Comments Add Comment

रवीन्द्र अधिकारीले जवाफ दिन नपाएको त्यो प्रश्न…

१५ फागुन, काठमाडौं । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धित मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने ।’ यो प्रतिनिधिसभाको विहीबार दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूची हो ।

सांसदहरुले प्रश्न पनि संसद सचिवालयमा टिपाइसकेका छन् । तर, भोलि बिहीबार बस्ने संसद बैठकमा न पर्यटनमन्त्री रविन्द्र अधिकारी उपस्थित हुनेछन्, न उनले सांसदहरुको प्रश्नको जवाफ नै दिनेछन् ।

संसदको अबको बैठक शोक बैठकमा रुपान्तरण हुनेछ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीको निधन भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणमा गएका मन्त्री अधिकारी पाथीभरा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

अधिकारीसँगै पर्यटन व्यवसायी आइछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइटल प्रभाकर केसीको निधन भएको छ ।

‘साथी गुमायौं’

संसदको हरेक बैठकको अघिल्लो दिन कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्छ । बिहीबारको बैठकको कार्यसूची तय गर्न बुधबार पनि बैठक बसेको थियो र, प्रश्नउत्तरको कार्यक्रम राख्नुअघि मन्त्री अधिकारीलाई सोधिएको थियो । उनले सहमति जनाएपछि प्रश्न उत्तरको कार्यसूची बन्यो ।

पर्यटनमन्त्री अधिकारीलाई सांसदहरुले सोध्ने प्रश्न पनि तयार भइरहेका थिए । कांग्रेस सांसद गगन थापाले फेक रेस्क्युबारे अध्ययन गर्न बसेको समितिको प्रतिवेदन किन सार्वजनिक भएन भन्ने प्रश्न सचिवालयमा टिपाएका थिए ।

तर, अब प्रश्न टिपाउने थापासहितका सांसदहरुले अधिकारीलाई कहिल्यै प्रश्न गर्न पाइने छैनन् ।

‘हामीले समकालीन राजनीतिका आशालाग्दो नेता गुमाएका छौं’ कांग्रेस नेता थापा भन्छन् । आशलाग्दो नेतासँगै एउटा साथी पनि गुमाएको उनी बताउँछन् । ‘रविन्द्र दाइसँग संगत गर्ने सबैले अनुभव गर्छन् कि हामीले एउटा असल साथी गुमायौं’ उनी भन्छन्, ‘भेट हुँदा जहिल्यै आत्मीयताको अनुभूवी हुन्थ्यो ।’

उनका अनुसार अधिकारी सकारात्मक तरंग ल्याइरहने नेता थिए, जसको अभाव खड्किरहेछ ।

अधिकारीको निधनको खबरले नेकपा सांसद योगेश भट्टराई निःशब्द छन् । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाको खबर पाए लगत्तै आत्तिएर कुराकानी गरेका उनले त्यसपछि सञ्चारकर्मीको फोन उठाएका छैनन् ।

आफू कुनै टिप्पणी गर्न सक्ने अवस्थामा नरहेको भन्दै भट्टराईले फेसबुकमा रविन्द्र अधिकारीसँग बसेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘प्रिय साथी म निःशब्द छु ! म स्वीकार गर्दिनँ ! तिम्रै आवाजले एकपटक बताइदेऊ न यार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment