२६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘रसुवा भोटेकोशी र त्रिशूलीमा आएको प्रलयको कारण मानवीय भौतिक क्षति अकल्पनीय रूपमा भएको छ । त्यसले देशलाई स्तब्ध बनाएको छ,’ प्रचण्डले भने, ‘देशलाई मात्रै होइन्, सिंगो विश्वलाई उद्वेलित बनाएको छ ।’
यसलाई बाढी भनिए पनि यो सामान्य बाढी नभएको उनले बताए । ‘यो त हिमाल पग्लिएर, विष्फोट भएर प्रलयका रूपमा आएको हुनाले विश्व मानव जातिले यो घटनालाई गहिरो गरी हेरिराखेको छ,’ उनले भने ।
सबै वैज्ञानिक र विज्ञ यसको कारण कारणबारे हेरिरहेको उनले बताए । यसबाट नेपालले जलवायु न्याय पाउने स्थिति बनेको उनले बताए ।
‘यो घटनापछि सबैको चेत खुलेको छ । यो नेपालको मात्रै समस्या होइन, यो समस्या मानव जातिकै समस्या देखा परेको छ,’ उनले भने, ‘किनभने, हिमपहिरो जाने कुरा, हिउँ पग्लिने कुरा, हिमताल फुट्ने कुरा कुनै देश विशेषको होइन । विश्वभरिकै समस्या हो ।’
यसबारे आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा कुरा उठाएको उनले बताए ।
‘जसले कार्बन उत्सर्जन बढी गरेको छ, त्यसैले नै आजको यो जलवायु परिवर्तनको स्थिति बनाएको हो । उनीहरूले क्लाइमेट जस्टिसका रूपमा हाम्रो जस्तो देशलाई सहयोग गर्नुपर्ने हुन्छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4