Comments Add Comment

प्रधानमन्त्री ओलीले भने– निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो, तर…

‘समाजमा अहिलेजति शान्ति कहिल्यै थिएन’

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निर्मला पन्तको हत्यारा यसअघि नै सजिलै पत्ता लाग्थ्यो’ भन्ने दाबी गरेका छन् । राजनीतिक दल र गैरसरकारी संस्थाका कारण हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणबारे भने, ‘निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो ।’

निर्मला पन्त प्रकरणलाई राजनीतिक मुद्दा बनाएर सरकारका विरुद्ध सुरुदेखि नै तमासा देखाउने काम भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीले दाबी गरे ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले १२ वर्ष अगाडिका अपराधका मुद्दाहरुमा गिरफ्तार भइरहेका छन् । व्यापक रुपमा गिरफ्तार भइरहेका छन् । एउटा निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो । तर, राजनीतिक पार्टी र गैरसरकारी संस्थाहरु मैदानमा उत्रिए । … पहिलो दिनदेखि सरकारका विरुद्ध तमासा गर्ने काम सुरु भयो ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘घटना घट्न पाएको छैन, फलानोलाई किन गिरफ्तार गरेको, फलानोलाई किन गिरफ्तार नगरेको, भनियो’ प्रधानमन्त्रीले भने, ‘राजनीतिक पार्टीका कारण निर्मला पन्तबारे निश्पक्ष छानविन हुन पाएन ।’

निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको प्रधानमन्त्रीले आरोप लगाए । ‘निर्मलाका बुबा र आमालाई घेरेर बन्दीजस्तो बनाइयो । अनसन बसाइयो । मानसिक सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइयो’, प्रधानमन्त्रीले भने, ‘यो प्रवृत्ति उचित होइन ।’

निर्मला पन्त

निर्मला पन्त प्रकरणबाहेक अन्य अपराधका घटनामा भने सरकारले सफलता हात पारिरहेको प्रधानमन्त्रीले दाबी गरे । देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको उनले आफ्नो दलका सांसदहरुलाई सुनाए ।

निर्मला पन्तको हत्यारा पत्ता नलागे पनि देशमा शान्ति सुरक्षाको स्थितिमा अभुतपूर्व सुधार देखिएको प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘त्यो एउटा घटना पत्ता लागेन, तर अरु तमाम घटनाहरुमा अपराध यसरी पत्ता लागेको छ कि अहिलेजति समाजमा शान्ति सुव्यवस्था कायम भएको छ, त्यति विगत निकै धेरै वर्षदेखि कायम भएको थिएन ।’

निर्मला पन्तको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र यो घटनालाई राजनीतिक गर्नेहरुको पनि खुलासा हुने प्रधानमन्त्रीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणमा ‘तमासा देखाइएको’ भनेता पनि स्थानीय प्रहरी प्रशासनले छानविनमा सुरुदेखि नै लापरवाही गरेका कारण पीडितको पक्षमा सहानुभूति राख्नेहरु आन्दोलनमा उत्रिएका थिए । स्थानीयबासीहरु आन्दोलनमा नउत्रिएको भए यो घटना त्यत्तिकै सामसुम हुने स्थिति थियो । किनभने, देशभरिका यस्ता बलात्कारका कैयौं घटनाहरु त्यत्तिकै सामसुम हुँदै आएको स्थिति छ ।

त्यसो त निर्मला पन्तका हत्यारालाई कारवाही गर्ने वा यो घटनाको छानविन गर्ने कार्यमा स्थानीय प्रहरी प्रशानबाट लापरवाही भएको कुरा स्वयं ओली सरकारले स्वीकार गरिसकेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोपमा केपी ओली नेतृत्वको सरकार आफैंले कञ्चनपुरका एसपी लगायत प्रहरी टोलीलाई निलम्बनको कारवाही गरेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment