Comments Add Comment

विपक्षीलाई चल्लासँग तुलना गर्दै प्रधानमन्त्रीले भने : जनतामा भ्रम छरे

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई कुखुराको चल्लासँग तुलना गरेका छन् । सरकारले दूरगामी महत्वका असाधारण कामहरु गरिरहेको तर विपक्षीले नन इस्युलाई इस्यु बनाएर विरोध गरेको उनको आरोप छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा झण्डै डेढ घन्टा बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउ गर्नमा खर्चिए ।

प्रशिक्षणमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भनिए पनि सञ्चो नभएको भनेर गएनन् । कार्यक्रममा नेकपा नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले सम्बोधन गरेका छन् ।

‘विश्वले नै शिक्षा लिने काम गरेका छौं’

आफ्नो सरकारले सस्तो लोकप्रियता कमाउने भन्दा पनि दूरगामी महत्वका कामहरु गरिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘एकदुई वटा काम गरेर पपुलिस्ट हुने, सस्तो लोकप्रियता कमाउने सरकार होइन यो’ उनले भने, ‘दूरगामी रूपमा देशको अर्थतन्त्रको विकास कसरी हुन्छ भनेर लागेका छौं ।’

नेकपा सरकारले ‘विश्वले नै शिक्षा लिने’ गरी नमूनायोग्य काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

विभिन्न देशले आफ्नो देशमा सामाजिक परिवर्तन चाहे नेपालबाट सिक्नुपर्ने धारणा प्रधानमन्त्री ओलीले राखे । ‘शान्तिपूर्ण र जनताको सचेत संगठित जनदबावले सामाजिक परिवर्तन ल्याएका छौं,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘समाज परिवर्तन चाहनेका लागि हाम्रो पार्टी एउटा नमुना हो, एउटा पहिचान हो ।’

माओवादी द्वन्द्व व्यवस्थापन र फरक पार्टीलाई मिलाएर अर्को नमुनाको काम गरेको उनले बताए । ‘द्वन्द्वलाई सही र मौलिक ढंगले व्यवस्थापन गरेर, सेना लडाकु व्यवस्थापन गरेर शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढायौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया पनि विश्वका लागि एउटा नमुना हो ।’

नेपालले सानो देश भएर पनि ठूला देशसँग बराबरी गर्ने हैसियत बनाएको उनले बताए । ‘विश्वका कम्युनिस्ट आन्दोलन, प्रगतिशील आन्दोलन, देशभक्तिपूर्ण आन्दोलनमा थुप्रै देशले हामीबाट शिक्षा लिनुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले सानो देश भएर पनि ठूला देशसँग बराबरी गर्ने हैसियत बनाएका छौं ।’

सरकारले सुशासन र विकासका निम्ति अनुकुल वातावरण बनाइरहेको पनि उनले बताए ।

आलोचकप्रति आक्रोशित

लोकतान्त्रिक विधिबाट अगाडि बढ्दा पनि स्वीकार गर्छन् भन्ने नभएको र आफूले नजितेपछि अधिनायकवाद देख्ने गरेको उनले बताए

‘प्रतिक्रियावादीहरुले अनेक प्रकारका पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन् । खेल्ने काममात्र हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘फाटो बढाउन खोज्छन्, कसैको महत्वकांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न खोज्छन् । आन्दोलनलाई बदनाम गर्ने, कमजोर गर्ने र अन्तिममा नष्ट गर्न चाहन्छन् ।’

प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना गर्दै ननइस्यूलाई इस्यू बनाएर भ्रम छरेको आरोप लगाए । संसदमा के विषयमा विधेयक आएको छ भन्ने पढ्दै नपढी विपक्षीले विरोध गर्ने गरेको भन्दै उनले भने, ‘जसरी कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन् । त्यो (पहिला कुद्ने) चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन् ।’

‘ननइस्यूलाई इस्यू बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने काम भइरहेको छ’ प्रधानमन्त्रीले भने, ‘संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नुपर्नेमा पर्याप्त कुरा गर्ने विषय नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागेका छन् ।’

सरकार विरोधीहरुले रचनात्मक सुझावसमेत नदिने भन्दै उनले पार्टीलाई एकतावद्ध गर्न र सचेत तथा क्रियाशील भएर अगाडि बढ्न निर्देशन दिएका छन् । सरकार असफल भयो भन्ने देश दक्षिणपन्थतिर देश जानसक्ने उनको विश्लेषण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment