Comments Add Comment

ग्राउण्ड जिरो रिपोर्टः टेन्ट उड्यो, राहतको चामल भिज्यो

४ वैशाख, वीरगञ्ज । बुधबार दिउँसो कलैया उपमहानगरपालिका-१८ भलुही भरवलीया केही महिला भूँईमा पोखिएर भिजेको चामल हातले टिप्ने प्रयास गरिरहका थिए । तर, माटो सराबरी मिसिएको चामल उठाउने सक्ने अवस्था थिएन ।

१७ चैतमा आएको विनाशकारी टोर्नाडोले घर उडाएपछि मुक्ति पटेलको परिवारले राहतमा पाएको चामल थियो त्यो । मंगलबार साँझ आएको हावाहरीले घर जस्तै देखिने ‘चाईनिज टेन्ट’ मात्र उडाएन, घरमा भएको राहतको चामल पनि घोप्ट्यायो ।

मुक्ति पटेलको जस्तै हावाहुरीले अति प्रभावित भलुही भरवलीया र पुरैनिया गाउँका एक दर्जन टेन्ट उडाइदिएको छ । १७ चैतको आँधीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अस्थायी आवासका लागि टेन्ट गाडिदिएका थिए ।

असिना पानीसँगै आएको हावाहुरीले टेन्ट उडाएपछि उनीहरुले छिमेकीको घरमा रात विताए । मुक्तिको ६ जनाको परिवारले पनि छिमेकीको घरमा शरण लिएर रात काटेको छ ।

फेटा गाउँपालिका-१ का गेना राउत मंगलबारको हावाहुरीले पुरानो यादलाई ताजा गरिदिएको बताउँछन् । ‘अस्तीको जस्तो त होइन तर, हावाहुरी र पानी आइरहेको थियो, घर छेउको बिजुलीको पोल हल्लिरहेको थियो’ उनले भने ‘ फेरि घर ढल्ने हो कि भन्ने डर मनमा थियो । त्यसैले सबैजना भागेर खुल्ला ठाउँमा गएर बस्यौं ।’

फेटा गाउँपालिकाकै अर्को गाउँ पुरैनियामा पनि केही चाइनिज टेन्टमा क्षति पुगेको छ । फेटा गाउँपालिका वडा नं ६ पुरैनियाका हासिम मिया मंगलबारको हावाहुरीले पीडामाथि पिडा थपेको बताए ।

‘पहिला हावाहुरी आयो, घर उडायो, सेनाले टेन्ट गाडिदिएको थियो, त्यसैमा बस्दै आएका थियौं, त्यो पनि उखेलिदियो । पाँच जना परिवारको विचल्ली बनायो’ उनले भने ‘ स-साना असिना र पानीसँगै आएको हावाहुरीले राहतमा मिलेको खाने कुरा तथा अन्य समान उडाएर लग्यो, बचेको पनि भिज्यो ।’

हासिमसँगै सफिक अन्सारी, मुस्तुफा अन्सारी, रफिक अन्सारी, तुफैल अन्सारी र सबिला खतुनको अस्थायी टेन्ट बस्न नमिल्ने हावाले उडाएको छ ।

वृद्धा सविला अन्सारी टेन्टमा एक्लै बस्दै आएकी थिइन् । राति आएको हावाहुरीले उडाएपछि सहयोगी हातको खोजीमा थिइन् । ‘ चिउरा, चामल, भुजिया थियो, सबै भिज्यो । छिमेकीको घरको छतमा लगेर सुकाएको छु’ उनले भनिन् ‘ म त टेन्ट उठाउन सक्दिन, कसैलाई भनेर उठाउन लगाउँछु ।’

२५ सदस्यीय परिवार एउटै टेन्टमा

चैत १७ गते आएको हावाहुरी सफिक अन्सारीको परिवारका लागि पनि कालो रात बन्यो । घर बस्न लायक रहेन । हावाहुरीले घर भत्किँदा २५ सदस्यीय परिवारका सबै जसो घाइते भए । राहत आउन थालेपछि यो परिवारले दुईवटा चाइनिज टेन्ट पाएको थियो ।

एउटा टेन्ट मंगलबार बेलुका आएको हावाहुरीले भत्काइदियो । अब २५ जना बचेको एउटा टेन्टमा बस्नुपर्ने बाध्यता आइलागेको छ । ‘ दुईवटा टेन्टमा सबै मिलेर सुत्ने गरेका थियौं, राति हावाहुरी र पानी आएपछि एउटा टेन्ट उडाएर लग्यो’ कमरुल नेसा भन्छिन् । भिजेको अन्नपात छिमेकीको छतमा सुकाएर राखेको सुनाइन् ।

छिटो घर बनोस्

प्रदेश सरकारले टोर्नाडो प्रभावितहरु घर बनाउने भएको छ, त्यसमा सहकार्य गर्ने गरी संघीय सरकारले पनि घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले स्थलगत निरीक्षण समेत गरिसकेका छन् ।

फेटा गाउँपालिकाका नायबसुब्बा सुशील यादव भन्छन्, ‘सेनाको सहयोग लिएर प्रभावितका लागि घर बनाउने भनिएको छ । त्यसैले स्थानीय सरकारले घरबारे केही सोचेको छैन ।’
तर, हुरी प्रभावितको एउटै आग्रह छ, छिटो भन्दा छिटो घर बनोस् र त्यसमा ढुक्कसँग बस्न पाइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment