News Summary
Generated by OK AI. Editorially reviewed.- विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नु केपी ओलीसँग लम्पसार पर्नु हो, गए हुन्छ-माधव नेपाल
- विद्रोहको औचित्य पुष्टि नहुँदै दाहिने वा देब्रे लाग्नु पलायनवाद र विसर्जनवाद हो। हामी कहीँ जान्नौं-झलनाथ खनाल
१२ कात्तिक, काठमाडौं। चार वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आन्तरिक कलह चुलिएको छ ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी अध्यक्ष नेपालले प्रक्रिया अघि बढाएपछि पार्टीभित्रको कलह चुलिएको हो । नेताहरूका अनुसार यो कलहले पार्टी नै फुटको संघारमा पुगेको छ ।
सम्मानित नेता झलनाथ खनालसहितको समूहले एमालेसँगको विभाजनको औचित्य नै स्थापित हुन नसकेको अवस्थामा हिंसात्मक विद्रोहको राजनीतिक धारबाट बनेको माओवादीमा समाहित हुन नसक्ने धारणा अघि सारेका छन् । जसका कारण पार्टीभित्र स्पष्ट रुपमा दुई धार छुट्टिएको छ।
बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेहरुसँगको एकतामा ढिलाई गर्नहुन्न भन्ने राजनीतिक प्रतिवेदन नै पेश गरेका छन् ।
माओवादीसँग वार्ताका लागि गठित टोलीका वरिष्ठ नेता बेदुराम भुसालले एकतामा प्रगति भइरहेको जानकारी बैठकलाई दिएका छन् ।
माधव नेपाल अब कुनै हालतमा फागुन २१ को चुनावका लागि दल दर्ताको समय कात्तिक ३० अगावै माओवादीसँग एकता गरिसक्ने योजनामा अघि बढेका छन् ।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घाश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायतले भने एकताको आधार र औचित्य तयार नभएको भन्दै असहमति राखिरहेका छन् । एक नेताका अनुसार यही स्थितिमा दुवै समूहअघि बढे एकीकृत समाजवादी सग्लो रहने छैन ।

यसको स्पष्ट सन्देश सम्मानित नेता झलनाथ खनालले बुधबार बैठकपछि सार्वजनिक रुपमै बोलेका छन्। उनले माओवादीसँग हुन लागेको एकतालाई विसर्जनवाद र पलायनवादको संज्ञा दिएका छन् ।
‘हाम्रो पार्टी चार वर्षअघि विद्रोह गरेर बनेको हो । विद्रोह जे उद्देश्यले बनेको हो । यो पूर्ति भएको कि भएन ? पूर्ति नहुँदै हामी दाहिने वा देब्रेतिर लाग्ने भनेको पलायनवाद र विसर्जनवाद हो।’ नेकपा एसका सम्मानित नेता खनालले भने ।
उनले अहिले आफूहरू कुनै पार्टीमा नजाने यही पार्टीलाई अघि बढाउने बताए । श्रीमतीको उपचारमा नयाँदिल्लीमा रहेका खनाल पार्टीको बैठकका लागि भन्दै मंगलबार स्वदेश फर्केका थिए। उनले यसअघि असोज तेस्रो साता दिल्लीबाटै पार्टीलाई पत्र पठाएर जारी एकता प्रक्रियाप्रति प्रश्न उठाएका थिए ।
उनले पार्टी पुनर्गठन र रुपान्तरणको माग गरेका थिए। उनले पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका थिए ।
‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धि र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो। अहिले त्यही नै भइरहेको छ।,’ खनालले पार्टीलाई पठाएको पत्रमा छ ।

नेपालमाथि प्रश्न उठाउँदै आएका खनाललगायतका नेताहरुले बिहीबारको बैठकमा आफ्नो कुरा राख्ने तयारी गरेका छन् । तर खनाललगायतका धारणा र एमालेसँगको एकता प्राकृतिक हुन्छ भन्ने नेताहरुलाई अध्यक्ष नेपालले बुधबारै जवाफ दिइसकेका छन् ।
‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीकोपछि लम्पसार पर्नु बाहेक केही होइन, गए हुन्छ।’ अध्यक्ष नेपालले भने।
एकीकृत समाजवादी एमालेसँग फुटेर बनेको दल भएकाले यसका धेरै कार्यकर्ताहरुले एमालेसँगको एकतालाई प्राकृतिक ठानिरहेको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले बताइन्।
‘हामीले बनाएको पार्टी एमाले हो । त्यसैले एकता एमालेसँग गर्नु राम्रो हुन्छ। तर यहाँ वाम एकताको कुरा गरेर माओवादीसँग मात्र मिल्न जाने कुरा गरिँदैछ,’ उनले भनिन्,’पार्टीको नेतृत्व यत्रो परिवर्तनपछि पनि रुपान्तरित हुने कुनै छाँट छैन ।’
पार्टीभित्र को कता ?
माओवादीसँग पार्टी एकताको प्रक्रिया चलिरहँदा केही नेताहरु मात्र स्पष्ट देखा परेका छन् । धेरै नेताहरु यो केन्द्रीय कमिटीपछि कस्तो अवस्था देखिन्छ त्यसको आधारमा कित्ता क्लियर गर्ने मनस्थितिमा छन् ।
अध्यक्ष माधव नेपाल, वरिष्ठ नेताहरु बेदुराम भूसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला लगायत माओवादीसँगको एकताको पक्षमा छन् । बामदेव गौतम खुलिसकेका छैनन्। तर माओवादीसँगको एकतामा उनी बेखुस छैनन् ।
सम्मानित नेता खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, नेताहरु विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताहरु एकताको आधार नै तयार नभइ, नेतृत्वको रुपान्तरण नै नभएको अवस्थामा एकताको अर्थ नहुने पक्षमा छन् ।
महासचिव घनश्याम भूसाल दुवै पार्टीका अध्यक्षहरुले पद छोडेर रुपान्तरण सहित एकता हुने हो भने त्यसबारे विचार गर्न सकिने पक्षामा छन्। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल तत्काल नेतृत्व छोड्ने पक्षमा छैनन् । एकीकृत पार्टीमा उनीहरु संयोजक र सहसंयोजकको रुपमा नेतृत्वमा रहने गरी एकता वार्ताका क्रममा मोटामोटी सहमति भएसकेको एक नेताले बताए।

एकीकृत समाजवादी एकढिक्का एकता प्रक्रियामा नआउँदा राम्रो सन्देश नजाने भएकाले नेताहरुलाई फकाउने माओवादी अध्यक्ष दाहालले पनि पहल गरिरहेका छन् । एक नेताकाअनुसार यसका लागि उनले ६ महिनापछि नेतृत्व छोड्ने प्रतिबद्धता गरेर समाजवादीका असन्तुष्ट नेताहरुलाई फकाउने प्रयास गरेका छन् । तर अध्यक्ष दाहालको उधारो प्रतिबद्धताको कुनै अर्थ नरहेको जवाफ उनीहरुले दिएका छन् ।
एकीकृत समाजवादी एकढिक्का नआउने देखिएपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हतारको एकता ठीक नहुने बताएका छन् ।
‘हाम्रो पार्टीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ’ माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बुधबार भनेका छन्।
उनले वाम एकताको आवश्यकता भएपनि रुपान्तरण र पुनर्गठनकोसहितको एकीकरण अघि बढे मात्र परिणाम आउने दाबी गरेका छन्।
एकता प्रक्रियामा अहिलेसम्म के छ प्रगति ?
एकता प्रक्रियामा अघि बढेको एकीकृत समाजवादी र माओवादीको संवाद टोलीले धेरै विषयमा आन्तरिक सहमति गरिसकेको छ।
संवादमा सहभागी नेताहरुका अनुसार मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ। दुवै पार्टीले कम्युनिस्ट विचारधाराबाट चल्ने भएकाले उनीहरूले मार्क्सवाद र लेनिनवादलाई मान्ने तय भएको छ। माओवादीले भन्दै आएको माओवाद भने मूल सिद्धान्त रहने छैन।
नेकपा एसले विगतमा भन्दै आएको जनताको बहुदलीय जनवाद पनि रहने छैन। दुवैले लोकतान्त्रिक व्यवस्थालाई आधार मानेर वैज्ञानिक समाजवादलाई अपनाउने छन् । त्यसका लागि नेपाली विशेषताको समाजवाद भन्ने उनीहरूको वैचारिक कार्यदिशा हुने प्रारम्भिक प्रस्ताव छ।
नेकपा कालमा जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई फ्रिज गरेर जनताको जनवाद भनिएको थियो। माओवादी र नेकपा एसले क्रान्तिको कार्यक्रम समाजवाद हुने भनेर अपनाइसकेको अवस्थामा नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद हुने भन्ने छ।
माओवादी र नेकपा एस दुवैको संगठनात्मक संरचनामा करिब एकरूपता छ। अब पनि दुवैले लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयता अबलम्वन गर्ने कुरा भएको छ। अहिले संयोजक र सहसंयोजको रुपमा रहने करिब तय भएको छ। त्यसबाहेक द्वै पार्टीका पदाधिकारीमा रहेका नेताहरुसहितको एउटा सचिवालय राख्ने योजना छ ।

पार्टीको नाम नेकपा समाजवादी, नेकपा वा नेपाली कम्युनिष्ट पार्टीमध्ये कुनै राख्न सकिने विकल्पमा कुरा भइरहेको छ। त्यसका लागि अहिले नेकपा समाजवादी नामको दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
राजु कार्कीको नेतृत्वमा रहेको उक्त दलसँग एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नेबारे पनि कुरा भइरहेको छ।
अर्को विकल्पको रुपमा लोकनारायण सुवेदी नेतृत्वको नेकपासँग एकता गरेर त्यही नाम राख्ने बारे पनि कुराकानी भइरहेको छ । तर दुवै दलसँग एकता नभएको अवस्थामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नाम राख्नेबारे पनि छलफल भएको छ।
दुवै एकता प्रक्रियामा जानका लागि नेकपा एसले बुधबारको केन्द्रीय कमिटी बैठकमा यसअघि बामदेव गौतम लगायतको एकीकरणबाट आएका नेताहरुसहित ८१ जना केन्द्रीय सदस्य थपिएको छ। बुधबारको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुको नाम आएपछि नेता रामकुमारी झाँक्रीले किन थप्न थालेको भन्दै आपत्ति जनाएकी थिइन्।
माधव नेपाल समूह एकतामा गए अरु के गर्छन् ?
माओवादीसँगको एकतामा जाने विषयमा विमति राखिरहेको समूहको भने ३ वटा विकल्प हेरिरहेको छ । नेताहरुका अनुसार अहिले पार्टीमा रहेका बहुसंख्यक नेताहरु एकता प्रक्रियामै जाने संभावना छ।
कार्यकर्ताको ठूलो पंक्तिलाई एमालेमा जानुपर्छ भन्ने पनि छ। तर, एमालेसँग एकताकोबारे संगठित पहल भएको छैन। त्यसैले माधव नेपाल समूह माओवादीमा गए त्यो जाने प्रक्रियामा धेरै डिस्टर्ब नगर्ने पक्षमा छ।
कालान्तरमा एमालेमा मिल्न जाने हो भन्ने सन्देश दिन सक्यो भने कार्यकर्तालाई रोक्न सकिने र त्यसको बलमा संगठित हुने सकिने बुझाइ छ। सम्मानित नेता खनालले त बुधबार पार्टीलाई नै संगठित गरेर जाने बताइसकेका छन् ।

यदी केन्द्रीय कमिटीको बहुमत संख्या एकतामा गयो भने कानुनी रुपमा नेकपा एकीकृत समाजवादी पार्टी भन्ने नै रहँदैन। बाँकी रहेको समूहले अर्कै पार्टी बनाउनुपर्छ वा अन्य कुनै पार्टीमा मिल्नुपर्छ। यदि बहुमत सदस्य माओवादीमा गएनन् भने एकीकृत समाजवादी पार्टी नै रहिरहन्छ।
एमालेले पनि एकीकृत समाजवादीलाई घर फर्किन आह्वान गरेकाले केही नेता र कार्यकर्ताहरु व्यक्तिगत रुपमा पनि एमालेमा फर्किने सक्नेछन् । एमालेका पनि केही नेताहरुले फर्किन खोज्नेलाई सहजीकरण गरिरहेको एक नेताले बताए।
प्रतिक्रिया 4