Comments Add Comment
गण्डकीमा नेकपाको प्रशिक्षण :

मुद्दामै नछिरी उम्किए ओली, कार्यकर्तामा भरेनन् ऊर्जा

कार्यकर्ता भन्छन्- यति कमजोर प्रस्तुति आजसम्म सुनेको थिइनँ

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुममा आइतबार मनाएको जन्मदिनको तरंग पोखरासम्म पुगेको थियो । सामाजिक सञ्जालमा आलोचना र बहस चलिरहेको थियो । यसले नेकपाका नेता- कार्यकर्तालाई पनि नछुने कुरै भएन ।

पोखरा सभागृहमा सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै थियो । प्रशिक्षणलाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रशिक्षण सुन्न सभागृहमा भेला भएका नेकपाका नेता-कार्यकर्ताको अपेक्षा थियो, ‘जन्मोत्सवकै भोलिपल्ट पोखरा आएका प्रधानमन्त्रीले पक्कै यसबारे केही प्रष्ट पार्नेछन् । र, प्रधानमन्त्रीले सञ्चारमन्त्रीको अडियो प्रकरणका बारेमा पनि केही न केही बोल्नेछन् ।’

प्रधानमन्त्रीकै विश्वासपात्र मानिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन काण्डमा मुछिएर सरकारबाट बाहिरिएपछि नेकपा नेतृत्व र सरकारमाथि अझ बढी आलोचना भइरहेको छ । यसबारे अध्यक्ष ओलीले प्रष्ट पार्ने नेकपा कार्यकर्ताले अपेक्षा गरेका थिए ।

प्रशिक्षणअघि प्रदेशका एक नेताले अनलाइनखबरसँग भन्दै थिए, ‘प्रधानमन्त्री आफैंलाई पनि धेरैले बास्कोटा प्रकरणसँग जोडेर हेर्ने गरेको अवस्थामा पक्कै पनि उहाँले यससम्बन्धी कार्यकर्तालाई केही भन्नुहुनेछ ।’

नेकपा गण्डकी प्रदेशले पहिलोपटक योखालको प्रशिक्षण कार्यक्रम राखेको हो । पहिलो दिन नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने भनिएको थियो ।

तर, अध्यक्ष प्रचण्ड स्वास्थ्यको कारण देखाउँदै पोखराको प्रशिक्षणमा सहभागी भएनन् ।

प्रशिक्षणमा करिब १ हजार ५ सय सहभागी थिए । सबैको मुख्य आकर्षण र ध्यान आज प्रधानमन्त्री ओलीले के बोल्छन् भन्नेतिरै थियो ।

पछिल्लो समय विभिन्न मुद्दाहरुमा सरकारमाथि उठिरहेका प्रश्नबारे अध्यक्षले कार्यकर्तालाई प्रष्ट्याउनेछन् भन्ने धेरैको अपेक्षा थियो । तर, प्रधानमन्त्री ओली सरकारमाथि उठेका कुनै पनि प्रश्नमा प्रवेश नै गरेनन् ।

सधैं उखान टुक्कासहित कार्यकर्तामा ऊर्जा र हौसला भर्ने प्रधानमन्त्री ओली सोमबारको कार्यक्रममा त्यसरी पनि प्रस्तुत भएनन् । झण्डै डेढ घन्टा सम्बोधन गरेका प्रधानमन्त्रीले सरकारले असाधारण काम गरेको तर प्रतिक्रियावादीहरुले भ्रम फैलाउने, पासो थाप्ने र दुश्प्रचार गर्ने काम गरिरहेको बताए ।

‘प्रधानमन्त्रीज्यूले पार्टी प्रशिक्षणमा पछिल्ला घटनाक्रमबारे कार्यकर्तालाई केही हदसम्म भएपछि प्रष्ट पार्ने काम गर्नुहुन्छ भन्ने थियो । तर, प्रधानमन्त्रीज्यूले कुनै पनि विषयमा प्रवेश नै गर्नुभएन,’ नेकपाका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘मैले उहाँको यति कमजोर भाषण आजसम्म कहिल्यै सुनेको थिइनँ ।’

हुन पनि सम्बोधनका क्रममा ओली अलि गम्भीर र चिन्तित नै देखिए । सरकारले असाधारण काम सुरु गर्न सफल भएको र नेकपा विश्वकै नमूना पार्टी भएको उनले बताए । तर, उनले कार्यकर्तामा ऊर्जा भर्ने गरी प्रशिक्षित गर्न नसकेको सहभागीले अनुभव सुनाए ।

‘पार्टी एक भइसक्यो । पार्टी र सरकारमाथि छरिएको भ्रम चिर्न पछिल्लो घटनाको वास्तविकता बाहिर आउला र कार्यकर्तालाई हौसला प्रदान होला भन्ने लागेको थियो,’ प्रदेश कमिटीका एक सदस्यले भने, ‘तर, अध्यक्षले कुनै पनि विषयमै नछिरी बाहिरी कुरामात्रै गर्दा कार्यकर्तामा ऊर्जा बढ्न सकेन ।’

उनले भने, ‘केही भनौं, आफ्नै पार्टीका प्रधानमन्त्री र अध्यक्ष, नभनौं हामीलाई नै प्रश्नको सामना गर्न गाह्रो भइसक्यो ।’

केही प्रदेश सदस्यले चाहिँ प्रधानमन्त्री ओली पछिल्ला केही घटनाक्रमबाट आफैं सिथिल देखिएको विश्लेषण गरे । हसाई, हसाई कार्यकर्तामा हौसला भर्ने र आफ्नो आत्मविश्वास देखाउने कला भएका प्रधानमन्त्री सोमबार भने निरशरुपमा प्रस्तुत भएको नेता-कार्यकर्ताले सुनाए ।

प्रधानमन्त्री ओलीको पोखराको सम्बोधनमा न ताली बज्यो, न हाँसोको फोहोरा फुट्यो ।

‘एउटा कुखुराको चल्लाले फट्यांग्रो टिपेर खुरुरु दौडिएपछि अरु चल्लाहरु पनि के टिप्यो भन्ने नै नबुझी पछिपछि दौडने’ भन्दै विपक्षी दललाई व्यंग्य गर्दाबाहेक ओलीको भाषणप्रति कार्यकर्तामा खास एकाग्रता देखिएको थिएन ।

यति होल्डिङ्स, निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरण, एमसीसी कार्यदलको रिपोर्ट अनि संविधान संशोधन कार्यदल जस्ता विभिन्न मुद्दाहरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पूरै रिजर्भमा बसेको कार्यकर्ताले सुनाए ।

मुख्यमन्त्रीका प्रश्न, प्रश्नमै सीमित

कार्यक्रमको सुरुमै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्टमाथि उठिरहेको प्रश्नबारे विषय उठान गरेका थिए । उनले कम्युनिस्टमा सादा जीवन उच्च विचार हराउँदै गएको बताए । कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने भएकाले हिँडेको बाटोमाथि नै प्रश्न उठाउने गरी भूल नगर्न उनले आग्रह गरेका थिए ।

मुख्यमन्त्री गुरुङले पछिल्लो काण्डलाई संकेत गर्दै भने ‘तीन वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको बीचमा देखिनुपर्छ । जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नुहुँदैन ।’

मुख्यमन्त्री गुरुङले कम्युनिस्ट आचरण नेताहरुले भुल्दै गएको बताएपछि प्रधानमन्त्रीले त्यसको पनि जवाफ दिने अपेक्षा धेरैको थियो । समग्र पार्टी र सरकारमाथि उठिरहेको प्रश्नबारे उठान गर्ने गरी नै प्रदेश कमिटीले मुख्यमन्त्री गुरुङलाई सुरुमै बोल्ने कार्यसूची बनाएको थियो ।

मुख्यमन्त्री गुरुङपछि प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिइएको थियो ।

‘प्रधानमन्त्रीको समय कम भएकाले मुख्यमन्त्रीले विषयवस्तुको उठान गर्ने र लगत्तै प्रधानमन्त्रीलाई बोल्न समय दिइएको हो,’ नेकपा गण्डकीका सचिव गोविन्दबहादुर नेपालीले भने, ‘उहाँको स्वास्थ्यमा पनि समस्या भयो । धेरै दौडधुप पनि थियो । यस्तो अवस्थामा पनि उहाँले प्रशिक्षित गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले कम्युनिस्ट आचरण र पुष्पलाल एवं मदन भण्डारीले मार्गनिर्देश गरेको बाटोमै हिँडेको मात्र बताएनन्, सुशासन र विकासको जग बसाल्ने काम पनि यो सरकारले गरेको समेत बताए ।

तर, ओलीले न मुख्यमन्त्रीले उठाएको सवालतिर इंगित गरे, न त कार्यकर्ताको मनमा उठेका जिज्ञासाको समाधान नै गरे । ओलीले सरकारले राम्रो काम गरेको र विरोधीहरू आत्तिएको विषयलाई नै बढी जोड दिए ।

कोही पनि गरिबीका कारण, शीतलहल र चिसोका कारण कोही मर्नु नपर्ने, काठमाडौं सडक मानवमुक्त बनेको, फलाम खानी सञ्चालन गर्न लागेको, हिमाली च्यांग्राबाट फाइदा लिन सकिने, नेपाल सरकारले रेल ल्याउन लागेको जस्ता पुरानै विषयहरु प्रधानमन्त्रीले दोहोर्‍याए ।

सोमबार प्रशिक्षण कार्यक्रम राखेको नेकपा गण्डकीले मंगलबार र बुधबार बैठक बसेर समसामयिक विषयमा छलफल एवं कार्यकर्ताबीच अन्तक्रिर्या गर्ने कार्यसूची तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment