Comments Add Comment

प्रदिपलाई प्रश्नः ‘के तपाइले आफूलाई आमिर खानसँग तुलना गर्नुभएको हो ?’

नायक प्रदिप खड्का कुनै पनि बिषयमा मिलाएर जवाफ दिन सिपालु मानिन्छन् । प्रदिपको जस्तो मिलाएर प्रश्न अनुसारको जवाफ दिने कलाकार नेपालमा कमै मात्र भेटिन्छन् । तर, कहिलेकाही उनै प्रदिप विवादमा फस्ने गर्छन् । प्रदिपले जवाफ दिएपछि कुनै न कुनै बिषय विवादमा परेको नै हुन्छ ।

यसपटक पनि प्रदिप विभिन्न विवादस्पद बयानका कारण चर्चामा छन् । हामीले उनीसँग सोही विवादित बयान र बजारमा चलेका केही चर्चालाई लिएर कुराकानी गरेका छौ ।

१. तपाईँले आफूलाई बलिउड नायक आमिर खानसँग तुलना गर्नुभएको हो ?
त्यो गलत वुझाई थियो । अवार्ड कार्यक्रममा हामीले रमाइलो प्रस्तुतिका लागि कुरा गरेका थियौं । आमिर खान, अमिताभ बच्चन जस्तो विश्व चर्चित नायक, धुम ३ बनाउने निर्देशक, यशराज ब्यानर जस्तो टिमले बनाएको ‘ठग्स अफ हिन्दुस्तान’ जस्तो चलचित्र त विग्रन्छ भने हामीले अफ विट कथामा बनाएको ‘रोज’ चलचित्र दर्शकले नरुचाउनु सामान्य रहेछ भनेर मैले भन्न खोजेको थिएँ । चलचित्र भनेको टिमवर्क हो, सफल हुन पनि सक्छ नहुन पनि सक्छ । कहाँ मैले आफूलाई आमिर खानसँग तुलना गर्नु ? यो त हुनै सक्दैन ।

२. आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ नचलेको जिम्मा आफूले लिएका थिए, के तपाइले ‘रोज’ असफलताको जिम्मा लिन सक्नुहुन्छ ?
मैले यो कुरा त ‘लिलिबिली’को बेलामा नै भनेको थिएँ । सिंगो चलचित्रको जिम्मा एउटा नायकले लिने कुरा आउँदैन । किनकी, एउटा चलचित्र नचल्नुमा नायकको मात्र हात हुँदैन । सिंगो चलचित्रको जिम्मा लिन खोज्दा फेरि मलाई निर्देशक बन्न खोजेको आरोप लाग्ला ।

तर, यदि मेरो नामकै कारण कोही दर्शक चलचित्र हेर्न आउनुभएको थियो र उहाँहरुलाई चलचित्रले सन्तुष्टी दिन सकेन भने म त्यसको पूर्ण जिम्मा लिन्छु । किनकी, मैले राम्रो चलचित्र खेल्छु भनेर विश्वास गर्न आउने दर्शकका लागि चलचित्र नराम्रो हुँदा मप्रतिको विश्वास कमजोर हुनसक्छ । उहाँहरुसँग म ‘रोज’ नराम्रो लागेको खण्डमा पुरा जिम्मा लिन चाहन्छु । तर, चलचित्र नै विग्रिएको अवस्थामा भने नायक, नायिका, निर्देशकदेखि सबै टिमले नै जिम्मा लिन आवश्यक छ ।

३. तपाइले साम्राज्ञीलाई जोडी बनाउन उनकी आमासँग कुरा गर्नुभएको चर्चा छ, के तपाइ साम्राज्ञीविना नचल्ने नै हो त ?
हो, मैले साम्राज्ञीको आमालाई फोन गरेको हुँ । तर, त्यसको कारण उनलाई जसरी पनि खेलाउन पर्छ भनेर मनाउन होइनँ । मलाई हेमराज विसी दाइको टिमबाट लक्ष्मीपूजाको अघिल्लो दिनमा फोन आएको थियो । साम्राज्ञी पनि आउँदैछिन्, तपाई पनि आउनुहोस् भनेर कुरा भएपछि म पुगेँ । तर, साम्राज्ञी सो समयमा लखनउ गएकी रहिछन् । उनी नआएपछि मैले उनको आमालाई फोन गरेँ । मैले उहाँलाई तपाइहरु आउने कुरा रहेछ, कतिबेला आउनुहुन्छ भनेर सोधको थिएँ ।

सो समयमा चलचित्र राम्रो छ, मलाई टिम पनि राम्रो लागेको छ भनेको थिएँ । किनभने, साम्राज्ञी, हेमराज वीसी जस्तो निर्देशक र मलाई नै चलचित्रमा राखेर काम गर्न सक्ने निर्माता सधै पाइदैन । यसैले पनि मैले साम्राज्ञीकी आमालाई फोन गरेको हुँ ।

४. तपाइले त नायिका जसिता गुरुङलाई आफू बाहेक अरु नायकसँग चलचित्र खेल्न नै दिनुहुन्न भन्ने चर्चा चलचित्र बजारमा खुबै चलेको छ, के हो सत्यता ?
त्यस्तो खेल्नै नदिने भन्ने हुँदैन । उसले मेकरहरुलाई भेटिरहेकी छिन् । तर, उनले भेटेको कुरा समाचारमा नआएको हुनुपर्छ । रेनशा वान्तवा राइलाई पनि भेटेकी छिन्, पूनम गौतम दिदीसँग पनि कुरा भएको जस्तो लाग्छ । भूवन केसी दाइसँग पनि चलचित्रमा काम गर्ने बिषयमा कुरा भएको छ । मैले आफ्नो मात्र चलचित्रमा काम गराउनका लागि उनलाई होल्डमा राख्ने कुरा हुँदैन । म अब लगातार ३ वटा चलचित्रमा काम गर्दैछु । मैले त्यतीबेलासम्म उनलाई होल्डमा राख्न पनि भएन ।

५. तपाइले अवार्ड पाउँछु भन्ने आशाले ‘कामना फिल्म अवार्ड’ होस्ट गर्नुभएको भन्ने टिप्पणी भएको छ, त्यस्तो हो ?
मलाई यो अवार्डमा नृत्य गर्नका लागि अफर आएको थियो । मैले नृत्य भन्दा पनि केही रमाइलो गरौ न भनेर कार्यक्रम संचालन नै गर्छु भनेको थिएँ । म र केकीजीले अवार्डमा रमाइलोका लागि आफै भिडियो बनाएर, एक दिनमै स्क्रिप्ट तयार पारेर चलाएका थियौं । अवार्ड पाउने आशामा नै मैले कार्यक्रम चलाएको होइनँ । अवार्डमा केही नयाँ होस् भनेर त्यसो गरिएको हो ।

प्रस्तुतिः विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment