+
+
Shares

अस्ताम गाउँमा भदौ ५ का पाहुना : पोहोर प्रचण्ड, आज बालेन

अन्नपूर्ण इको भिलेज कुनै एक व्यक्तिको मात्र प्रयास होइन, यो तीन पुस्ताको साझा पौरख बनेको छ । जहाँ देशका शीर्ष राजनीतिक नेतृत्वको मोहले झनै नयाँ उत्साह थपेको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ भदौ ५ गते २०:२६
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बनेपछि पहिलो निजी भ्रमणमा बालेन शाह कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका छन् ।
  • प्रधानमन्त्री कार्यालयले यो बालेन शाहको विशुद्ध व्यक्तिगत भ्रमण भएको र उनी भोलि मुस्ताङ जाने जानकारी दिएको छ ।
  • अन्नपूर्ण इको भिलेज शिवराज अधिकारी परिवारको तीन पुस्ताको प्रयासबाट बनेको रिसोर्ट हो, जहाँ आजभन्दा एक वर्षअघि प्रचण्ड पनि बसेका थिए ।

५ भदौ, पोखरा । प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन शाह अहिले कास्कीको पोखराबाट १८ किलोमिटर उत्तर–पश्चिम दुरीमा अवस्थित छ, अस्ताम गाउँमा छन् ।

प्रायः आफ्ना व्यक्तिगत गतिविधिलाई ‘गोप्य’ राख्नखोज्ने प्रधानमन्त्री शाहले यसपटकको भ्रमणलाई पनि त्यस्तै होस् भन्ने चाहना राखेका थिए ।

सुरक्षा प्रोटोकल र विशिष्ट व्यक्तिको भ्रमण भएकाले पनि उनको त्यो चाहना पूरा हुन सकेन । प्रधानमन्त्री कार्यालयले दिएको औपचारिक जानकारी अनुसार, यो प्रधानमन्त्री शाहको विसुद्ध व्यक्तिगत भ्रमण हो ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार, उनी भोलि मुस्ताङ जानेछन् । यद्यपि भ्रमणका अन्य कार्यतालिकाबारे खुलाइएको छैन ।

प्रधानमन्त्री शाह शुक्रबार कास्की पुगेर बसेको रिसोर्ट हो– अन्नपूर्ण इको भिलेज रिसोर्ट । यो रिसोर्टबारे अहिले धेरैले सोधीखोजी पनि गरिरहेका छन् ।

समुद्री सतहबाट करिब १५ सय मिटरको उचाइमा रहेको यही अस्तामको डाँडामा यो होटल अवस्थित छ । यो त्यही रिसोर्ट हो जहाँ आजभन्दा ठ्याक्कै एक वर्षअघि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेर बास बसेका थिए ।

कांग्रेस–एमालेले सहमति गरेर सरकार सञ्चालन गरेपछि पार्टी निर्माणको कामले देशभर हिंडेका थिए, प्रचण्ड । सोही क्रममा अघिल्लो वर्ष भदौमा प्रचण्ड आफ्नो जन्मजिल्ला कास्की पुगेका थिए ।

प्रचण्ड पनि अघिल्लो वर्ष भदौ ५ गते नै यो रिसोर्टमा पुगेर बास बसेका थिए । संयोग नै मान्नुपर्छ, यो वर्ष भदौ ५ गते नै प्रधानमन्त्री शाह सोही रिसोर्टमा पुगेर बास बसेका छन् ।

प्रचण्डले त्यतिबेला केही राजनीतिक भेटवार्ता पनि गरेका थिए ।

कास्कीकै लेवाडेमा जन्मिएका प्रचण्डले अस्तामका गाउँ डुलेका थिए भने जनयुद्धका घाइते अस्तामकै नेत्र अधिकारीलाई पनि भेटेका थिए ।

अहिले बालेन अन्नपूर्ण इको भिलेजमै छन् । तर, पारिवारिक र व्यक्तिगत भ्रमणमा पुगेका भनिएका बालेनले भने कसैलाई भेटेका छैनन् । उनको भ्रमणबारे सुरक्षा निकायसमेत अनविज्ञ रहेको बताएका छन् ।

६० को दशकको अस्ताम गाउँ

प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक भ्रमणमा निस्किएका बालेन अन्नपूर्णमा बस्न पुगेपछि धेरैले यसबारे सोधिखोजी गरिरहेका छन् । करिब ६० को दशकसम्म यो ठाउँमा पुग्ने पर्यटकहरू छक्क परेर स्थानीयलाई नियाल्थे । स्थानीयहरू पनि पर्यटक देखेर दंग पर्थे ।

खर र ढुंगाले छाएका घरहरू थिए । पर्यटकहरू हिमशृंखला कैद गर्न लालयित हुन्थे । उत्तरतिर अग्ला हिमाल र दक्षिणतिर छंगासुर भिर, तलपट्टि कलकल बगिरहेको मर्दी खोला, आँखै अगाडि ठोक्किन आइपुग्ने माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लु हिमशृंखला देखेर विदेशी पर्यटक खुसीले चिच्चाउँथे ।

कहिलेकाहीँ त २/३ दिन एकै ठाउँमा टेन्ट टाँगेर बस्ने र हिमाल हेरेरै बिताइदिन्थे उनीहरू । पातला घरहरू बनिरहेका हेमजासहित पोखरा बजारको केही भाग देखिन्थ्यो । खेतबारीमा काम गरिरहेका गाउँलेहरू पर्यटक खुब रमाउँथे ।

‘हामीलाई हेरेर गोराहरू छक्क पर्थे, गाउँले उनीहरूलाई हेरेर दंग पर्थे । तर गाउँमा बाटो, बिजुली थिएन, खानेपानीको दुःख थियो । अभावमा बाँचेको थियो अस्ताम,’ त्यो बेलाको दृश्य बताउँदै माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ बराल भन्छन्, ‘आफ्नै छातीमा वैभव बोकेर हामी अभावमा बाँचिरहेका थियौं ।’

देशमा युद्ध चर्किरहेका बेला पनि पर्यटकहरू हेमजाबाट उक्लिएर धम्पुस हुँदै घान्द्रुकसम्म पुग्थे ।

तीन पुस्ताले सिंचेको ‘अन्नपूर्ण इको भिलेज’

आजको यो रमणीय र विश्वभरका पर्यटक लोभ्याउने थलो रातारात बनेको भने होइन । यसको जगमा उभिएको छ, शिवराज र विश्वराज अधिकारी परिवारको तीन पुस्ताको संघर्षको कथा ।

२०६१/२०६२ सालबाट नजिककै गाउँबाट अस्तामको डाँडामा शिवराज अधिकारीले गोठ सारे । मल बोक्न गाह्रो नहोस् भनेर बारीमा गोठ सारेका शिवराजको मन यत्तिमै रोकिएन । उनलाई लाग्यो, अस्ताम हुँदै ट्रेकिङ जाने पर्यटकलाई यहीं रोक्न सकिन्छ कि भन्ने सोचे र खान, बस्नको प्रबन्धसहित पर्यटक राख्नका लागि २ कोठा तयार गरे ।

शिवराजले ढुंगामाटोले परम्परागत घर बनाएर २ कोठा तयार पारेका थिए । उनको योजना थियो– बास दिने, खेतबारीमा जे फल्छ त्यही खुवाउने ।

अहिले त्यही २ कोठाबाट अस्तामको डाँडामा सुरु भएको आतिथ्यता हजारौं मानिसको रोजाइ बनेको छ ।

जुन रिसोर्टमा शिवराजपछि उनका छोरा विश्वराज अधिकारीका ३ भाइ, उनका सन्तानसम्मको सपना र सामूहिक भावनाले सिंचिएको छ ।

नेपाली पर्यटकको पनि उस्तै रोजाइमा छ यो रिसोर्ट । अहिले स्तरीय २३ कोठा छन् तर जग्गा १५ रोपनी छ । प्रशस्त खाली ठाउँ राखेर योग ध्यान गर्ने, चराचुरुंगीलाई बास बस्ने, बालबच्चालाई खेल्ने हरियो चौर र कृषि उत्पादनसमेत गर्न जग्गा व्यवस्थापन गरिएको छ । अहिले त्यही इको भिलेजको सिको गर्दै अन्यत्र पनि खुलिरहेका छन् ।

अहिले इको भिलेज मात्रै फेरिएको छैन, सिंगो अस्तामकै मुहार पर्यटनकै कारण फेरिएको छ । अस्तामका सबैजसो घरहरूले पाहुना राख्छन् । नयाँनयाँ होटल खुलिरहेका छन् । ह्याङ्जाकोट होमस्टे सञ्चालनमा छ । तारे होटलहरू पनि निर्माण हुने क्रममा छन् । पक्की सडक, बिजुली पुगेको छ । अहिलेसम्म सुविधा भित्र्याउँदै तर मौलिकता बचाउँदै पर्यटकलाई आकर्षित गरिरहेको अस्ताममा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण इको भिलेज खडा भएको माटो अधिकारी परिवारको परम्परागत पाखो बारी हो । विगतलाई फर्केर विश्व अधिकारी सम्झिन्छन्, ‘यो बारी मुख्य घरबाट ३००–४०० मिटर टाढा परेकाले कोदो, गहुँ र मकै रोप्न घरबाट लामो बाटो हिँडेर मल बोक्दै आउनुपर्थ्यो ।’

२०४६/०४७ सालतिर विश्व अधिकारी गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरे । उतिबेला पोखराको हरिचोकबाट सुरु भएर तिब्बतीयन क्याम्प, मेलबोट, अस्ताम, धम्पुस हुँदै अस्ट्रेलियन क्याम्पसम्मको ६–७ दिने ‘पोखरा फेरो’ पदयात्रा मार्ग निकै चल्तीमा थियो । पदयात्राका क्रममा विदेशी पर्यटकहरूलाई अस्ताम ल्याउने र घरमै राख्ने क्रम सुरु भयो ।

जब पोखरा–बागलुङ राजमार्ग बन्यो, परम्परागत पदयात्रा मार्गहरू सुस्ताए । यतातर्फको पर्यटन ठप्प भयो । यही मन्दीका बीच अधिकारी परिवारले पर्यटनमै भविष्य देख्यो ।

विश्व अधिकारीसँगै बुवा शिवराज अधिकारी (जो पेसाले शिक्षक थिए) र भाइहरू पनि पर्यटन व्यवसायमा हौसिए । पोखरामा ट्रेकिङ सप, ट्राभल एजेन्सी र सन् २००० तिर गेस्ट हाउस चलाए । पछिसम्मै होटलसमेत चलाए । उनीहरूले अनेकौँ हण्डर–ठक्कर खाए । व्यावसायिक मन्दीको सामना गरे । शहरमा झरेर गरेको व्यवसायमा सफल भएनन् तर जब आफ्नै माटोतर्फ फर्किए, सफलता चुम्दै गए, रमाउँदै गए ।

इको भिलेजको अवधारणा : काम गर्दै सिक्दै

‘इको भिलेज’ नाम केवल एउटा व्यापारिक ब्रान्ड मात्र थिएन । युरोप र भारतका इको भिलेजहरूबारे सुनेका र काठमाडौं इन्भायरोन्मेन्टल प्रोजेक्टको वातावरणमैत्री कार्यबाट प्रभावित अधिकारी दाजुभाइले आफ्नै माटोमा यस्तो प्रयोग गर्ने आँट गरे ।

उनीहरूले कुनै ठूलो किताबी ज्ञान वा प्रविधिको सहारा लिएनन्, बरु ‘गर्दै सिक्दै’ को नीति लिए । गाउँकै ढुंगा, माटो र काठको प्रयोग गरेर परम्परागत घरहरू बनाए । आफ्नै खानीका ढुंगा र स्थानीय सिपले स्वरूप पाएका ती संरचनाहरूले नेपालको पूँजी बाहिरिनबाट मात्र रोकेनन्, स्थानीय वास्तुकलाको संरक्षण पनि गरे ।

पर्यटकका लागि आफ्नै फार्मको दूध, दही, घिउ र चिजको व्यवस्था गरियो । क्यामोमाइल, लेमनग्रास र स्टेभिया जस्ता स्थानीय जडीबुटी मिसाएर बनाइने ‘इको टी’ (इको ड्रिंस) आज लोकप्रिय छ ।

पछि कोरोना महामारीको कठिन समयमा सहरका व्यवसाय बन्द भएपछि दाजुभाइहरू पूर्ण रूपमा गाउँमै फर्किएर आफैँ भान्सा र व्यवस्थापनमा खटिएका छन् ।

मुख्य सञ्चालक विश्व अधिकारीले समग्र व्यवस्थापन र बजारीकरण हेर्छन् । उनका कान्छा भाइले सिंगापुरबाट होटेल म्यानेजमेन्टको पढाइ पूरा गरेर आएपछि आतिथ्य र सेवाको गुणस्तर सम्हालेका छन् ।

माइलो भाइ बेदनिधि अधिकारी ट्रेकिङ गाइडका साथै अनुभवी योग तथा वेलनेस गुरु छन् । विश्वका छोराले पनि योग तथा ध्यानका कक्षाहरू चलाउँछन् । आज यो ठाउँ केवल खाने र बस्ने होटेल मात्र रहेन, एउटा वेलनेस सेन्टर र योग साधनाको थलो बनेको छ ।

यहाँ २५० घण्टाको अन्तर्राष्ट्रियस्तरको ‘योगा टिचर्स ट्रेनिङ’ सञ्चालन हुन्छ, जसलाई ३०० घण्टासम्म विस्तार गर्ने योजना उनीहरूको छ ।

सरकारले अझै पनि इको–टुरिजमको स्पष्ट र संस्थागत नीति बनाउन नसकेको गुनासो विश्वराजको छ । ठूला पाँचतारे होटेल र कङ्क्रिटका संरचनालाई मात्र पर्यटन मान्ने सरकारी सोचका कारण स्थानीय र प्राकृतिक पर्यटन ओझेलमा परेको उनको गुनासो छ ।

जमिनलाई जैविक मल प्रयोग गरेर ऊर्जावान बनाउने, गाई–बाख्रा पालन गर्ने, स्थानीय उत्पादन बढाउने र पर्यटकलाई त्यही वातावरणमा भुलाउने नै वास्तविक इको टुरिजम हो भनेर आफूले बुझेको विश्व सुनाउँछन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?