Comments Add Comment

काम सक्ने पहिलो गौरव आयोजना बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

४ वैशाख, काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबका २२ आयोजनामध्ये सबैभन्दा पहिले सकिने भएको छ । आगामी जुन महिनासम्ममा विमानस्थलको सिभिलतर्फको निर्माणको काम सकिने भएको छ ।

त्यसपछि आगामी सप्टेम्बरसम्मका विमानस्थलमा विभिन्न उड्डयन उपकरण जडानको काम सुरु हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम आगामी १५ दिनभित्रै सकिने भएको छ।

त्यसपछि अन्य भौतिक पूर्वाधार निर्माण्को अन्तिम चरणका काम सम्पन्न गर्न आयोजनाले बढी ध्यान केन्द्रित गर्नेछ ।

प्राधिकरणका अन्तर्राष्ट्रिय विमानस्थल आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२० को सुरुआतबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।

‘हामी पर्यटन वर्षलाई लक्षित गरेर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सक्ने अवस्थामा आइपुगेका छौं,’ अधिकारीले भने,’पोखराको पनि रन-वे निर्माणको काम सकिएको छ ।’

प्राधिकरणका अनुसार पोखरा विमानस्थल पनि तोकिएको समय अगावै सम्पन्न हुने पहिलो राष्ट्रिय गौरबको आयोजना हुनेछ ।

हाल गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रगति निकै राम्रो छ । विमानस्थललाई तोकिए कै समयमा सञ्चालन गर्ने गरी उड्डयन उपकारण जडानका लागि कम्पनी छनोट भएको छ ।

यो विमानस्थल चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुन महिनासम्म निर्माण कार्यको म्याद पाएको थियो ।

तर, बीचमा चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टरबीचको विवादका कारण आयोजनामा समस्या आएको थियो । हाल निधन भइसकेका रवीन्द्र अधिकारी पर्यटनमन्त्रीका रुपमा आएपछि आयोजनालाई तीव्रता दिन सहजीकरण गरेका थिए ।

आयोजनामा प्राधिकरणले पनि ध्यान केन्दि्रत गरेपछि यो आयोजना राष्ट्रिय गौरबका आयोजनामध्ये सबैभन्दा पहिले सकिने अवस्थामा पुगेको छ ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment