Comments Add Comment

प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा

२२ पुस, काठमाडौं । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।

आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।

लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । सांसदले सोध्न खोज्दा सोध्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो’ उनले भने ।

लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए ।

कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment