+
+
Shares

राजेन्द्र महतोः अब हेर्दै जाऔं, स्टेप बाई स्टेप !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते १२:२९

१९ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद रेशम चौधरीलाई सपथग्रहण गराउन लागिएको समाचार सार्वजनिक हुनासाथ सो पार्टीका शीर्षनेता राजेन्द्र महतो निकै प्रशन्न देखिन्थे । सपथपछि चौधरीलाई फेरि जेलमै फर्काउन लागिएको प्रकरणमा पनि महतोले खासै आपत्ति जनाएनन् । बरु उनले अदालती प्रक्रियाको बचाउ गरे ।

‘जनताबाट निर्वाचित सांसदलाई सपथग्रहण गराउनुपर्ने सरकारको काम थियो । जनताको अपमान भइरहेको थियो जनताको मतको सम्मान गर्नुपर्ने यो लोकतन्त्रको मान्यता हो,’ राजपा नेता महतोले विहीबार अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सपथग्रहण गराउने सरकारको प्रथम दायित्व थियो, त्यो दायित्व धेरै ढीलो पूरा गर्ने अवस्थामा छ ।’

‘तर, सांसद चौधरीलाई सपथ खुवाएर फेरि जेलमै लगिँदैछ नि ? तपाईहरुको माग त रिहा नै गर्नुपर्ने होइन र ?’ अनलाइनखबरको प्रश्नमा नेता महतोले भने, ‘त्यो त ठीक छ । त्यो त अदालतको आदेश अनुसार गर्ने होला नि त ।’

पहिलो चरणमा सांसद चौधरीको सपथ ग्रहण भएपछि दोस्रो चरणमा उनको रिहाई हुने विश्वास राजपा नेता महतोले व्यक्त गरे । उनले अनलाइनखबरसँग भने, ‘त्यो अर्को फेज हो । त्यो अर्को चरणमा कुरा गरौंला नि त । यो त एउटा चरणको काम भयो ।’

राजपा नेता महतो अदालतप्रति नरम रुपमा प्रस्तुत भए । सांसद चौधरीको रिहाईका विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘अदालतको सरोकारको विषय हो । अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेश अनुसार सरकारले गर्ने कुरा हो । सरकारले त्यही न भन्छ, हामीले यसमा के गर्ने भन्छ नि त सरकारले ।’

आफूहरुले अदालतलाई मान्ने राजपा नेता महतोले बताए । ‘अदालत हामीले पनि मान्छौं, नमान्ने हैन । अब उनलाई (रेशम चौधरीलाई) संसदमा उपस्थित गराउने दायित्व अदालतदेखि लिएर सरकारको हो,’ महतोले भने, ‘हेर्दै जाऔं न, स्टेप बाई स्टेप ।’

आफूले संसदमा बोल्ने क्रममा सभामुख र सरकार दुवैलाई चौधरीको विषयमा बताएको राजपा नेता महतोले स्मरण गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मैले सरकार र सभामुख सबैलाई भनेको थिएँ, रोष्टमबाट मैले भनेको थिएँ । सरकारले म गर्दैछु भन्दैथ्यो । खाली कुरामात्रै गरिरहेको थियो, काम गरिरहेको थिएन ।’

अघिल्लो साता संसदको हिउँदे अधिवेशन उदघाटनका बेला संसदको रोष्टममा उभिएर महतोले प्रचण्डलाई मुद्दा नलाग्ने, रेशम चौधरीलाई किन ? भन्ने प्रश्न उठाएका थिए ।

राजपा अध्यक्ष मण्डलका नेता महतोले थपे, ‘सरकारसँग हाम्रो अर्को माग छ, बन्दी रिहाई र मुद्दा फिर्ताका कुराहरु छन् । झूठा मुद्दा फिर्ता, बन्दी रिहाई यी मागहरु त हाम्रा यथावतै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?