Comments Add Comment

राष्ट्रिय खेलकुदमा प्रदेश २ : न प्रशिक्षक, न तयारी

४ वैशाख, वीरगञ्ज । आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन प्रदेश २ को महिला क्रिकेट टिम दाङ पुगेको छ ।

देउखुरीस्थित लमही क्रिकेट मैदानमा हुने क्रिकेट प्रतियोगितामा देशभरका आठ टिम भिड्नेछन् ।

प्रदेश २ को क्रिकेट टिमले उपाधिकै लक्ष्य लिएको छ तर, तयारी भने त्यसअनुरुप हुन पाएन ।

खेलाडीहरुले प्रशिक्षकसँग चैत २९ गतेदेखि वैशाख २ गतेसम्म एकैसाथ जम्मा ४ दिन ठकुरराम बहुमुखी क्याम्पस पछाडि रहेको मैदानमा अभ्यास गरे । ‘जिल्लामा प्रशिक्षकबिनै जसतसो खेलिरहेका छौं । सेवा–सुविधा दिएर प्रशिक्षकसहित अभ्यास गर्न पाए राम्रो गर्न सक्छौं भन्ने विश्वास छ’ प्रदेश २ कि कप्तान सरस्वती चौधरी भन्छिन् ।

प्रदेश २ को बारा, महोत्तरी, सिराहा र धनुषामा महिला क्रिकेट टिम भए पनि पर्सा, रौतहट, सर्लाही र सप्तारीमा छैन । चार टिमबीच कलैयामा छनौट प्रतियोगिता खेलाएर १४ सदस्यीय टीम तयार पारिएको छ, जसले आठौं राष्ट्रिय खेल्नेछ ।

४ वटा जिल्लामा महिला क्रिकेट टिमलाई तीनै तहको सरकारले सहयोग गरेको छैन, जसले गर्दा सम्भावना बोकेका खेलाडीहरु केही वर्षसम्म संघर्ष गरेर पलायन हुन्छन् ।

‘जिल्ला, क्षेत्र कसैले पनि महिला क्रिकेटको उत्थानका लागि केही गरेको छैन । आफ्नै प्रयासमा यहाँसम्म आएका छौं,’ ढल्केवर–२ धनुषाकी १८ वर्षीय रोजी केडारी भन्छिन्, ‘साथीहरु विभिन्न जिल्लामा छरिएका छौं । एकै ठाउँमा भेला हुन पनि गाह्रो छ ।’

प्रदेश २ को महिला क्रिकेट टिम म्यानेजर अनिलकुमार शर्मा पनि राज्यको लगानी नहुँदा महिला क्रिकेटमा आकर्षण कम देखिएको स्वीकार गर्छन् । ‘न पहिले कुनै सुविधा थियो, न अहिले छ’ शर्मा भन्छन्, ‘एक त तराई मधेसमा छोरी मान्छेलाई क्रिकेट खेल्न लगाउनै मुस्किल छ । लागिहाले पनि निरन्तरता दिन कठिन छ ।’

केन्द्र मात्र होइन, प्रदेश र स्थानीय सरकारले महिला क्रिकेटमा लगानी गरेको छैनन् । अभ्यास गर्ने सामान समेत नदिएको खेलाडी र टिम म्यानेजरको गुनासो छ । ‘न सामान छ, न मैदान छ, न प्रशिक्षक,’ उनले भने ‘पहिला पनि महिला क्रिकेटरका लागि सहयोग थिएन । अहिले तीन तहको सरकार आएपछि पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment