Comments Add Comment

भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल

१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएको छ ।

दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको ह्वाइट हाउसले जनाएको छ । ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले एक विज्ञप्तिमा भनेकी छन् ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भयो ।’

दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीत्रकरण र आर्थिक एजेन्डामा छलफल भएको बताइएको छ । तर, छलफल कुनै निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो वार्ताका लागि उत्तर कोरियाली नेता ४ हजार किलोमिटरको ट्रेन यात्राबाट भियतनाम पुगेका थिए ।

अमेरिकाले आफ्नो प्रतिस्पर्धी मुलुक उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएको छ । तर, उत्तर कोरिया भने अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आफ्नो आणविक कार्यक्रम जारी राख्ने मनस्थितिमा छ ।

यसअघि गत जुनमा ट्रम्प र किमबीच पहिलोपटक सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । उक्त भेटमा किमले आफ्नो आणविक कार्यक्रमलाई रोक्ने घुमाउरो प्रतिवद्धता जनाएका थिए । तर, कहिले र कसरी रोक्ने भन्ने कुरा सहमतिपत्रमा उल्लेख गरिएको थिएन ।

उत्तर कोरियाले आफ्नो एउटा आण्विक परीक्षणस्थल नष्ट गरेको छ ।  तर, त्यो ट्रम्पसँगको सहमतिका कारण नभएरस काम सकिएकाले नष्ट गरिएको हो । अमेरिकाका उच्च पदस्थ गुप्तचर अधिकारीहरु उत्तर कोरियाले कहिल्यै आफ्नो आणिविक कार्यक्रम नरोक्ने आशंका गर्छन् ।

परमाणु बमलाई संसारमै सबैभन्दा शक्तिशाली हतियार मानिन्छ । केही अपवादलाई छोडेर विश्वले नै अब नयाँ आणविक शक्तिराष्ट्र जन्मिन नहुने सहमति गरेको छ । तर, यो सहमतिले उत्तर कोरियालाई असर गरेको छैन । उत्तर कोरियाले आफूसँग दुश्मनी मोल्ने राष्ट्रविरुद्ध आणविक हतियार प्रयोग गर्न सक्ने बताइन्छ ।

यसबाट खासगरी उसका छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापान त्रस्त छन् । त्यसो त उत्तर कोरियाले अमेरिकामै मार हान्न सक्ने हतियार विकास गरिसकेको पनि दावी गरेको छ । तर, के बिर्सिनु हुँदैन भने अमेरिका आफैं पनि आणविक शक्ति सम्पन्न राष्ट्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment