Comments Add Comment

नीति तथा कार्यक्रमअघि प्रिबजेट छलफल गर्ने परम्परा तोडियो

१६ वैशाख, काठमाडौं । सरकारले नीति तथा कार्यक्रम ल्याउनुअघि संसदमा प्रिबजेट छलफल गर्ने परम्परा तोडिएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सिफारिसमा धारा ९५ को उपधारा २ बमोजिम राष्ट्रपतिले आगामी शुक्रबार दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी दिए ।

अर्थात, राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख २० गते शुक्रबार सरकारको नीति तथा कार्यक्रम सदनसमक्ष प्रस्तुत गर्नेछिन् । अघिल्लो वर्ष नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि अर्थमन्त्री युवराज खतिवडाले बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने र प्राथमिकतामा राख्नुपर्ने विषयमा आफ्ना सुझाव राखेका थिए ।

विगतको परम्परा तोड्न लागेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रम अघि नै प्रिबजेट छलफल गराउन सरकारलाई आग्रह गरेको थियो ।

३१ गतेभित्र प्रिबजेट छलफल सकिने

वैशाख ३१ गतेभित्र प्रिबजेट छलफल सक्नुपर्ने कानूनी बाध्यता छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १४२ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ मा पूर्व बजेट छलफल गर्नुपर्ने ब्यवस्था छ । र पूर्व बजेट छलफल बैठकमा राजश्व र व्ययको बार्षिक अनुमान प्रस्तुत हुनु भन्दा कम्तीमा १५ दिन अगावै समाप्त भइसक्नुपर्ने नियमावलीमा उल्लेख छ । जेठ १५ गते बजेट ल्याउने व्यवस्था संविधानमा नै गरिएको छ ।

सभामुख महराले पनि ३१ गतेभित्र प्रिबजेट छलफल सक्नेगरी अर्थमन्त्री युवराज खतिवडालाई आग्रह गरेको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख महराले भनेका थिए, ‘२५/२६ गतेसम्म नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक पक्षमाथि छलफल सकाउन र ३१ गतेभित्र प्रिबजेट छलफल सक्नेगरी तयारी गर्न अर्थमन्त्री ज्युलाई आग्रह गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment