Comments Add Comment

च्याम्पियन बन्न काठमाडौंको नाइट बस चढेका ‘मेक्सम’

एउटा ठट्यैली छ, ‘दश नेपाली बराबर एक स्याङ्जाली ।’

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो ठट्यौली विष्णुप्रसाद गौडेलका लागि बनाइएको हो जस्तो लाग्न सक्छ । उनलाई तपाईं असली नामले भन्दा पनि ‘मेक्सम गौडेल’ भनेर चिन्नुहुन्छ । आँधी खोलको पानी पिएर हुर्किएका यी स्याङ्जाली ठिटोलाई कसले उछिन्ने ?  छुरा पो छन् त !

कमेडी–मञ्चमा उक्लिएपछि उनको तिख्खर हास्यचेत प्रकट हुन्छ ।

हुनपनि त्यही गुणले डोहोर्‍याउँदै उनलाई स्याङ्जाबाट काठमाडौं खाल्डोभित्र ल्याइपुर्‍यायो । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले उनलाई त्यसै पत्याएको हो र ?

कमेडी च्यामपियनको लामो यात्रा पार गरेका मेक्सम टप ३ फाइनलिस्टमा भने पर्न सकेनन् । उत्कृष्ट ४ बाट भोट कम भएका कारण बाहिरिनु पर्‍यो ।

फिजिकल अडिसनको लागि काठमाडौं आउदै गर्दा मेक्समले सोचेका थिएनन् कि, यति चर्चित भइएला । उनलाई लागेथ्यो, जे होस् नयाँ अनुभव त संगाल्न पाइन्छ । त्यही सोचेर उनी काठमाडौंका लागि रात्रिबस चढेका थिए ।

मेक्सम भन्छन्, ‘अन्य रियालिटी शोहरु हेरिरहेको हुन्थें । रियालिटी शोमा सहभागी भइयो भने केही नयाँ सिक्न पाइन्छ भन्ने मात्र थियो ।’

कमेडी च्याम्पियनको मञ्चले आफूलाई धेरै कुराहरु सिकाएको मेक्सम बताउँछन् । कमेडी च्याम्पियनले नै उनलाई लेख्न सिकाएको छ, बोल्न सिकाएको छ, साथीहरु घुलमिल हुन सिकाएको छ । यो कुराले मेक्सम मख्ख छन् ।

जब बाहिरिएको म्यासेज आयो

सोमबार र मंगलबार प्रशारण हुने कमेडी च्याम्पियनको छायाङ्कन भने शनिबार हुन्छ । प्रतियोगीहरुले को बाहिरियो भन्ने शुक्रबार नै पत्तो पाउँछन् ।

शुक्रबार घडीको काँटाले एक बज्नै लागेको संकेत गरिरहेको थियो । ‘अब रिजल्ट आउने समय भयो’, मेक्समले मोबाइल झिके र ग्रुप म्यासेज चेक गरे । मेक्सम डराइरहेका थिए, ‘कतै यो पाली मेरै भोट कम हुने हो कि !’

एकैछिनमा मोबाइलमा म्यासेजको घण्टी बज्यो । मेक्समले म्यासेन्जरको ग्रुप खोले । देखे, ‘यो साता मेक्सम बाहिरिनु भएको छ ।’

मेक्सम एकैछिन अक्क न बक्क भए । आफूले टप ४ मा दिएको प्रस्तुतिले नै आफूलाई बाहिर निकाल्छ भन्ने उनले सोचेका थिएनन् । आखिर भइदियो त्यही ।

आउट भएको पत्तो पाउनसाथ उनले स्याङ्जामा रहेकी आमालाई फोन लगाए । सम्पर्क भएन । दाइलाई फोन गरेर आफू आउट भएको सुनाए । मेक्सम भन्छन्, ‘दाइले ठिकै छ, प्रतियोगिता हो यस्तो हुन्छ । चिन्ता नगर भन्नुभयो । धेरै लामो कुरा हुन पाएन ।’

दाइसँगको कुराकानी पछि उनले उत्कृष्ट ३ मा परेका साथीहरुलाई बधाई र शुभकामनाको म्यसेज लेखे ।

कमेडी च्याम्पियनको घरबाट बाहिरिँदै गर्दा उनले टप ५ बाट बाहिरिएका सुमन कार्कीलाई भेटे । ठट्टा गर्दै उनले भने, ‘स्वागत छ भाइ हाम्रो टोलीमा । तिमी सबैभन्दा जुनियर भयौ ।’ साथीहरुको साथ र मायाले उनलाई बाहिरिएकोमा खासै पीडाबोध भने भएन ।

भोट कम भएर बाहिरिएका मेक्सम भोटिङ सिस्टमलाई दोष दिँदैनन् । दर्शकको रोजाई नै सर्वमान्य हुने उनको भनाइ छ । ‘यदि जजहरुले नै छान्ने हो भने पनि त्यहाँ पक्कै विवाद हुन्छ’, मेक्सम भन्छन्, ‘जसले दर्शकको मन जित्छ, त्यसैले च्याम्पियन जित्छ । यसलाई नराम्रो भन्दिन ।’

भोटिङमा पैसा खर्च गरेर धेरै भोट बटुल्ने गरेको पनि आरोपहरु लागिरहेको हुन्छ । तर, मेक्समले भोटको लागि पैसा खर्च भने गरेनन् । ठट्यैली पारामा नै उनले भने, ‘मसँग पैसा भएको भए २५ लाखको लागि दौडिन्न थिएन होला ।’

भोटको लागि उनले अपिल भने गरेका थिए । उनका परिवार र आफन्तहरुले पनि मेक्समको लागि ठूलो सहयोग गरेका छन् ।

०००

मेक्समलाई सानैदेखि हास्यव्यंग्यमा रुचि थियो । विद्यालयमा हुने कार्यक्रमहरुमा उनी हास्यव्यंग्य गीतमा नृत्य प्रस्तुत गर्थे । अलि–अलि क्यारिकेचर पनि गर्थे ।

विद्यालयमा प्रस्तती दिँदा उनलाई धेरैले प्रशंसा गर्थे । उनी भन्छन्, ‘मैले क्यारिकेचर सुरु गरेकै आफ्नै सरबाट हो । उहाँले पनि मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । हास्य क्षेत्रमा तिम्रो भविष्य छ भन्नुहुन्थ्यो । त्यसले उर्जा थपिदिएको थियो ।’

१७ वर्षको उमेरदेखि उनले त्यहीँको लोकल रेडियोमा कार्यक्रम चलाउन सुरु गरे । रेडियोमा पनि उनले हास्यव्यंग्य कार्यक्रम नै चलाउथे । पछि त्यहीँको लोकल टेलिभिजनमा प्रशारण हुने सिरियलहरुमा पनि उनले आफ्नो अनुहार देखाए ।

मेक्समलाई अभिनयमा खुबै रुचि थियो । हास्यकलाकार बन्ने सपना बुनेका थिए । मेक्सम भन्छन्, ’पहिला पहिला हाम्रै एरियामा सिरियलहरुको छायाङ्कन हुन्थ्यो । त्यहाँ कलाकारले गरेको अभिनयलाई म घरमा आएर अभ्यास गर्थें । संवादहरु बोल्थें । आफैंलाई पनि राम्रो लाग्थ्यो ।’

मेक्समले गरेको अभिनयलाई परिवारका अन्य सदस्यले पनि तारिफ गर्थे । धेरैले भन्ने गर्थे, ‘यो पछि गएर राम्रो कलाकार बन्छ ।’ मेक्समको मन फुरुङ्ग हुन्थ्यो ।

तर, स्याङ्जामा नै रहेर ठूलो कलाकार बन्नेमा उनलाई शंका लाग्यो । त्यसैले उनले सोचेका थिए, ’अब रेडियोमा नै जीवन बिताउँछु । धेरै भन्दा धेरै कार्यक्रमहरु चलाउँछु ।’

अब भने उनको सपना फेरिएको छ । कमेडीमा नै आफ्नो करिअर खोजिरहेका छन्, मेक्सम । उनी भन्छन्, ‘पहिला कमेडीलाई मैले थोरै मात्र समय दिएको थिएँ । अब भने धेरै समय कमेडीलाई दिनेछु ।’

कमेडी च्याम्पियनले आफ्नो करिअरलाई नै ‘यु टर्न’ गरिदिएको मेक्सम बताउँछन् । उनले भने, ‘म पहिला एउटा गाउँमा मात्र सिमित थिएँ, अहिले मलाई मासले चिन्नुहुन्छ । मलाई माया गर्नुहुन्छ । यो सबै कमेडी च्याम्पियनले दिएको हो । त्यसैले कमेडी च्याम्पियन मेरो लागि कोशेढुंगा नै बनेको छ ।’

०००

कमेडी च्याम्पियनको टप ४ सम्म आइपुग्दा मेक्समले आफूलाई विभिन्न क्यारेक्टरमा प्रस्तुत गरे । कहिले बाबा बने त कहिले एनआरएन ।

आफूले पाएको टपिकलाई न्याय गर्न सबैभन्दा पहिला मेक्समले क्यारेक्टरको सृजना गर्छन् । अनि त्यहीँ क्यारेक्टरको वरीपरी रहेर स्कृप्ट तयार पर्ने गर्छन् । उनले भने, ‘हामीलाई मेन्टरहरुले टपिक दिनुहुन्थ्यो । त्यो टपिकसँग सम्बन्धित क्यारेक्टर को हुन्छ भन्ने पहिलो खोजी हुन्थ्यो । अनि त्यसको बारेमा अध्ययन गरेर मात्र लेख्न सुरु गरिन्थ्यो ।’

स्क्रिप्ट लेख्दै गर्दा मनमा डर हुन्थ्यो । ‘आफूले बनाएको क्यारेक्टर र मैले बोल्ने कुरा मेल खान्छ कि खाँदैन भन्ने कुराले मलाई तर्साइरहन्थ्यो’, मेक्समले भने, ‘जबसम्म मैले स्टेजमा अभ्यास गर्दिन थिएँ, त्यस बेलासम्म डर लाग्थ्यो ।’

त्यहाँ भएका प्रतियोगीहरु बीच उनीहरुले पाएको बिषयमा चर्चा र बहश हुन्थ्यो । सबैले आ-आफ्नो धारणा राखेपछि मात्र उनीहरु लेख्न तर्फ लाग्थे ।

०००

कमेडी च्यापम्पियनबाट बाहिरिएका मेक्समलाई अहिले उनका साथीभाइ, परिवार र शुभचिन्तकले फोन तथा म्यासेज गरिरहेका छन् । उनलाई धेरैले उज्जवल भविष्यको कामना गरिरहेका छन् । मेक्सम भन्छन्, ‘अहिले आइरहेको म्यासेज र फोनले साँच्चिकै खुसी दिएको छ । मैले पनि केही शुभचिन्तक पाएछु ।’

तर पनि कुनै न कुनै पक्षबाट कमेडी च्याम्पियन मिस भने भइरहेको छ । ‘सबैभन्दा मिस हुने भनेको नै आफ्नो प्रस्तुति रहेछ’, ठट्टा गर्दै मेक्समले भने, ‘अनि २५ लाख पनि धेरै मिस भइरहेको छ ।’

सुरुवाती दिनमा उनले पुरस्कारको २५ लाखलाई महत्वका साथ हेरेका थिएनन् । सिक्न पाएको, नयाँ साथी पाएको र प्लेटफर्म पाएकोमा खुसी थिए । तर, पछिल्लो समय सिँढी उक्लिँदै टप ४ सम्म आइपुग्दा भने उनले आफूलाई २५ लाखको दाबेदार देखेका थिए ।

मेक्सम भन्छन्, ‘टप २४ बाट टप ५ मा आइपुगियो । वाइल्डकार्डबाट आएका साथीहरुले गर्दा टप ७ भइयो । फेरी टप ४ सम्म आइपुगियो । त्यो बेला लागेको थियो, साँच्चिकै २५ लाख मेरै लागि हो कि क्या हो !’ तर, मेक्समले २५ लाख रुपैयाँ नजिते पनि लाखौँ नेपालीको मन जितेका छन्, त्यसैमा खुसी छन् ।

च्याम्पियनका ३ फाइनालिस्ट

फाइनलमा पुगेका ३ जना प्रतियोगीलाई नै जितको दाबेदार देख्छन्, मेक्सम । आफ्नो–आफ्नो विधामा पोख्त छन् टप ३ । मेक्समले भने, ‘एक जना राम्रो भनेर भन्नै मिल्दैन । ३ जना नै फरक फरक प्रस्तुति शैलीको हुनुहुन्छ । त्यसैले ३ जना नै उत्कृष्ट लाग्छ ।’

मेक्समलाई हिमेश पन्तको स्क्रिप्ट र बोल्ने शैली निकै राम्रो लाग्छन । सुमन कोइरालाको प्रस्तुति दिने शैली मेक्समलाई मन पर्ने पक्ष हो । खड्ग बहादुर पुनको कथा र प्रतुस्ती राम्रो भएको मेक्समले बताए ।

यसैले जित्छ भनेर कल्पना गर्न मेक्सम असमर्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment