. राउत र सरकारबीच भएको सहमतिले मधेसीलाई सरकारले सहजै लगाउन पाएका विखण्डनकारीको आरोप सम्झौता भएकै दिनबाट पूर्ण रूपले प्रतिबंधित भएको हुनुपर्दछ । मधेसी, थारू, जनजाति, महिला , मुस्लिमहरू नेपालभित्रै अधिकार चाहेका छन। विखण्डनको राजनीति सञ्चालन गर्ने राउत जस्ता पात्रहरू को द्वारा सञ्चालित छन् भन्ने विषय अझै शंकास्पद छ ।

कारण, विखण्डन जस्तो उग्र नारा सजिलै उठदैन, र उठे पनि सजिलै ल्यान्ड हुँदैन । कश्मीर त्यसको सानो उदाहारण मात्र हो । जुन अझै जारी छ । तर, आम मधेसीले कहिले त्यो चिताएका छैनन् । न कहिले सोच्लान् । चाहे किन नै घोर दमनको शिकार हुन परोस् ।

तर, वर्तमान अवस्थामा मधेसीहरूको मनोविज्ञान जुन किसिमले धरासायी भएको छ, यसमा आरोप–प्रत्यारोप, अविश्वास, शंका, घृणा, अशान्ति, लोभ, दमित क्रोध इत्यादि छन्, जुन सम्रगमा हितकारी छैनन् । मधेसीसँग अब केही बाँकी रहेको छैन । त्यसैले आम साधारण मधेसीको स्वाभिमानको संगरक्षण पहिलो प्राथमिकता हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment