Comments Add Comment

प्रदेश प्रशारण विधेयक फिर्ता गर्न पत्रकारको माग

९ माघ, बुटवल । प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश प्रशारण विधेयक फिर्ता गर्न पत्रकारहरुले माग गरेका छन् । विधेयकमा सञ्चार क्षेत्रलाई संकुचित गर्ने प्रकृतिको र अस्पष्ट भएको भन्दै पत्रकारहरुले विधेयक फिर्ता गरेर सच्याउन माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ५ को संयोजनमा गएको पत्रकारहरुको टोलीले प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीलाई भेटी विधेयकमाथि पर्याप्त छलफलको ब्यवस्था मिलाउन माग गरेका हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईले विधेयकमा सरोकारवालाहरुसंग पर्याप्त छलफल नगरिएको र छलफलमा सहभागीले दिएको सुझाव नसमेटिएकाले फेरि छलफल गर्नुपर्ने बताए ।

सरकारले पेश गरेको विधेयक सञ्चारगृह र सञ्चारकर्मीहरुप्रति अनुदार देखिएको र स्वतन्त्र प्रेसको घांटी निमोठ्ने प्रकृतिको भएको भन्दै संसोधन जरुरी रहेको चापागाईले बताए ।

महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले प्रस्तुत प्रशारण विधेयकका बिभिन्न दफाहरुमा गरिएको परिभाषासमेत नमिलेको बताउदै त्यसलाई सच्याउन छलफल जरुरी रहेको बताए । उनले प्रस्तुत विधेयक हुवहु पारित गरिए पत्रकारहरु बाध्य भएर आन्दोलन उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए ।

सभामुख पूर्णबहादुर घर्तीले पत्रकारको चासोप्रति आफू संवेदनशील रहेको बताउदै विधि र प्रक्रियासम्मत ढंगले सुधारको पक्षमा भुमिका खेल्ने आश्वासन दिए । उनले बिषयगत समितिमा छलफलबाट टुंगो लाग्न सक्ने भए सोही समितीबाट टुंग्याउन सकिने अन्यथा सरकारले नै फिर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको जानकारी दिए ।

यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश ५ ले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रशारण विधेयक र ल्याउन लागेको छापाखाना तथा प्रकाशन विधेयकको अध्ययन गरी सुझाव पेश गर्न मोहन चापागाई तथा डिआर घिमिरेको संयोजकत्वमा २ वटा छुट्टाछुट्टै समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment