Comments Add Comment

भेनेजुएलाको सत्ता संघर्ष नयाँ मोडमा, राष्ट्रपति माधुरोले मागे अन्तर्राष्ट्रिय सहयोग

सरकारविरुद्ध विपक्षीको प्रदर्शन जारी

१ फागुन, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरो र विपक्षी नेता खुआन गोइदोबीच जारी सत्ता संघर्षले नयाँ मोड लिएको छ ।

राजधानी कराकसमा गोइदोलेको समर्थन र माधुरोको विरोधमा हजारौंले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले माधुरोलाई सत्ता छाड्न र अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्न आग्रह गरेका छन् । तर माधुरोले भने अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

आफूले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकाको समेत समर्थन पाएका विपक्षी नेता गोइदोले विरोध प्रदर्शनको नेतृत्व गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै उनले माधुरोले राष्ट्रपति पद नत्यागेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

उनले भने, ‘जबसम्म भेनेजुएलालाई स्वतन्त्रता मिल्दैन र स्वतन्त्र चुनाव हुँदैन तबसम्म हामी प्रदर्शन गरिरहन्छौं ।’

जनवरी महिनाको शुरुवातमा निकोलस माधुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ । उनको कार्यकालमा भेनेजुएला आर्थिक संकटबाट जुझ्दै आएको छ । अमेरिकाले प्रतिवन्ध लगाएपछि आर्थिक संकटले झन् अप्ठ्यारो पारेको छ ।

राष्ट्रपति माधुरोले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म विश्वभरका जनतालाई आफ्नो आँखा खोल्न र जागरुक हुन आग्रह गर्दछु, हेर्नुस् त एक शान्तिपूर्ण देशमा कसरी आक्रमण भइरहेको छ ।’

उनले अगाडि भनेका छन्, ‘भेनेजुएलाको समस्या अरु देशको जस्तै हो । यदि तपाईं साँच्चै मद्दत गर्न चाहानुहुन्छ भने तपाईंले शान्तिलाई समर्थन गर्नुपर्छ । भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई भन्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment