Comments Add Comment

सहसचिव राजनराज पाण्डेको आरोप- खानेपानी मन्त्री र सचिव चरम घुस्याहा हुन्

घुस नखाएको हुँदा आफूलाई जिम्मेवारी नदिइएको गुनासो

८ माघ, काठमाडौं । खानेपानी मन्त्रालयका एक वरिष्ठ सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर  र सचिव गजेन्द्र ठाकुर ‘चरम घुस्याहा’ रहेको आरोप लगाएका छन् ।

मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाइएको छ । उनले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन् । यो फारम उनले फेसबुकमा समेत पोस्ट गरेका छन् ।

गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’

पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर भएका थिए । त्यसअघि उनी सुदूरपश्चिम प्रदेशमा थिए । मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको स्वार्थ पूरा नहुने देखेर आफूलाई जिम्मेवारी नदिइएको ठोकुवा उनले गरे ।

मन्त्रालयमा हाजिरमात्रै गरेर दिन गुजारिरहेको बताउँदै पाण्डेले अनलाइनखबरसँग आफ्नो दिनचर्या यसरी सुनाए, ‘हाजिर गर्छु, दिनभरि बस्छु । सरकारको पानी खर्च गर्छु, बिजुली खर्च गर्छु, इन्टरनेटको पैसा खर्च गर्छु अनि फर्किन्छु । फर्किँदा गाडीको धुवाँ उडाउँछु, तेल खर्च गर्छु, त्यही हो ।’

पाण्डेले अनलाइनखबरसँग भने, ‘नेपाल सरकारको स्यानेटरी उपसमूहको १७ जनामध्ये सबैभन्दा सिनियर कर्मचारी हुँ म । सिनियर कर्मचारीलाई जिम्मेवारी नदिनु भनेको उहाँहरुको स्वार्थ पूरा नहुने भएरै हो ।’

सहसचिव पाण्डेसँग गरिएको छोटो कुराकानी-

तपाईंको कासमु फारम देखियो, यो सही नै हो ?

हो, मैले पूरै होसहवासमा फारम भरेको हुँ । मैले यो फारम मेरो फेसबुकमा पनि राखेको छु । यो सही सत्य नै हो ।

तपाईंलाई कहिलेदेखि जिम्मेवारी दिइएन ?

म हाजिर भएदेखि नै जिम्मेवारी दिइएको छैन । म भदौ २१ गते मन्त्रालयमा हाजिर भएको हुँ । त्यति बेलादेखि नै कुनै काम दिइएको छैन ।

त्यसअघि कहाँ हुनुहुन्थ्यो ?

यसअघि सुदूरपश्चिम प्रदेशमा पेलेर पठाएका थिए । त्यहाँबाट विद्रोह गरेर हिँडे । पछि जेनतेन मन्त्रालयमा सरुवा भयो । तर, काम पाइएन ।

मन्त्रालयमा के गरेर बस्नुहुन्छ त ?

हाजिर गर्छु, दिनभरि बस्छु । सरकारको पानी खर्च गर्छु, बिजुली खर्च गर्छु, इन्टरनेटको पैसा खर्च गर्छु अनि फर्किन्छु । फर्किँदा गाडीको धुवाँ उडाउँछु, तेल खर्च गर्छु, त्यही हो ।

जिम्मेवारी किन नदिइएको होला ?

त्यो कुरा मैले फारममै लेखेको छु । म घुस नखाने कर्मचारी भएकाले जिम्मेवारी दिइएन भन्ने कुरा स्पष्ट उल्लेख छ ।

त्यसोभए ज-जसले जिम्मेवारी पाएका छन्, सबैले घुस खाएका छन् त ?

अरुको कुरा मैले गरेको छैन । मन्त्री र सचिव चरम घुस्या हुन् । म घुस खादिनँ, फरक त्यति हो । आजको मितिसम्म यी मन्त्री र यी सचिव जत्तिको घुस्याहा अरु कोही पनि छैनन् ।

मलाई किन जिम्मेवारी नदिइएको भनेर मन्त्री र सचिवसँग भन्नुभयो कि भएन ?

काम दिनुपर्छ भन्ने कुरा उहाँहरुलाई थाहा छैन र ? नेपाल सरकारको स्यानेटरी उपसमूहको १७ जनामध्ये सबैभन्दा सिनियर कर्मचारी हुँ म । सबैभन्दा सिनियरलाई काम नदिनु भनेको उहाँहरुको स्वार्थ पूरा हुँदैन होला । म ठोकुवाका साथ भन्छु, मलाई काम दिँदाखेरि उहाँहरुको स्वार्थ पूरा नहुने भएरै काम नदिनु भएको हो ।

(नोट- सहसचिव पाण्डेको कुरा सुनिसकेपछि हामीले  यसबारेमा सचिव गजेन्द्र कुमार ठाकुरलाई सोध्ने प्रयास गर्‍यौं ।  सचिव ठाकुरले फोन रिसिभ गरे । तर, ‘अनलाइनखबरबाट’ भन्नासाथ ढ्याक्क आवाज आउने गरी फोन राखे ।- सं )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment