Comments Add Comment
अन्तर्वार्ता :

ठोकेर भन्छु, नेकपा यसरी चल्दैन

‘प्रतिनिधिसभाकै सांसद प्रधानमन्त्री हुने व्यवस्था सुधारिएको संसदीय प्रणाली हो’

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सोमबार बिहान ११ बजे माधवकुमार नेपालकहाँ पुगे । संविधान संशोधन कार्यदलका अर्का सदस्य खिमलाल देवकोटा पनि त्यहीँ थिए ।

माधव नेपाललाई भेटेर नेम्वाङ सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आइपुग्दा उनको च्याम्बरमा पत्रकारको भिडभाड थियो । एउटा टीभीलाई अन्तर्वार्ता दिइसकेपछि उनी त्यहाँबाट उम्किएर सभामुख अग्नि सापकोटाको च्याम्बरमा पुगे ।

सभामुखको च्याम्बरबाट फर्केर आफ्नो कार्यकक्ष छिर्दासम्म नेम्वाङलाई पत्रकारहरुले घेरि नै रहेका थिए ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खोल्ने गरी माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय ‘संविधान संशोधन कार्यदल’ बनाएको समाचार बाहिरिएसँगै नेम्वाङलाई पत्रकारका प्रश्नको सामना गर्न हम्मे–हम्मे परिरहेको छ ।

यसबारेमा पार्टीले मसँग केही पनि सोध्ने काम गरेन । छलफल गरेन । सचिवालयका कामरेडहरुलाई सोधें । उहाँहरु सबैले दिएको जानकारीअनुसार यसबारेमा सचिवालयमा कुनै पनि निर्णय भएको छैन ।

नेम्वाङलाई फोनमा प्रश्न बर्सियो, ‘आज संविधान संशोधन कार्यदलको बैठक बसेको हो ?’ नेम्वाङले एउटै जवाफ दोहोर्‍याइरहे, ‘कार्यदल भए पो बैठक बस्नु ! मेरा आदरणीय नेता माधव कामरेडसँग चिया खाएर फर्केको हुँ ।’

दिउँसो दलको कार्यालयमा कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेसँग छोटो गफ गरिसकेपछि नेम्वाङले अनलाइनखबरसँग अन्तर्वार्ताका लागि समय मिलाए ।

‘कार्यदलबारे जवाफ दिँदादिँदै हैरान हुनुभयो हैन ? पत्रकारहरुबाट दुःख पाउनुभएजस्तो छ’ अनलाइनखबरकर्मीको प्रश्नमा नेम्वाङले सहज बन्ने प्रयास गर्दै भने, ‘मिडिया त अब, मित्रहरुसँग भेट भइरहँदा मलाई खुशी नै लागेको छ । तर, बाहिरबाट हेर्दाचाहिँ आज यसले धेरै दुःख पायो भन्ने लाग्छ । तर, यो आजमात्रै होइन, हिजोदेखि नै निरन्तर । म तेह्रथुममा प्रधानमन्त्रीजीसँग हुँदा पनि यही ढंगले फोन आएको आएकै गरिराख्यो ।’

प्रस्तुत त नेकपाको बहुचर्चित तर, गर्भमै तुहिएको ‘संविधान संशोधन कार्यदल’बारे नेम्वाङसँग अनलाइनखबरले गरेको ताजा कुराकानी–

तपाईको नामसमेत समावेश भएकाले सुरुमै सोधौं, खासमा कार्यदल बनेको हो कि होइन ? यहाँले त पक्कै पनि यथार्थ बुझ्नुभयो होला…

यसबारेमा पार्टीले मसँग केही पनि सोध्ने काम गरेन । छलफल गरेन । र, मलाई अहिलेसम्म जानकारी पनि दिएको छैन । मैले पत्रपत्रिकामा आएका समाचार हेरें । सचिवालयका कामरेडहरुलाई सोधें । उहाँहरु सबैले दिएको जानकारीअनुसार यसबारेमा सचिवालयमा कुनै पनि निर्णय भएको छैन ।

उसोभए कार्यदलका संयोजक माधवकुमार नेपालकहाँ आज (सोमबार) बिहान तपाई र खिमलाल देवकोटा दुबैजना किन जानुभएको त ? यो संयोग मात्रै हो कि कार्यदलको बैठकै बसेको हो ?

हिजो सञ्चार माध्यमहरुमा यहाँहरुले जे कुराहरु प्रेसित गरिदिनुभयो, जनतालाई जानकारी गराइदिनुभयो, आज बिहान माधव कामरेडकोमा पुग्ने कुरामा यहाँहरुको योगदान छ भन्छु म । किनभने, छ्यास्छ्यास्ती जहाँत्यहीँ यही कार्यदलको कुरा आयो । तर, कसैले पनि यस्तो निर्णय भएको छ भनेनन् । त्यसैले मैले संयोजक भनिएका मेरा आदरणीय कामरेड माधव नेपाललाई भेट्नैपर्‍यो ।

मैले उहाँलाई सोधें । उहाँले आउनोस् ११ बजेतिर बसौं न भन्नुभयो । मैले भनें, कार्यदलको बैठकचाहिँ हैन होला, किनभने कार्यदल छैन । त्यसैले, कामरेडले बोलाएपछि त म आइहाल्छु, कमरेडसँग केही अनौपचारिक कुराहरु छन्, कामरेडसँग भेट्न अहाउँछु भनें । खिमलाल देवकोटाजी पनि आउनुभो । अनि ११ बजेतिर माधव नेपाल कामरेडकोमा बसेर चियाँ खाँदै केही कुराहरु गर्‍यौं ।

ती ‘केही कुराहरु’ भन्न मिल्छ ?

कार्यदल र संविधान संशोधनका बारेमा दुई दिनसम्म छ्यास्छ्यास्ती जुन खबर आयो, स्वाभाविक रुपमा त्यसबारे चर्चा भयो । त्यहाँ (माधव नेपालसँग) हामीले केही कुराहरु राख्यौं ।

मैले किन हामी भनिरहेको छु भने मैले केही कुरा राखेपछाडि खिमलालजीले पनि त्यही नै कुरा राख्नुभो । सुवास दाइले राखेको कुरामा मेरो पनि सहमति छ भन्दै उहाँले आफ्ना कुराहरु राख्नुभएकाले मैले हामी भनेको हुँ ।

अहिले सञ्चार माध्यममा आइरहेका जुन कुराहरु छन्, त्यो हो भन्ने हामीलाई लाग्दैन, किनभने हामीलाई औपचारिक, आधिकारिकरुपमा कुनै जानकारी छैन । सञ्चार माध्यममा पनि निर्णय भएको भन्न नहुनेजस्ता विविध कुराहरु आइरहेका छन् । यो सन्दर्भमा संविधान संशोधनजस्तो गम्भीर विषयमा यो ढंगको प्रक्रिया एकदमै बेठीक हो । पार्टीले यस्तो गरेको छैन भन्ने हामीलाई लाग्छ । पार्टीले यो ढंगले गरेको हो भने चाहिँ यो बेठीक भयो, यसले पार्टीलाई, हामीलाई र सिस्टमलाई, कसैलाई पनि राम्रो गर्दैन ।

वास्तवमा पार्टीले संविधान संशोधनको बारेमा निरन्तर लामो समयदेखि छलफल गरिरहेको छ । मधेसी दलहरुसँग, समाजवादी, राजपा, दलित, जनजाति धेरैसँग छलफल गरिरहेको छ । एउटा समयमा त हामीले संविधान संशोधन बेमौसमी हो समेत भन्यौं । र, त्यसका कारणहरु पनि छन् । त्यतिबेला प्रतिनिधिसभा, प्रदेशलगायत केही पनि बनेको अवस्था थिएनन् ।

जब यी संरचनाहरु तयार भए, अब संविधान संशोधन हुन सक्छ । तर, त्यो संविधान संशोधन देश र जनताका लागि आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ । नेकपाजस्तो जिम्मेवार पार्टीले आवश्यकता र औचित्य स्थापित हुने गरिकन देश र जनताको हितमा संविधान संशोधन गर्ने भूमिका निर्वाह गर्नुपर्छ । सामान्य कानूनका बारेमा त व्यापक छलफलको माग हुन्छ, भरसक सबै दलहरुसँग छलफल होस् भन्ने माग हुन्छ भने संविधान संशोधनजस्तो विषय त निश्चय पनि राजनीतिक दल र नागरिक समाजसँग छलफल गर्नुपर्छ ।

यी सबै गम्भीरता अपनाउँदै नेकपाजस्तो एउटा जिम्मेवार दलले पारदर्शी ढंगले आवश्यकता र औचित्य स्थापित गरेर अगाडि बढ्नुपर्छ । तर, अहिले जुन चर्चा छ, त्यो चर्चा यो ढंगले भएको देखिएन । आवश्यकता र औचित्य स्थापित भएको देखिएन । हठात् कार्यदलको कुरा आयो । र, कार्यदलमा रहेका भनिएका हामीसँग कुनै पनि सम्पर्क, सम्बन्ध नभएको मात्रै होइन, निर्णय भए पनि त्यसबारेमा नभन्ने जस्ता कुराहरु पनि सञ्चार माध्यममा आए । यसमाथि हामीलाई विश्वास छैन, तर जे कुराहरु आएका छन्, यसबारेमा तपाई (माधव नेपाल) बरिष्ठ नेता हुनुहुन्छ, तपाई कार्यदलको संयोजक भनेर पनि आएको छ, तपाईलाई हामीले यी कुराहरु सुनायौं, पार्टीसमक्ष यो कुरा पुगोस् । यो अहिलेको कुराले, प्रक्रियाले तपाई हामीलाई, पार्टीलाई र सिस्टमलाई, कसैलाई पनि राम्रो गर्ने छैन । यो कुरा नेताहरु समक्ष राखिदिनोस् भनेर हामीले आग्रह गर्‍यौं ।

त्यसोभए शनिबारको सचिवालय बैठकबाट गठित कार्यदल कार्यान्वयनमै आउँदैन भनेर बुझ्दा हुन्छ ?

यति कुराचाहिँ म ठोकेर भन्न सक्छु, नेकपाजस्तो गम्भीर, जिम्मेवार पार्टी यो ढंगले अगाडि बढ्दैन ।

मैले त यो कार्यदललाई कतै दखेकै छैन । यसका बारेमा कतै जानकारी नै छैन । त्यसैले यसका बारेमा त मैले अरु के टिप्पणी गरौं ।

तपाई र खिमलाल देवकोटा दुबै सदस्यले असहमति राखिसकेपछि अब यो कार्यदलै रहेन भनेर बुझ्दा हुन्छ जनताले ?

हामीलाई त यो कार्यदलको अस्थित्वमाथि कुनै ऊ नै छैन ।

संयोजकको अस्तित्वचाहिँ देखियो कि देखिएन ?

संयोजक (माधव नेपाल) ले पनि हाम्रा कुराहरुलाई सकारात्मकरुपमा ग्रहण गर्नुभयो । तपाईहरुले उठाएका कुराहरु एकदम जायज छन्, उपयुक्त छन् भन्नुभयो ।

नेकपा सचिवालयले बनाएको कार्यदल गर्भमै तुहियो हैन त ?

गर्भमै थियो कि थिएन, थाहा भएन । तुहिनका लागि त गर्भमा हुनुपर्‍यो । तर, यति कुराचाहिँ म ठोकेर भन्न सक्छु, नेकपाजस्तो गम्भीर, जिम्मेवार पार्टी यो ढंगले अगाडि बढ्दैन ।

तपाई नेकपाको नेता मात्र नभएर संविधानविद एवं संविधानसभाका अध्यक्षसमेत हुनुहुन्छ । सैद्धान्तिक हिसाबले हेर्दाखेरि चाहिँ राष्ट्रियसभाको सांसदलाई प्रधानमन्त्री बन्न पाउने व्यवस्था संविधानमा राख्नु कत्तिको जायज होला ? यसबारे जनतालाई भनिदिनुपर्‍यो ।

जुनबेला विषयमा छलफल हुन्छ, त्यतिबेला म आफ्नो कुरा राखौंला । तर, पनि अहिले म के कुराचाहिँ प्रष्ट गर्न चाहन्छु भने संविधानसभामा संविधान बनिरहेका बेलामा यो विषयमा पर्याप्त छलफल भएको हो ।

राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था राख्ने हो कि भनेर हामीवीचमा छलफल हुँदा हामीले त्यतिबेला विश्वका अन्य देशहरुको पनि उदाहरण लिएका थियौं । भारतमै छ नि भनेर पनि चर्चा भएको थियो । तर, भारतको आफ्नै प्रशंग छ । नेपालमा भने हामीले प्रतिनिधिसभाकै माननीय प्रधानमन्त्री हुने व्यवस्था राखौं भनेर निश्कर्षमा पुगेका हौं ।

त्यसरी निश्कर्षमा पुग्दा हामीले धेरै छलफल गर्‍यौं । हामीले संविधानसभाबाट बनाएको संविधानमा जुन संसदीय लोकतान्त्रिक प्रणालीको परिकल्पना गर्‍यौं, त्यो भनेको सुधारिएको संसदीय प्रणाली हो । सुधारिएको संसद कसरी त भन्ने बुँदाहरुमा एउटा बुँदा यो पनि हो कि हामीले प्रधानमन्त्री प्रतिनिधिसभाबाट बनाउने प्रावधान राख्यौं ।

त्यसैगरी, प्रधानमन्त्रीविरुद्ध दुई वर्षभित्र अविश्वास प्रस्ताव नआउने व्यवस्था राख्यौं । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था राख्यौं । त्यही कारणले पाँच वर्ष प्रतिनिधिसभाको समयावधि तोक्दै हामीले यो व्यवस्था पनि राख्यौं कि प्रतिनिधिसभामा निर्वाचन हारेकालाई त्यो प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री नबनाउने ।

विगतको हाम्रो लामो अनुभवका आधारमा प्रतिनिधिसभाबाटै प्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ भनेर हामीले संविधानमा व्यवस्था राखेका हौं । अहिले दुई वर्ष व्यतीत नभइकनै किन यसलाई परिवर्तन गर्ने प्रयास भयो त ? मलाई त विश्वास नै छैन, यो प्रयास भयो भनेर ।

हामीले विगतको आफ्नो अनुभवसमेतलाई ध्यानमा राखेर सुधारिएको संसदमा यी कुराहरु हुनुपर्छ भनेका हौं । संविधानमा यति विस्तृत रुपमा छलफल गरेर, दलहरुका वीचमा साहै्र व्यापक छलफल गरेर संविधानमा राखिएका प्रावधानहरुलाई दुई वर्ष पनि व्यतीत नभइकन परिवर्तन गर्ने काम उपयुक्त हो कि होइन भन्ने प्रश्न अहिले उठेको छ । मैले आवश्यकता र औचित्यका आधारमा हामी अगाडि बढ्नुपर्छ भनिरहेको छु ।

प्रधानमन्त्री बन्न योग्य सांसदहरु प्रतिनिधिसभामा नभएर नेकपाको सचिवालयमा संविधान संशोधनको छलफल चलाइयो वा पार्टीभित्र एउटालाई कमजोर देखाउन र अर्कोको मन बुझाउन यो कार्यदल बनाइएको हो ? यहाँलाई कस्तो लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । किनभने, यसरी छलफल भएको हो भन्ने मलाई जानकारी छैन । हाम्रो संघीय संसदमा रहेका र नरहेका हाम्रा सबै नेता कामरेडहरु एकदम सक्षम हुनुहुन्छ । म त त्यो विश्वास राख्छु । त्यसैले यो कोणबाट पार्टीभित्र छलफल भयो होला भन्ने मलाई विश्वास छैन ।

खाली के कुरा हो त भन्दा विगतको हाम्रो लामो अनुभवका आधारमा प्रतिनिधिसभाबाटै प्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ भनेर हामीले संविधानमा व्यवस्था राखेका हौं । अहिले दुई वर्ष व्यतीत नभइकनै किन यसलाई परिवर्तन गर्ने प्रयास भयो त ? मलाई त विश्वास नै छैन, यो प्रयास भयो भनेर ।

किनभने, मेरो वामदेव कामरेडसँग पनि राम्रो सम्बन्ध छ । उहाँले कहिल्यै पनि मलाई यसबारेमा चर्चा गर्नुभएको छैन । उहाँ त निरन्तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा हो । त्यसैले उहाँले यसरी प्रयास गर्नुभयो भन्ने जुन चर्चा छ, त्यो चर्चामा अलिकति पनि सत्यता छैन, म त यो विश्वास राख्छु ।

यो जुन चर्चा अचानक उठ्यो नि, यसमा म यतिमात्रै जोड्छु कि यसले हामी कसैलाई पनि राम्रो गरेको छैन । सिस्टमलाई राम्रो गरेको छैन । यही कुरालाई हेक्का राखेर हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।

तपाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकट नेता मानिनुहुन्छ, पार्टीभित्र विभिन्न कार्यदलहरु बनाउनुपरेको चाहिँ पार्टीका सबै मोर्चाहरुमा प्रधानमन्त्री अल्पमतमा परेर अप्ठ्यारोमा पर्न थाल्नुभएको संकेत हो ? यस्ता कार्यदललाई कसरी बुझ्ने ?

सबैभन्दा पहिले त म प्रधानमन्त्रीको नजिकमा छु, एउटा यो टिप्पणी छ । प्रधानमन्त्री केपी ओली अध्यक्षका रुपमा प्रधानमन्त्रीमा सफल हुनुपर्छ । उहाँ असफल हुनुभयो भने हामी सबै असफल हुन्छौं भन्ने मेरो मान्यता छ ।

जहाँसम्म नजिकको कुरा छ, म त सबैसँगै नजिक छु । मैले अस्ति स्थायी कमिटीको बैठकमा पनि ठट्टा गरेर भनेको थिएँ, अहिले सचिवालयको संख्या बढाउने हो भने त एक नम्बरमा त म सचिवालयमा आइहाल्छु नि । किनभने, यहाँहरु सबैले मलाई माया गर्नुहुन्छ । तर, यो संक्रमणकालका बेला सचिवालयको सदस्य संख्या थप्ने काम नगरौं ।

यही क्रममा म जोड्न चाहन्छु, म त प्रचण्ड कामरेडसँग पनि नजिक छु । धेरै कामहरु मैले निरन्तर प्रचण्ड कामरेडसँग नजिक रहेर काम गर्ने गरेको छु । जस्तै– टीआरसीको कुरा, अरु थुप्रै कुराहरु । र, प्रचण्ड कामरेडले भन्ने गर्नुहुन्छ, तपाई हुनुहुन्छ, त्यसैले म ढुक्क छु ।

सभामुख चयनका बेलामा पनि उहाँले मलाई पटक–पटक भन्नुभयो, बाहिर सञ्चार माध्यममा आएका कुरालाई विश्वास नगर्नोस् है, म त सदा सर्वदा तपाईको पक्षमा छु ।

त्यसैले, जहाँसम्म यो नजिकको कुरा छ, म एउटा कुरामा विश्वास गर्छु, व्यक्तिभन्दा पार्टी ठूलो हो । पार्टी भन्दा देश र जनता ठूलो हो । यही मान्यताका साथ म अगाडि बढिरहेको छु ।

र, अहिले जुन प्रशंग आएको छ, यो प्रशंग पार्टीभित्र निर्णय भएको भन्ने छैन । मलाई विश्वास छ, पार्टीले त्यसरी निर्णय गरेको छैन । त्यसैले, पार्टी विचार पुर्‍याएर साँच्चिकै संविधान संशोधन गर्नुपर्‍यो भने आवश्यकता र औचित्य स्थापित हुने गरेर पारदर्शिताका आधारमा पार्टी अगाडि बढ्छ भन्ने मलाई विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment