+
+
Shares

भेनेजुएलामा ३९ राजनीतिक बन्दी रिहा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार ३९ जना राजनीतिक बन्दी रिहा गरिएको मानव अधिकार संस्था न्याय, भेटघाट तथा क्षमाले जनाएको छ।
  • रिहा हुनेमा सन् २०२१ मा लागुऔषध आतंकवादको आरोप लागेका ८ जना महिला र सन् २०२० मा मादुरोलाई सत्ताच्युत गर्ने प्रयासमा संलग्न ६ जना व्यक्ति पनि छन्।
  • फोरो पेनालका अनुसार सेप्टेम्बर १८ सम्म भेनेजुएलामा ३४४ जना राजनीतिक बन्दी थिए, र परिवारहरूले एल रोदेओ प्रथम कारागारअगाडि प्रदर्शन गरिरहेका छन्।

११ असोज, काराकास (रासस/ एएफपी ) । भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार गरी ३९ जना राजनीतिक बन्दी रिहा गरिएको मानव अधिकारसम्बन्धी संस्थाले जनाएको छ ।

मानव अधिकार संस्था न्याय, भेटघाट तथा क्षमाले विभिन्न कारागारमा रहेका ३९ जना राजनीतिक असन्तुष्टलाई रिहा गरिएको जनाएको छ। रिहा हुनेमा सन् २०२१ मा लागुऔषध आतंकवादको आरोप लगाइएका ८ जना महिला समेत छन् ।

संस्थाले सामाजिक सञ्जालमार्फत आफूहरू अझै पनि निगरानीमा रहने र रिहाइको प्रतीक्षामा रहेका सबै बन्दीको पूर्ण स्वतन्त्रताका लागि निरन्तर आवाज उठाइरहने जनाएको छ ।

शुक्रबार अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार र विपक्षीबीच दोस्रो चरणको वार्ता भएको थियो । संयुक्त राज्य अमेरिकाको स्वीकृतिमा अघि बढिरहेको उक्त वार्ता जनवरीमा अमेरिकी सेनाको कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो पदबाट हटाइएपछि सुरु भएको हो ।

राजनीतिक बन्दीहरूको पक्षमा काम गर्ने गैरसरकारी संस्था फोरो पेनालका अनुसार सेप्टेम्बर १८ सम्म भेनेजुएलामा ३४४ जना राजनीतिक बन्दी रहेका थिए ।

राजनीतिक बन्दीका परिवारहरूले भेनेजुएलास्थित अमेरिकी दूतावास र गैरसरकारी संस्थाहरूले यातना केन्द्रका रूपमा उल्लेख गर्दै आएको एल रोदेओ प्रथम कारागार अगाडि निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

रिहा हुनेमा सन् २०२० मा मादुरोलाई सत्ताच्युत गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकासँग मिलेर काम गरेको आरोप लागेका ६ जना व्यक्ति पनि रहेको पुष्टि भएको छ ।

संयुक्त राज्य अमेरिकाको दबाबपछि रोड्रिगेजले फेब्रुअरीमा आममाफीसम्बन्धी कानुन लागू गरेका थिए। तर राजनीतिक बन्दीहरूको रिहाइको गति भने सुस्त रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?