
८ असोज, काठमाडौं । गत भदौ अन्तिम साता नेपालमा जेनजी आन्दोलन चर्कियो । आन्दोलनपछि मच्चिएको विध्वसंमा जेलमा रहेका १४ हजारभन्दा बढी कैदी बाहिर निस्किए । उनीहरू फरार भएपछि सुरक्षा जोखिम थप बढ्यो ।
यस्तो जोखिम नेपालमा मात्र नभई संसारका लागि नै थियो । किनभने, नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने गरेका छन् । विशेषगरी मलेसिया तथा खाडी मुलुकमा धेरै नेपाली जाने गरेका छन् ।
त्यसमध्ये युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा धेरै नेपाली भिजिट भिसामार्फत जाने गरेका छन् । नेपालबाट भागेका कैदी भिजिट भिसामार्फत आफ्नो देशमा आउन सक्ने र त्यसले सुरक्षा खतरा बढ्ने यूएईका अधिकारीहरूको आकलन थियो ।
सुरक्षा व्यवस्था मध्यनजर गर्दै यूएईले २५ सेप्टेम्बर अर्थात् ३० भदौदेखि भिजिट भिसा जारी गर्न बन्द गरिदियो । त्योसँगै वर्किङ भिसामार्फत श्रमिकका रूपमा जानेका हकमा कडाइ गरिदियो । जुन अहिले पनि यथावत छ ।
भिजिट भिसा दिन पूर्णरूपमा बन्द गरिएको छ भने वर्किङ भिसाका हकमा तत्काल प्रहरी रिपोर्ट माग गरिरहेको छ । यो विषयमा यूएई सरकार तथा नेपाल सरकारले कुनै आधिकारिक सूचना सार्वजनिक गरेका छैनन् । तर, यूएईले नेपाली दूतावासलाई समेत जानकारी गराइसकेको थियो । यद्यपि, दूतावासले अहिलेसम्म औपचारिक जानकारी आएको छैन भनेको छ ।
हिजो मंगलबार अध्यागमन विभागले विभिन्न देशमा रहेका नेपाली दूतावाससँग ‘भर्चुअल’ बैठक आयोजना गरेको थियो । बैठकमा दूतावासले यूएईले भिसा रोकेको विषयमा प्रष्ट पारेको थियो ।
बैठकमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सुरक्षा कारण देखाउँदै यूएईले भिजिट भिसामा रोक लगाएको विषय जानकारी गराएका थिए । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई, गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र अध्यागमन कार्यालयका अधिकारीहरूको उपस्थिति थियो ।
राजदूत क्षेत्रीले नेपालबाट कैदीहरू भागेका र उनीहरू भिजिट भिसामार्फत आफ्नो देशमा आउन सक्ने भन्दै रोकिएको जानकारी यूएईका अधिकारीहरूले दिएको बताएका थिए ।
नेपालमा भएको आन्दोलनका कारण कैदीहरू फरार भएका छन् । फरार कैदीहरूको संख्या बढी छ । उनीहरू सहजै भारतीय बाटो हुँदै आफ्नो देशमा आउन सक्ने र सुरक्षा खतरा बढ्ने भन्दै रोकेको विषयमा दूतावासले जानकारी गराएको थियो ।
प्रतिक्रिया 4