Comments Add Comment

रक्षामन्त्री पोखरेलको श्वेतपत्र : यतीसँग प्रचण्ड, देउवा र बामदेव मुछिए !

१३ फागुन, काठमाडौं । गोकर्ण रिसोर्ट यती होल्डिङ्सलाई थप २५ वर्षलाई लिजमा दिने निर्णय गरेकोमा चर्को आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ मा संसदमा उभिएर भनेका थिए, ‘पाथीभरा कसले दिएछ, सोल्टी कसले दिएछ, दरबार अगाडि कसले दिएछ, अरु-अरु ठाउँमा ककसले दिएछ, त्यो अध्ययन गर्दैछ ।’

सरकारले भनेको अध्ययन सकिएको छ, र नेपाल ट्रष्टले मंगलबार श्वेतपत्र सार्वनजिक गरेको छ ।

श्वेतपत्रमा गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ मात्र गरिएको छैन, नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक (प्रधानमन्त्री) र को अध्यक्ष (गृहमन्त्री) थिए भन्ने समेत खुलाइएको छ । जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा (प्रभाकर)को नाम उल्लेख गरिएको छ ।

तर रोचक के छ भने प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलको नाम श्वेतपत्रमा छैन । यस्तै, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नाम पनि छैन ।

गोकर्णमा यसरी घुस्यो यती

श्वेतपत्र अनुसार तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रपोर्टी, रोयल प्यालेस र एलएम सुभिर ब्रदर्स नेपाल प्रालिबीच ३१ साउन २०५२ मा गोकर्ण राजनिकुञ्जको जग्गाको लिजमा दिने सम्झौता भएको थियो । निकुञ्जको २७९२-०-३-१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि लिजमा दिइएको थियो ।

गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यहरुको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाममा आयो, र ५ वैशाख २०६७ मा सुभिर ब्रदर्स र नेपाल ट्रष्टबीच मुख्य सम्झौता भयो । हो, त्यही दिन गोकर्ण रिसोर्टमा यती होल्डिङ्सको प्रवेश मात्र भएन, त्रिपक्षीय पूरक सम्झौतामा लिज अवधि समाप्त हुनु अगावै दुवै पक्षको आपसी सहमतिमा लिज अवधि नवीकरण गर्न सकिने व्यवस्था थप भयो ।

श्वेतपत्रमा उल्लेख भएको यो विवरण हेर्दा प्रष्ट हुन्छ गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने कुरा त्यहीबेला तय भएको थियो । तर त्यसबेला ट्रष्टको संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष (गृहमन्त्री) सम्बन्धी व्यवस्था के थियो भन्ने श्वेतपत्रमा उल्लेख गरिएको छैन ।

माधव नेपालको नाम गायब !

तर श्वेतपत्रमा सुभिर ब्रदर्सको नाममा रहको शेयर विदेशी लगानीकर्ताबाट यती होल्डिङ्सको नाममा हस्तान्तरण गर्न २५ मंसिर २०७१ मा स्वीकृति दिँदा प्रधानमन्त्री स्व. सुशील कोइराला नेपाल ट्रष्टको संरक्षक र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम अध्यक्ष रहेको भने उल्लेख गरिएको छ ।

जबकी गोकर्णमा यती समूहलाई प्रवेश गराउने त्रिपक्षीय पूरक सम्झौता स्वीकृत गर्दा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री एवं र भीम रावल गृहमन्त्री अध्यक्ष रहेको कुरा श्वेतपत्रमा खुलाइएको छैन ।

यो पनि पढ्नुहोस नेपाल ट्रष्टको जग्गा व्यक्तिलाई दिने निर्णयमा बाबुराम र गच्छदार संलग्न : श्वेतपत्र

श्वेतपत्रमा अहिले धेरै प्रश्न उठेको गोकर्ण रिसोर्टको सम्झौता अवधिबारे पनि उल्लेख गरिएको छ । गोकर्णमा थप ४८ कोठा र ४०० जना अट्ने सभाहल निर्माण गर्ने गरी नयाँ भाडादर तोक्ने र लिज अवधि पनि ३० वर्ष थप गर्ने प्रस्ताव सुभिर ब्रदर्सले १० वैशाख २०७६ मा नेपाल ट्रष्टको कार्यालयमा दर्ता भएको थियो ।

त्यसआधारमा ट्रष्टले सबै प्रक्रिया पूरा गरेर ‘स्वतन्त्र निकायबाट फेयर मार्केट भ्यालू’ निर्धारण गर्दा सुभिर ब्रदर्सले प्रस्ताव पेश गर्दा प्रस्तावित भाडादरभन्दा बढी देखिएको श्वेतपत्रमा उल्लेख छ । नेपाल ट्रष्टले पत्र लेखेर परिमार्जित भाडादर प्रस्ताव गर्न भनिएको र फेयर मार्केट भ्यालूभन्दा बढी भाडादर प्रस्ताव गरेकाले लिज अवधि थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको थियो ।

त्यसपछि मन्त्रिपरिषद्ले २३ मंसिर २०७६ मा २५ वर्षका लागि लिज अवधि थप्ने निर्णय गर्‍यो ।

फेयर मार्केट भ्यालू निर्धारण गर्दा कति भाडादर आएको थियो ? सुभिर ब्रदर्सले प्रस्ताव गरेको भाडादर कम भएपछि किन अरुसँग पनि प्रस्ताव माग गरिएन भन्ने श्वेतपत्रमा उल्लेख छैन । लिज अवधि थपको सबै प्रक्रिया अगाडि बढाउँदा नेपाल ट्रष्टका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली थिए भने अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल थिए । यो पनि श्वेतपत्रमा उल्लेख छैन ।

लिज अवधि थप गर्दा पुरानो सम्झौताभन्दा बढी पैसा आउने भएको, अप्रत्यक्ष लाभ हुने भन्दै आफ्नो निर्णयको भने बचाउ गरिएको छ ।

देउवा, गौतम र शर्माको नाम

श्वेतपत्रमा यती समूहको थामसेर्कु ट्रेकिङले लिजमा लिएको ताहाचाल र दरबारमार्गको जग्गाबारे पनि उल्लेख छ ।

श्वेतपत्र अनुसार तत्कालीन नेपाल ट्रष्टका संरक्षक स्व. प्रधानमन्त्री सुशील कोइराला र ट्रस्टका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको २८ साउन २०७१ को बोर्ड बैठकले कमलादी, हेटौंडा, ताहाचाल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा भाडामा दिने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो ।

दरबारमार्गको जग्गा थामसेर्कुले लिजमा पायो । थामसेर्कुको प्रस्ताव स्वीकृत गर्दा ट्रष्टको संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री विमलेन्द्र निधि रहेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कुलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment