१६ कात्तिक, काठमाडौं । नेपालको वाम राजनीतिमा मौसम अनुसार एकता र फुटको लहर चल्छ । जुन लहर अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीमा भित्रिएको छ । ८ घटकको एकता भनिएपनि मूलत: यो दुई मुख्य पार्टीको मिलन हो । यी दुवै पार्टीमा एकता सहमति सँगसँगै विग्रह निम्तिएको छ ।
माओवादी पार्टीमा उपमहासचिव जनार्दन शर्माले माधव नेपालसँगको एकता प्रक्रियामा विमति राखेर पार्टी नै नयाँ पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
यता एकीकृत समाजवादीमा माओवादीसँग एकताको विपक्षमा उभिएका झलनाथ खनाल, घनश्याम भूसाल लगायतका नेताहरूले पार्टी पुनर्गठनका लागि भेला नै गर्न थालिसकेका छन् । समाजवादीमा रामकुमारी झाँक्री लगायतको एउटा समूह एमालेमा फर्किने तयारी गरिरहेको छ ।
पार्टी मिलाउने यो योजनाका मुख्य कालिगढ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपाल हुन् ।
वाम एकताको आवरणमा आ-आफ्ना पार्टीभित्र विग्रह निम्त्याएर भए पनि पार्टी एकीकरणको निर्णयमा प्रचण्ड र नेपाल किन पुगे ? इतिहासमा कुनै समय कटुतापूर्ण सम्बन्ध रहेका प्रचण्ड र नेपाल अहिले एकीकृत पार्टी बनाएर जान खोज्नुमा वर्तमानका केही समान बाध्यता छन् । जुन बाध्यतालाई मिलाएर उनीहरूले अहिले एकीकृत शक्ति आर्जन गर्ने अवसर छोप्न चाहेका छन् ।
‘दुवै नेताहरु पार्टी भित्र र बाहिर दुवै दबाबमा थिए । पार्टीमा समस्या नेतृत्वमा प्रश्न उठेका बेला उनीहरूले चुनाव मार्फत शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने सोचेको देखिन्छ’ विष्लेषक झलक सुवेदीको बुझाइ छ ।
अस्तित्व रक्षाको प्रश्न
माओवादी र एकीकृत समाजवादी दुवै पार्टीभित्र अब अस्तित्व रक्षा कसरी गर्ने भन्ने अवस्था आयो । जेनजी आन्दोलनपछि त झन् पुराना पार्टीहरूको औचित्य सकिएको, नेताहरु प्रयोजनहीन भएको भन्दै व्यापक प्रश्न उठिरहेको छ ।
जसलाई चिर्दै आगामी चुनावबाट कसरी अस्तित्व रक्षा गर्ने भन्ने संक्रमणमा दुवै पार्टी थिए । किनकी गत चुनावमा मोर्चाबन्दीबाट चुनाव लड्दा माओवादीले ३२ र एकीकृत समाजवादीले १० सिट ल्याएका थिए । समानुपातिकतर्फ माओवादीले करिब १३ लाख मत ल्याएको थियो । एकीकृत समाजवादीले त ३ प्रतिशत थ्रेसहोल्ड हटाउन नसक्दा राष्ट्रिय पार्टी नै हुन सकेको थिएन ।
विगतका चुनावहरूमा कहिले एमाले त कहिले कांग्रेससँग चुनावी गठबन्धन गर्दै आएको माओवादीका लागि यसपटक त्यस्तो गठबन्धन कोसँग गर्ने भन्ने संकट थियो । कांग्रेस र एमाले दुवै चुनावी गठबन्धन नगर्ने भन्दै आएका थिए । जेनजी पुस्तासहितका नयाँ दल र शक्तिहरूले पुरानो राजनीतिक लिगेसी बोकेका दलहरूसँगको सहकार्यको सम्भावना पनि कम छ । यस्तो अवस्थामा माओवादी र एकीकृत समाजवादी पनि छुट्टा-छुट्टै चुनाव लड्दा हुन सक्ने क्षति कम गर्न मिलेका हुन् ।
ती पार्टीका नेताहरू भने यो एकतालाई चुनावीभन्दा पनि वैचारिक र वृहत् वाम एकताकै अर्थमा व्याख्या गरिरहेका छन् ।
‘अहिले राष्ट्रिय स्वाधीनता संकटमा छ। संविधान संकटमा छ त्यसैले कम्युनिस्टहरू टुटफुट र विभाजनमा रहनुहँदैन भन्ने हाम्रो साझा बुझाइ हो,’ एकता वार्ता प्रक्रियामा संलग्न रहेका एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला भन्छन्,’विचार, सिद्धान्त र कार्यशैली मिल्छ भने कम्युनिस्टहरू अलग-अलग बस्नु जरुरत छैन ।’
एकीकृत समाजवादीभित्रको असन्तुष्ट समूहले यो एकता नभइ पार्टी विसर्जन भएको आरोप लगाएको छ । तर जुन आरोपको ज्वाला खण्डन गर्छन् । ‘यो कुनै विसर्जन होइन । सबै कुरा मिल्छ भने कम्युनिस्टहरूका खुद्रा पसल धेरै राखेर बस्नु जरुरी छैन’ उनले भने ।
नेतृत्वमाथिको प्रश्न ढाकछोप
जेनजी आन्दोलनपछि सबै पुराना पार्टीहरूमा नेतृत्व परिवर्तवन र पार्टी नै पुनर्गठनको माग उठिरहेको छ । त्यो माग माओवादी केन्द्र र एकीकृत समाजवादीमा नउठ्ने कुरै थिएन । माओवादीका उमहासचिव जनार्दन शर्मासहितले प्रचण्डको नेतृत्व परिवर्तन हुनुपर्ने माग राखे ।
अन्य नेताहरूले पनि नेतृत्व रुपान्तरणको आवाज उठाएपछि गत असोजमा माओवादीले केन्द्रीय कमिटी बैठकबाट विशेष महाधिवेशन मंसिरमा गर्नेगरी पार्टीका सबै संरचनाहरू खारेज गर्यो । अध्यक्ष पद छोडेर प्रचण्ड नै पार्टीको संयोजक बने । अहिले पनि नेतृत्वमा निरन्तर रहने प्रपञ्च अन्तर्गत पार्टी एकताको कुरा गरिएको भन्दै शर्मा लगायतका नेताहरूले प्रश्न गरेका छन् ।
अध्यक्ष दाहालले यो प्रश्नको जवाफ नदिई एकतालाई वृहत् व्याख्या गरेका छन् । उनले वाम एकताको सैद्धान्तिक लेपन गरेका छन् ।
‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ’ उनले केही दिन अघि जारी गरेको अपिलमा छ ।
देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको उल्लेख गरेपनि उनी नेतृत्व परिवर्तनको कुरामा मौन बसेका थिए ।
यता समाजवादीमा पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि अध्यक्ष माधव नेपालले पद छोड्नुपर्ने माग चर्किँदै आएको थियो । तर स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री लगायतले नेतृत्वमाथि प्रश्न उठाएपछि उल्टै पार्टीलाई उनले स्पष्टीकरण दिनुपर्यो ।
झलनाथ खनाल लगायतका नेताहरूले पार्टीमा दस्तावेज नै पठाएर नेतृत्व छोड्नुपर्ने माग गरे । तर नेपाल नेतृत्व छोड्न तयार भएनन् ।
माओवादीमा जनार्दन शर्मा र एकीकृत समाजवादीमा घनश्याम भूसालले दुवै पार्टीका अध्यक्षहरूले नेतृत्व छोडे एकता हुनसक्ने संकेत गरेका थिए । तर नेतृत्व रुपान्तरणको प्रश्नमा उनीहरू दुवै तयार भएनन् । बरु दुवैले पार्टी पुराना संरचना खारेज गरेर आफैं एकीकृत पार्टीको संयोजक र सहसंयोजक बन्ने निर्णय गरे ।
आइतबार सार्वजनिक गरिएको एकताको सहमति पत्रमा दाहाल र नेपालका लागि पद निश्चित गरिएको छ । ‘नेतृत्वको कार्यशैलीमाथि प्रश्न त उठेको हो । तर दुवै नेताहरूले ब्याकमा बसेर अझै पनि पार्टीलाई नेतृत्व गरिराख्ने उद्देश्य देखिन्छ’ विष्लेषक सुवेदीले भने ।
प्रचण्ड- माधव जोड्ने रसायन
अहिले आ- आफ्ना पार्टीको अस्तित्व रक्षाका लागि एकतामा पुगेका प्रचण्ड र माधव नेपालबीच विगतमा तिक्कतापूर्ण रहेपनि २०७५ सालपछि भने हार्दिकतापूर्ण सम्बन्ध छ । यी दुईटालाई जोड्ने रसायन भने केपी ओली थिए ।
जब २०७५ सालमा एमाले र माओवादीबीच पार्टी एकता भयो त्यसपछि प्रचण्ड र माधव नेपाल एउटा धारमा उभिए । केपी ओली सरकारको नेतृत्वमा रहेका बेला यी दुई नेताहरूले सन्तुलनमा राख्न पार्टीभित्र मोर्चाबन्दी गरेका थिए ।
त्यही मोर्चाबन्दी बलियो हुँदै जाँदा कमजोरी बनेका ओलीले संसद् नै विघटनको बाटो लिए । जसका विरुद्ध प्रचण्ड र माधव नेपालले विपक्षी कांग्रेससँग मिलेर सडक आन्दोलन गरे । २०७७ सालमा नेकपा नै विभाजन भयो । माओवादी केन्द्र आफ्नो बाटो लाग्यो । एमालेबाट विद्रोह गरे माधव नेपालले पनि एकीकृत समाजवादी पार्टी गठन गरे ।
नेकपा कार्यकालदेखि नै सहकार्य गरेका दाहाल र नेपालको छुट्टाछुट्टै पार्टी भएपनि दुवैका राजनीतिक प्रधान शत्रु केपी ओली थिए । त्यसैले उनीहरूले २०७९ को चुनावमा कांग्रेससँग चुनावी सहकार्य गरे । त्यसबेला नै उनीहरूबीच पार्टी एकताको चर्चा चलेको थियो ।
तर अलग अलग पार्टी भएर चुनाव लड्दा धेरै सिट ल्याएर संसद्मा बर्चस्व जमाउन सकिने रणनीति अनुसार उनीहरू पार्टी एकताको सट्टा मोर्चाबन्दीमा बसे । तर एकीकृत समाजवादीले तीन प्रतिशत मत ल्याउन नसकेकाले समानुपातिक सिट पाएन । सानो संख्यामा मात्र संसद्मा प्रतिनिधत्व रह्यो ।
चुनावपछि पनि माधव नेपालको एमाले र ओलीलाई हेर्न दृष्टिकोण यथावत् रह्यो । तर प्रचण्ड मोर्चाबन्दीबाट अलग भएर एमालेसँग मिल्न गए । तर एमालेबाट धोका पाएर गत वर्ष सत्ता बहिर्गमनमा परेपछि प्रचण्ड फेरि विपक्षी कित्तामा माधव नेपालसँगै सहकार्य गर्न आइपुगे ।
२०७५ साल अघिको इतिहास हेर्ने हो भने प्रचण्ड र माधव नेपालबीचको सम्बन्ध सँधै सुमधुर छैन । तिक्तता र आरोप प्रत्यारोपको श्रृंखला नै छ ।
माओवादी सशस्त्र युद्धका बेलामा एमालेको नेतृत्वमा माधव नेपाल थिए । तर माओवादीले एमालेमाथि नै वर्गशत्रुको रूपमा कारबाही गरिरहेको थियो । तर नेपालले भूमिगत कालमा नै प्रचण्डलाई भारतमा गएर भेटेर शान्तिवार्तामा ल्याउन पहल गरेका थिए । एमालेबाट बामदेव गौतम, युवराज ज्ञवालीहरूलाई रोल्पा पठाएर भूमिगत बेलामै राजनीतिक सहमतिमा ल्याउने पहल गरेका थिए । माओवादीलाई शान्ति प्रक्रियामा जोड्ने काममा नेपालको भूमिका थियो ।
२०६४ सालको संविधान सभा चुनावपछि माओवादी पहिलो दलको रूपमा उदायो । दाहालले सरकारको नेतृत्व गरे । उक्त चुनावमा माधव नेपालले हार बेहोरेका थिए । संविधान निर्माण गर्ने क्रममा माधव नेपालको अनुपस्थितिले समस्या पर्ने भन्दै प्रचण्डले नै प्रस्ताव गरेर नेपाललाई संविधान सभामा प्रवेश गर्ने बाटो खोले ।
तर प्रचण्डले तत्कालीन प्रधान सेनापति रुकमांगत कटवाललाई हटाउने निर्णय गरेपछि एमालेभित्रै विवाद भयो । प्रचण्डले पदबाट राजीनामा दिए । नेपाल आफैं प्रधानमन्त्री बनेपछि प्रचण्ड रुष्ट बने । भारतीय डिजाइनमा माधव नेपाल प्रधानमन्त्री बनेको भन्दै उनले ‘कठपुतली’ सरकारको संज्ञा दिएका थिए । काठमाडौंमा हडताल गरे । २०६७ वैशाख २२ मा नयाँ बानेश्वरको सभालाई सम्बोधन गर्दै नेपाललाई भनेका थिए- ‘यो कठपुतली सरकार हो । हामी नोकरसँग होइन, अब मालिक (भारत) सँगै सिधै वार्ता गर्छौं ।’
तर बाहिर नोकर भने पनि त्यही रात प्रचण्ड प्रधानमन्त्री नेपालसँगको रात्रीभोजमा मध्यरातसम्म सहभागी भएका थिए । माधव नेपालको सरकार रहुन्जेल प्रचण्डको सम्बन्ध राम्रो रहेन ।
विगतमा शत्रुता, तिक्तता र सहकार्यको अनुभव गरेका प्रचण्ड र माधव नेपालबीच अहिले व्यक्तिगत संकट टार्नका लागि एकता भएको छ ।
पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाले माधव नेपाल रक्षात्मक बनेका छन् । जेनजी आन्दोलनमा घर जल्यो । पार्टी कार्यालय दुई पटक आगजनी भयो । पार्टीभित्र उनीमाथि प्रश्नहरू उठ्न थाले । यी लगातका कारण कमजोर बनेका बेलामा नेपालले सुरक्षित अवतरण खोजिरहेका थिए ।
पार्टी भित्र ‘निरन्तरतामा क्रमभंगता’ भन्दै केही न केही गरेर संधै नेतृत्वमा रहिरहने प्रचण्डलाई पनि यसपटक केही फरक गर्नै पर्ने बाध्यता थियो । त्यसैले दुवैको सरोकार मिल्दा अहिले एक भएका छन् । अब यो एकता दिगो हुन्छ कि नेकपा जस्तै बीचमै क्रयास ?
प्रतिक्रिया 4