Comments Add Comment

चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

धनुषाका शिवशरण भन्छन्- बैंक ब्यालेन्स छैन, भए त घरमा रंग लगाइहाल्थें नि !

५ वैशाख, जनकपुरधाम । बिहानै उठेर शिवशरण मण्डल होण्डाको साइन मोटरसाइकलमा भ्रमरपुरालाई एक चक्कर लगाउँछन् । गाउँलेहरु भेट्छन् । चोकमा चिया पिउँछन् । किनकि ४४ वर्षीय शिवशरण दुई महिनाको छुट्टीमा कतारबाट घर फिरेका छन् ।

हामीले पनि शिवशरणलाई मोटरसाइकलको हेण्डीलमै भेट्यौँ । उनी कहाँ जाँदै थिए, थाहा छैन । तर, हामीले उनलाई घरतर्फ फर्कायौँ ।

बिहानको ९ बजेर केही मिनेट गएको छ । सडकमा स्कुले ड्रेसका विद्यार्थीको चहल-पहल बढ्दो छ । कोही हिँड्दैछन्, कोही साइकलमा छन् । अटो, मोटरसाइकल र बसको पनि चाप उस्तै छ । यो बाटोमा चाप हुने समय हो, यहीबेला मानिस अफिस निस्कन्छन्, यहीबेला मेलाबाट र्फकन्छन्, यहीबेला अभिभावकहरु सन्तानलाई मन्टेश्वरी पुर्‍याउन हतारिन्छन् ।

हामी भने शिवशरणको पदचाप पछ्याउँदै उनको घरमा पुग्यौँ ।

धुलाम्मे मोटरबाटो छेउमै छ शिवशरणको घर । घर छिर्न निहुरिनुपर्छ । फुसको घर पाँच धुर जमिनमा फैलिएको छ । घर छिरेर दक्षिणतर्फको आगनमा निस्किएपछि देखिन्छ – फेरि अर्को घर । एक तले पक्की भवन । शिवशरणको परिवार फुसको झुप्रोबाट यो भवनमा सरेको ७ वर्ष बितिसक्यो ।
यो पनि पढ्नुहोस मधेसमा वैदेशिक रोजगारीले उठाएको घूँघट

घरको रङरोगन बाँकी छ । घरअघि टिनले छाएर, किचन निकालिएको छ । घरबाहिर चहलपहल छैन । सुनसान प्रायः ।

शिवशरणले घर पुग्नेवित्तिकै जहानलाई अह्राए, ‘खै, कुर्सी निकाल ।’

प्लास्टिकको चार कुर्सी हाजिर भए । सिसाको गिलासमा पानी अयो । पानी पिउँदै गर्दा आँखा ग्यासका दुई सिलिण्डरमा ठोक्किए । शिवशरणले सोधे, ‘चिया पिउने ?’

कलको पानी कस्तो खल्लो ?

चिया बनाउनका लागि श्रीमती र उनका बुहारीहरु घरमा छन् । छोरी स्कुल जान तयार छिन् ।

‘छोरी कतिमा पढ्दैछिन् ?’, हामीले शिवशरणलाई सोधेका थियौँ । तर, शिवशरणले त्यही प्रश्न छोरीलाई तेर्साए ।

छोरी आफ्नै भाषामा बोलिन् : ‘एक कक्षा ।’

उमेर १२ पुगेर १३ लागेकी छोरी यत्ति भनेर हिँडिन् ।

****

शिवशरण गत ४ अप्रिलमा घोडाको स्याहार गर्न कतार पुगिसक्नुपर्ने थियो । तर, २१ अपि्रलसम्म घरमै छन् । उनी परिवारको ममतामा अल्झिएर यति ढिला भएको पक्कै होइन । कारण हो, मधुमेहले ग्रस्त छन् शिवशरण, शरीरमा रगतको कमी छ । उनी निको हुन् वा नहुन्, एक उनीसँग हप्ताभित्र खाडीतिर लाग्नुको विकल्प छैन । जसरी उनी २५ वर्षदेखि हिँडिरहेका छन् ।
यो पनि पढ्नुहोस श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

शिवशरण विदेश लागेपछि भाइहरु पनि एक एक गर्दै कतार नै पुगे ।

माइला भाइ ध्रुवले १९९८ मा, देवशरण २००० र छोटे २००७ मा घर छोडे । एक जनावापत ६० हजार रुपैयाँ लगानी गरेर भाइहरुलाई विदेश झिकाए शिवशरणले । शिवशरण भन्छन्, ‘कोही त ठगिएका पनि हुन्छन् । कति साथीहरुले ७० हजार, डेढ/दुई लाख बुझाएर आएको कथा सुनाउनुहुन्छ । दलालले ठग्यो भन्दै रुदैँ काम गर्नुहुन्छ । काम गर्न पनि कहाँ सजिलो छ र ! ४८/४९ डिग्रीको धुपमा बेल्चा चलाउनुपर्छ ।’

सबै मुग्लानको बाटो तय गरेपछि शिवशरणको घरमा एक मात्र पुरुष बाँकी रहे – उनका बुबा । आजभोलि गाउँमा युवाहरु भेट्न गाह्रो छ । देश फारम जस्तो भएको छ । मानिस हुर्कायो अनि विदेश निर्यात गर्‍यो ।

**** 

हामीजहाँ बसिरहेका छौँ । त्यसको ठीक अगाडि फुसको घर उभिएको छ । बाबाले चार सन्तानलाई त्यही फुसको घरमा हुर्काए । जुन घरमा परिवारको सबै सदस्यलाई सुत्न पनि सकस थियो । अरुको खेतमा बटिया गरे । उनको नामको जमिन त्यही घरको भुँई मात्र थियो । त्यहीँ जमिनबाट उनले शिवशरणलाई कतार पठाए ।

एउटा बुबाको जिम्मेवारी छोराछोरी हुर्काएर मात्र पुग्दैन । छोराछोरीले पनि फेरि छोराछोरी जन्माउँछन् । उनीहरुको पनि लालन पालन गर्नुपर्छ । नाति नातिना मात्र होइन, सम्पूर्ण घर व्यवस्थापनकै जिम्मा थियो, शिवशरणका बुबाको थाप्लोमा ।

सबै छोराहरुले बाबालाई नै पैसा पठाउँथे, उनी लौरो टेक्दै जनकपुरको नेपाल राष्ट्र बैंकमा पुग्थे । एक भाइले महिनामा ३० देखि ४० हजारसम्म घर पठाउँथे । त्यसैले त ठडियो ४० लाखको घर, किनियो खेत, पठाउन थालियो बच्चाहरुलाई बोर्डिङ स्कुल । शिवशरणको मुखबाट बोली फुत्कन्छ, ‘यो गाउँ नै विदेश हो । हाम्रो आशा, रोटी भनेकै विदेश हो । नत्र मेरो ६ वटा बच्चालाई मैले कसरी मासिक २० हजार खर्च गरेर पढाउन सक्थेँ ?’

प्रश्न : विदेशमा तपाईलाई राम्रै छ ?

शिवशरण : मलाई कुनै दिक्कत छैन । सरकारी जागिर हो, पेन्सन आउँछ ।

अर्को प्रश्न : केही गुमाएजस्तो चाहीँ लाग्छ कि लाग्दैन ?

शिवशरण : हामी विदेशमा बस्नेले सबै कुरा गुमाउने त हो नि ! २०१० मा छोरीको बिहे भयो । घरमा कान्छा कुनै भाइ थिएनौँ ।

चार भाइको रेमिट्यान्सले यो परिवार सुखी त भयो तर, समृद्ध हुन सकेन । समृद्धिका लागि आर्थिकले मात्र अर्थ राख्दैन ।

****

३, जनवरी २०१६ । शिवशरणका बुबा ६४ वर्षका थिए । उनलाई प्यारालाइसिसले हान्यो । त्यति नै बेला उनले अन्तिम श्वास फेरे ।

परिवारको मियो ढल्यो । परिवारकै सर्वश्व गुम्यो । ‘साइँला र म त बाबाको चेहेरा दर्शन गर्न पनि आउन सकेनौँ’, शिवशरण पछुताउँछन् ।

जव शिवशरणका बुबा ढले । घरमा पुरुष भएनन् । परिवार विछिप्त बन्यो । नाति नातिनाले हजुरबुवालाई मात्र खोजिरहे ।
यो पनि पढ्नुहोस देवर हुन् त सोनहा खातुनको जस्तो !

पहिले त बिहानै उठेर हजुरबा आफ्नो छुट्टै ट्वाइलेट जान्थे । नातिनातिनाले पनि सँगै ब्रस गर्थे । अनि हजुरबाले पाउरोटी र चिया खुवाउँथे र स्कुल पठाउँथे । नाति नातिना स्कुलबाट फर्किएपछि खाजा खुवाउँथे अनि पढ्न बसाउँथे । नाति नातिनालाई हजुरबाको बानी परेको थियो ।

शिवशरणकी आमाको हालत उस्तै । उनी होसमा थिइनन् । बेहोसमै बर्बराइरहन्थिन् ।

घरमा भान्सा त पाक्थ्यो तर, खा भनेर सम्झाउने कोही थिएनन् । थुप्रै रात भोकै बस्यो शिवशरणको परिवार । भात तरकारी बासी भयो ।

बुहारीहरु मेलाको काममा जान सकेनन् । खेती बटियामा दिनुपर्‍यो । त्यसपछि, परिवारको कोर्ष नै परिवर्तन भयो । बटियाबाट आएको अन्नले वर्ष दिन पुग्न गाह्रो हुन थाल्यो ।

शिवशरण सम्झन्छन्, ‘त्यसपछि मैले परिवारको उपचारमा डेढ लाख खर्च गरेको छु । आमालाई मात्र ४० हजार । परिवार नै मानसिक समस्यामा फसेको थियो । सबैले मानसिक रोगको औषधी खानुपर्‍यो ।’

छेउकै कोठाको ढोकाबाट बढी आमा चियाइन् ।  शिवशरणले परिचय दिए, ‘उहाँ मेरी आमा, रामसुन्दरदेवी । त्यस्तै ६० वर्ष पुग्नुभयो होला ।’ बिहानभर मेलामा काम गरेर आराम गरेकी रामसुन्दरदेवीलाई श्रीमानको कुराले पो ब्युझ्यायो कि !

अहिले घरको मियो यिनै रामसुन्दरदेवी हुन् । उनका नाममा नेपाल राष्ट्र बैंकमा खाता छ । छोराहरु त्यही खातामा पैसा पठाउँछन् । २० जनाको परिवार एउटै छानामुनि छ । बुवा बितेपछि आर्थिक व्यवहार फरक-फरक फरक छ ।

२५ वर्ष काम गरेको शिवशरणको खातामा पैसा कति छ त ? शिवशरण भन्छन्, ‘बैंक ब्यालेन्स छैन । भएको भए त घरमा रङ लगाइहाल्थें नि !’
यो पनि पढ्नुहोस ‘हरि घर त आए तर, रातो कफिनमा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment