Comments Add Comment

राष्ट्रिय क्रिकेट टीममा एकसाथ चार युवाको प्रवेश

Photo Credit : फाइल तस्वीर

६ माघ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा क्रिकेटरले एकै पटक प्रवेश पाएका छन् ।

यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा हुँदा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा अटाएका हुन् ।

प्रदिप ऐरी र विनोद भण्डारी राष्ट्रिय टोलीमा कायमै रहे । पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र आरिफ सेख छन् ।

भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले भने अस्वस्थताका कारण नाम फिर्ता लिएका छन् ।

यस्तै ललित भण्डारी, सुसन भारी र विक्रम शोव भने वैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली पर्सि यूएई जानेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

एकै पटक चार जना राष्ट्रिय टिममा परेपछि नेपाली क्रिकेट टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । सन्दीप जोरा र भीम सार्की ब्याट्सम्यान हुन् । यी दुबै खेलाडी मध्यक्रममा आएर ब्याटिङ गर्ने गर्छन् । पवन सर्राफ भने अलराउण्डर हुन् ।

अग्रपंक्तिमा ब्याटिङ गर्न आउने पवन राम्रो बलिङ पनि गर्छन् । त्यस्तै, अविनाश बोहरा मिडियम पेस बलर हुन् ।

चारै जना खेलाडीले यु–१९ क्रिकेट टिमबाट पनि खेलिरहेका छन् । भीम सार्कीले पोखरा प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अर्धशतक बनाएका थिए । त्यस्तै, सन्दीप, पवन र अविनाशले पीपीएलसँगै ईपीएलमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

योसँगै यु–१९ क्रिकेट टिमका पाँच जना खेलाडीले नेपाली सिनियर टिममा स्थान पाएका छन् । यसअघि नै रोहितकुमार पौडेल भने सिनियर टिमबाट पनि खेल्दै आएका छन् । उनी पनि अहिले यु–१९ टिमकै सदस्य हुन् ।

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment