काठमाडौं । प्रतीक्षित टेलिभिजन शो ‘कमेडी च्याम्पियन’ चौंथो सिजनका जज (निर्णायक) निश्चित भएका छन् । यसपटक जजको संख्या घटाएर ३ जनामा सीमित गरिने भएको छ ।
यस संस्करणको जजमा कलाकार जितु नेपाल, ऋचा शर्मा र निर्देशक समेत रहेका विशाल भण्डारी हुनेछन् । अघिल्ला तीनै संस्करणमा जजको रुपमा देखिएकी ऋचाले नयाँ सिजनमा पनि निरन्तरता पाउने भएकी हुन् ।
यसपटक नयाँ पुस्तालाई समेटेर जज प्यानल बनाइएको स्रोतले जनायो । यद्यपि, यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
दर्शकलाई नयाँपन र ताजापन महसुस गराउन नयाँ जज प्यानल बनाइएको स्रोत बताउँछ ।
चौंथो सिजनको होस्टमा कमेडियन मेक्सम गौडेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुनेछन् । चौंथो सिजनमा स्ट्यान्ड-अप कमेडीलाई प्राथमिकता दिने तयारी छ । अडिसन छायांकन बुधबारदेखि मुलपानीस्थित सेटमा हुनेछ ।
विजेतालाई २५ लाख रुपैयाँ मूल्य पर्ने गाडी र २५ लाख नगद पुरस्कार दिइने भएको छ । शोको प्रसारण साउन पहिलो सातादेखि गर्ने तयारी छ । चौंथो सिजन सकेर कमेडी च्याम्पियन टोली अस्ट्रेलिया टूरमा जाँदैछ भने फिल्म निर्माणको पनि तयारी छ ।
प्रतिक्रिया 4