Comments Add Comment

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भेटियो त्रुटि नै त्रुटि

भीआईपी उडान प्रक्रिया नै छैन

१३ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत  विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको पाइएको छ ।

नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्ति (भीआईपी)को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।

त्यसपछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा पाइलट वा हिमआँधीका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ ।

पाथिभरा जाने सूचना काठमाडौं टावरलाई थिएन

काठमाडौंबाट उडेको एयर डाइनेष्टी हेलि सर्भिसको ९ एनएएमआई हेलिकप्टरको उडान काठमाडौं-तेह्रथुम-काठमाडौंका लागि निर्धारित थियो । यसको जानकारी काठमाडौं टावरसँग थियो । त्यहीअनुसार हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।

तर, दुर्घटना पाथिभरामा भएको छ । त्यस विषयमा आयोगले भीआईपी उडानको प्रक्रिया आवश्यक रहेको देखाएको हो । भीआइपी उडानको प्रक्रिया भएको भए जति सुकै ठूलो मान्छेले आग्रह गरेको भएपनि हेलिकप्टर पूर्वनिर्धारित प्रक्रिया र रुटभन्दा बाहिर गएर उड्न सक्ने थिएन । हेलिकप्टरमा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पासमेत सवार थिए ।

छानविन आयोगका संयोजक यज्ञप्रसाद गौतमका अनुसार तेह्रथुमबाट पाथिभरा जाने योजना कहाँ कसरी बन्यो भन्ने पुष्टी हुन सकेको छैन ।

‘काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं नै फर्कने योजनाअनुसार उडेको हेलिकप्टर कसरी पाथिभरा जाने योजना कसरी बन्यो, त्यसको पुष्टी हुने आधार देखिएन,’ उनले भने ।

अगाडिको सीटमा दुई जना राख्दा असुरक्षित

एयरबस हेलिकप्टरले निर्माण गरेको यो हेलिकप्टरको स्टान्डर्ड क्षमता ६ सीट हो । तर, आवश्यक परेको बेला हेलिकप्टरले ७ जनासम्म बोक्न सक्ने स्पष्ट उल्लेख गरेको छ । १० हजार फिटभन्दा तलको उचाइमा उड्दा हेलिकप्टरले सजिलै पूरा लोड थाम्न सक्थ्यो । तर, पाथिभराको उचाइमा यो लोड अधिक थियो । लोडकै कारण दुर्घटनामा पर्‍यो भन्न नसकिए पनि त्यसले उडानमा कतै प्रभाव पार्‍यो की भन्ने आंशका प्रतिवेदनले उठाएको छ ।

त्यसमाथि हेलिकप्टरको अगाडिको सीटमा बढी वेट भएका व्यक्ति बस्दा त्यसले एक त पाइलटलाई उडानमा असर गर्छ । अर्कोतर्फ हेलिकप्टरमा इन्धन बोक्ने ट्यांकी पछाडि हुन्छ । जब हेलिकप्टर बढी समय उडिसक्छ र इन्धन खपत हुन्छ, त्यसपछि पछाडिको तौल कम हुन थाल्छ । यस्तो अवस्थामा अगाडि बढी तौल र पछाडि हलुका हुने अवस्थामा समेत हेलिकप्टरको सन्तुलन बिग्रन जान्छ ।

प्राधिकरणले उच्च हिमाली भेग र पहाडमा उड्ने हेलिकप्टरमा अगाडि दुई जना राख्न सक्ने गरी अनुमति दिँदा त्यसले दुर्घटनाको जोखिम निम्याउने आयोगको भनाइ छ । यसमा पुनर्विचार गर्न आयोगको सिफारिससमेत रहेको छ ।

हतार-हतारमा टेकअफ

सामान्यतया पाइलटले इन्जिन स्टार्ट गरेको केही मिनेटसम्म टेकअफ गर्दैनन् । तर, पाथिभरास्थित हेलिप्याडमा करिब ४५ मिनेट रोकिएको हेलिकप्टरको इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै उडेको थियो ।

उड्नासाथ शक्तिशाली हिमआँधीको शिकार हेलिकप्टर बन्न पुगेको देखिएको छ । त्यसकारण केही मिनेट इन्जिन स्टार्ट गरी त्यसपछि मात्र उड्नुपर्नेमा हतार-हतार उडेको पाइएको छ । बिग्रिएको मौसमबाट बच्न पाइलटले हतार-हतार उडाए पनि उनको यो निर्णय गलत बनिदिएको छ ।

पाथिभरामा पाइलटलाई दवाव थिएन

आयोगका अनुसार पाथिभरामा करिब  ४५ मिनेट रोकिएको हेलिकप्टर उडाइहाल्न त्यहाँ अन्य यात्रु तथा माध्यमबाट दबाब दिइएको थिएन । पाइलट आफैंले मौसमको आंकलन गरी हेलिकप्टर उडाउने निर्णय लिएका थिए ।

अघिल्लो दिनबाटै बिग्रिएको मौसमका कारण पाथिभरा पुगेका उनी राम्रो मौसम हुनासाथ उड्नुपर्ने पक्षमा थिए । उक्त दिन पाथिभरामा ठूलो हावाहुरीसहित हिउँ परिरहेको थियो ।पाथिभरास्थित हेलिप्याडबाट उडेको एक मिनेटभित्रै हेलिकप्टर भीरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

पाइलटलाई अक्सिजनको कमी भयो की ?

सामान्यतया हेलिकप्टरबाट सीधै पाथिभरा जानेहरुका लागि यहाँ हाइअल्टिच्युडको खतरा हुन्छ । कतै उनी पनि यस समस्याबाट आत्तिएका थिए की भन्ने आंशका आयोगले गरेको छ ।

४५ मिनेटसम्म बस्दा मानिसको शरीर स्वस्थ रहेपनि अक्सिजनको कमीले मस्तिष्कमा केही प्रभाव पारेको हुन सक्ने आंकलन गरिएको छ । यस्तो अवस्थामा मानिसले कठिन परिस्थितिमा जुन सुझबुझसहित निर्णय लिन सक्नुपर्ने थियो, त्यो लिन नसक्ने आयोगको भनाइ छ । युवा पाइलट अविवाहित थिए ।

घरमा कुनै पारिवारिक तनावसमेत नरहेका कारण पाइलटले जानजान कुनै गल्ती गरेको प्रमाण भने भेटिएको छैन । हेलिकप्टरसमेत सन् २०१६ मा बनेको नयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment