Comments Add Comment

गर्भमै तुहिने भो वामदेवलाई ‘प्रधानमन्त्री बनाउने’ कार्यदल

के नेकपा आफ्नै जिउमा काउछो दल्न तयार भएको हो ?

११ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको शनिबार बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको माग अनुसार संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने निर्णय गर्‍यो । वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटालाई सदस्यका रुपमा प्रस्ताव गरिएको छ ।

अहिलेको संविधानअनुसार राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न मिल्दैन । तर राष्ट्रियसभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने तारतम्य मिलाउन नेकपा सचिवालयले कार्यदल बनाइएको हो । यद्यपि नेकपाले कुन-कुन विषयमा संविधान संशोधन गर्न लागिएको हो भन्ने प्रष्ट पारेको छैन ।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई आगामी साता राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा मनोनित गर्ने अनि संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्ने नेकपा सचिवालय निर्णयको मनसाय देखिन्छ ।

तर, सचिवालयले वामदेवलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने गरी कार्यदल बनाएको समाचार बाहिर आउनासाथ यसले पार्टीभित्र र बाहिरसमेत तरंग सिर्जना गरिदिएको छ । तरंगबाट आत्तिएर नेकपा नेताहरुले सचिवालयबाट त्यस्तो कुनै निर्णय नभएको तर, यसबारे सामान्य छलफलसम्म भएको तर्क गर्न थालेका छन् ।

तथापि, कार्यदलका सदस्य खिमलाल देवकोटालाई अध्यक्ष प्रचण्डले ‘तपाईलाई कार्यदलमा राखिएको छ, सल्लाह गर्न आउनुहोला’ भन्दै सोमबार खुमलटार बोलाएका छन् । प्रचण्डको यो बोलावटले कार्यदल बनेकै हो भन्ने पुष्टि हुन्छ ।

संविधान संशोधन कार्यदलमा राखिएको भनिएका सुवासचन्द्र नेम्वाङले नै यसमा आश्चार्य प्रकट गरेका छन् । नेम्वाङले आश्चार्य प्रकट गर्नु र माधव नेपाल पक्षले समेत निर्णय भएको स्वीकार नगर्नुले कार्यदल गर्भमै तुहिने प्रष्ट भएको छ ।

उदेक र अचम्मचाहिँ के छ भने नेकपा सचिवालयका नेताहरु नै कार्यदल बनेको स्वीकार गर्न डराएका छन् । सचिवालयका एक नेता भन्छन्, ‘कार्यदल बनेको कुरा बाहिर नलैजाने सहमति भएको थियो, कसले मिडियालाई भनेछ ?’

शनिबारको नेकपा सचिवालय बैठकले गरेको कार्यदल गठनसम्बन्धी निर्णय आइतबार अपराह्न मात्र चुहियो ।

कार्यदल गठनको समाचार आएलगत्तै नेकपाका केन्द्रीय सदस्य तहका नेताहरुसमेत चुनाव हारेका व्यक्तिलाई चोरबाटोबाट प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न लागिएको भन्दै बिरोधमा उत्रिएका छन् ।

नेकपाले माधव नेपालको नेतृत्वमा संविधान संशोधन अध्ययन कार्यदल गठन गरेको कुरा औपचारिक रुपमा किन बाहिर ल्याएन भन्ने प्रश्न त छँदैछ, सो समाचार आएलगत्तै नेकपा पंक्तिबाटै पार्टी निर्णयको औचित्यमाथि प्रश्न उठाइन थालेपछि यो बहस फराकिलो बन्ने देखिएको छ । कार्यदल गठनबारे तीव्र आलोचना आएपछि समाचार चुहिएको केही घण्टामै नेकपा नेतृत्व रक्षात्मक बनिसकेको छ ।

समाचार बाहिरिएसँगै अधिवक्तासमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले बहसमा उत्रिँदै लेख्छन्, ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने अहिलेको व्यवस्था संशोधन भनेको यो संविधान संशोधनमात्रै होइन, वर्तमान शासन प्रणालीको संाशेधन हुन पुग्नेछ । त्यो भनेको झण्डै-झण्डै नयाँ संविधान जन्मनु सरह हो । फेरि यो नेकपा एक्लैको क्षमता बाहिरको कुरा पनि हो ।’

माधव नेपालनिकट मानिने नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख बिष्णु रिजालले आइतबार साँझ सामाजिक सञ्जालमार्फत कार्यदल गठनबारे ‘आफू अनुकुल प्रचार गराएर वातावरण उत्तेजित बनाइएको’ टिप्पणी गरे ।

रिजालले छलफल हुनु र निर्णय हुनु फरक कुरा हो भन्दै नेकपाले औपचारिक रुपमा कार्यदल बनाएको जानकारी नभएको बताएका छन् । तर, नेकपाका सचिवालय सदस्यले नै कार्यदल गठनको पुष्टि गरेका छन् ।

सत्तारोहणका लागि वामदेवको हुटहुटी

नेकपा नेता वामदेव गौतम सत्ता बाहिर रहन रुचाउने नेता होइनन् । सत्तामा बसिरहनुपर्ने गौतम आम निर्वाचनमा बर्दियाबाट हारेपछि संसदमा र सरकारमा प्रवेश गर्न सकिरहेका छैन ।

यही कारणले उनमा सांसद बन्ने र त्यसपछि प्रधानमन्त्री बन्ने हुटहुटी जागेको जाग्यै छ । चुनाव हारेका गौतममा पार्टी एकतापछि थप बेचैनी र अस्थिरता देखिएको छ । उनी कहिले ओली पक्षमा त कहिले प्रचण्ड पक्षमा उभिने गरेका छन् ।

यसका लागि गौतमले प्रतिनिधिसभाको कुनै सदस्यलाई राजीनामा गराउने र उपचुनावमार्फत प्रतिनिधिसभाको सांसद बन्ने जमर्को गरे । त्यसका लागि उपयुक्त पात्र खोज्ने क्रममा सांसद रामवीर मानान्धरलाई राजीनामै लेख्न लगाइयो । यसको सर्वत्र आलोचना भएपछि वामदेवको त्यो योजना कार्यान्वयनमा आएन ।

कास्कीका सांसद रवीन्द्र अधिकारीको निधनपछि त्यहाँबाट चुनाव लडेर सांसद बन्ने मौका वामदेव गौतमले पाएका थिए । तर उनले त्यहाँ चुनाव लड्ने आँट गरेनन् ।

प्रतिनिधिसभाको सांसद बन्न नसकेका गौतमलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले प्रस्ताव गरे । त्यसबेला प्रचण्डले संविधानपछि संशोधन गर्दै गरौंला, अहिलेलाई तपाई राष्ट्रियसभाको उम्मेदवार बन्नुस् भनेको गौतमले बताउँदै आएका छन् ।

जवाफमा गौतमले आफू प्रधानमन्त्री हुने संवैधानिक बाटो खुलाइए मात्रै राष्ट्रिय सभामा जाने शर्त राखे । अन्ततः नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लगियो ।

सुरुमा प्रतिनिधिसभाको सदस्य बन्न जोडबल गरेका गौतमले अब राष्ट्रिय सभाको सांसदलाई प्रधानमन्त्री बन्न दिने संवैधानिक व्यवस्था गर्न र राष्ट्रिय सभामा आफूलाई मनोनित गर्न नयाँ माग पार्टीभित्र प्रस्तुत गर्न थालेका छन् । गौतमको यही माग पूरा गर्नकै लागि शनिबार कार्यदल गठन भएको हो ।

राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आफ्नो मागमा प्रचण्ड सहमत भइसकेको वामदेव गौतमको दाबी छ । तर ओली पक्षमा नेताहरु यसमा मौन छन् । शनिबारको बैठकमा कार्यदल गठनबारे प्रधानमन्त्री ओली मौन बसेको नेपाल स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतका अनुसार ओलीले कार्यदलको खुलेर विरोध नगर्नुको कारण के हो भने उनी वामदेव गौतमलाई चिढ्याउन चाहँदैनन् । वामदेवलाई माधव नेपाल र प्रचण्ड समूहबाट टाढा पारेर आफूसँग जनिक राख्न यसअघि प्रधानमन्त्री ओलीले तपाई नै पार्टीको उत्तराधिकारी भएको भन्दै वचन दिएको नेता गौतमले निकटस्थहरुलाई सुनाउने गरेका छन् । ‘माधव नेपाल वा प्रचण्डलाई बनाउनुभन्दा तपाईलाई नै अध्यक्ष र प्रधान मन्त्री बनाउँछु’ भनेर ओलीले आफूलाई वचन दिएको वामदेवले यसअघि पार्टीभित्र सुनाउँदै आएका थिए ।

तर संविधान संशोधनमा कार्यदल गठनको निर्णयसँगै नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीका सबै तहमा अल्पमतमा परेको पुष्टि भएको छ ।

यो कुरामा स्पष्ट हुन ‘भैंसेपाटी बैठक’ तिर फर्किनुपर्छ । यसअघि बामदेवले आफ्नै निवासमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर भेला गरेका थिए । प्रधानमन्त्री ओलीलाई झस्काएको त्यो भैंसेपाटी भेलाकै निर्णय कार्यान्वयन शनिबारको सचिवालय बैठकले गरेको हो ।

हुन त प्रचण्ड, माधव नेपाल लगायतका कोही पनि नेता मनैदेखि संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउने पक्षमा होइनन् । र, यो असम्भव छ भन्ने पनि बुझेकै हुन् । तर, बामदेव गौतम नेकपामा यस्तो तुरुप भएका छन्, उनलाई जसले प्रयोग गर्न सक्यो, ऊ बलियो हुन्छ ।

वामदेवको ईच्छा पूरा नहुने

वामदेव गौतमले जतिसुकै ईच्छा देखाए पनि व्यक्तिको ईच्छा पूरा गर्ने गरी संविधान संशोधन हुने छाँट छैन ।

बरु यो प्रकरणले नेकपालाई झनै अलोकप्रिय बनाउने र खुइल्याउने निश्चित छ । कम्तिमा पनि राजपाको सहमतिविना संसदमा नेकपाको दुई तिहाई पुग्दैन । वामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउनका लागि मात्रै संविधान संशोधन गर्न राजपा वा अन्य दल सहमत होलान् भन्ने अनुमान लगाउन सकिन्न ।

त्यसोभए वामदेवलाई राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रियसभामा ल्याउन ‘फेस सेभ’का लागि मात्रै माधव नेपाल नेतृत्वमा कार्यदल बनाइएको हो त ? त्यसो हो भने पनि यो प्रकरणबाट नेकपा झनै फस्ने देखिन्छ ।

संविधान निर्माणका बेला तत्कालीन नेकपा एमाले र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थिए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडानबाट एमाले पछि हटेपछि तत्कालीन माओवादी आफ्नो फरक मतसहित प्रतिनिधिसभाको बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा सहमत भएको थियो ।

तर आफ्नै अगुवाइमा जारी भएको संविधान कार्यावन्यनमा आएको चार वर्ष नपुग्दै नेकपा नेताहरु शासकीय स्वरुप फेर्न अग्रसर भएका हुन् ? राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी वामदेव गौतमको मागबमोजिम संविधान संशोधन कार्यदल गठन गरेपछि नेकपा नेतृत्वमाथि यो गम्भीर प्रश्न उठेको छ ।

केही समयअघि मात्र संविधान संशोधन गर्ने प्रस्तावलाई प्रधानमन्त्री ओलीले ‘स्टप इट’ भनेर ठाडै अस्वीकार गरेपछि उपेन्द्र यादवले सरकार छाडेका थिए ।

मधेसकेन्द्रित दुई दल समाजवादी र राजपा दुवैले संविधान संशोधनको एजेण्डा बोकिरहेका छन् । कांग्रेसले त आफ्नै अगुवाइमा ३ वर्षअघि संविधान संशोधनको प्रस्ताव लगेको हो । त्यसबेला एमालेले नमानेका कारण दुई तिहाई नपुगेर संविधान संशोधन हुन सकेन । अहिले पनि नेकपा एक्लैले संविधान संशोधन गर्न सक्दैन ।

संविधानमा मधेसी, आदिवासी जनजाति र अन्य विभिन्न समुदायका असहमति रहेका छन् । संविधान संशोधनकै लागि भएका आन्दोलनमा दर्जनौं नागरिकको ज्यान जाँदा पनि उनीहरुका माग नसुन्ने नेकपा नेतृत्व एउटा व्यक्तिलाई प्रधानमन्त्री बन्ने संवैधानिक अड्चन फुकाउनकै लागि कार्यदल बनाउने तहमा गएको हो भने अब व्यक्तिका होइन, समुदायका माग पनि सुन्नुपर्ने हुन्छ ।

आफूसँग दुई तिहाई बहुमत नभएको र अन्य दलका एजेण्डामा संविधान संशोधन गर्न तयार नभइरहेको अवस्थामा नेकपाले यो कार्यदल के प्रयोजनमा बनायो ?

नेकपामा वामदेव गौतम बाहेक प्रधानमन्त्री हुन योग्य अरु नेता प्रतिनिधिसभामा नभएकाले हो ? यसको जवाफ दिने काम नेकपाकै नेताहरुको हो ।

आफ्नै आङमा काउछो दल्दै नेकपा

यसअघिसम्म संविधान संशोधनको झमेलामा फस्दा ‘पाण्डोराको बाकस’ खुल्छ भन्दै आएको नेकपा नेतृत्व पार्टीभित्रको शक्ति संघर्षका कारण आफैं यो बाकस खोल्न तयार भएको देखिन्छ ।

पछिल्लो समय ओलीविरुद्ध प्रचण्ड र माधव नेपालको अघोषित गठबन्धनले बामदेवलाई साथ लिन संविधान संशोधनको कार्ड प्रयोग गरेको पनि विश्लेषण हुँदै आएको छ । तर, यो कार्ड तत्काल ओलीलाई देखाउन काम लागे पनि दीर्घकालमा सिंगै पार्टीका लागि काउसो हुने देखिन्छ । के नेकपा नेतृत्व आफ्नै आङमा काउछो दल्न तयार भएको हो ? योचाहिँ रोचक प्रश्न हो ।

ओली समूहलाई दुई फाइदा

वामदेवलाई प्रधानमन्त्री बनाउन बाटो खोल्ने निर्णयबाट केपी ओलीलाई पनि घाटा छैन । शायद यही बुझेर शनिबारको बैठकमा प्रधानमन्त्री ओली मौन बसेका हुन् । यसबाहेक वामदेवलाई नचिढ्याउन पनि ओली मौन बसेका हुन सक्छन् ।
यसबाट ओलीलाई हुने फाइदा दुईवटा छन्ः

एक- वामदेवलाई प्रधानमन्त्री बनाउने अलोकप्रिय प्रस्ताव जसले अघि सार्छ, त्यो जनतामा खुइलिन्छ र यो प्रस्ताव पनि पास हुनेवाला छैन, जसको लाभ ओली पक्षलाई नै हुनेछ ।

दोस्रो- वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खुलिहाल्यो भने माधव नेपाल वा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाटो बन्द हुनेछ र ओलीले चाहेजस्तै गरी वामदेव नै पार्टी र सरकार दुबैमा केपी ओलीको उत्तराधिकारी बन्ने छन् । र, यसबाट पनि ओली पक्ष नै लाभान्वित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment