
१७ वैशाख, काठमाडौं । इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराएको बताएका छन् ।
श्रीलंकामा इस्टर सन्डेको बेला श्रृंखलावद्ध विष्फोट गराइँदा २ सय बढीको ज्यान गएको थियो भने पाँच सय बढी घाइते छन् ।
१८ मिनेट लामो भिडियोमा बगदादीले भनेका छन्, ‘इराकको बागुजमा लडाइँ समाप्त भएको छ, तर अझै धेरै कुरा हुन बाँकी नै छ ।’
इराकमा पराजय भोगे पनि बगदादीको नयाँ भिडियो सार्वजनिक गरेर इस्लामिक स्टेटले आफूहरु समाप्त नभएको सन्देश दिन खोजेको बीबीसीले जनाएको छ । इराकको बागुज क्षेत्र इस्लामिक स्टेटको अन्तिम गढ मानिन्थ्यो । त्यहाँ इस्लामिक स्टेटलाई भएको क्षतिको ध्यान मोड्न बगदादीले नयाँ भिडियो सार्वजनिक गरेको अनुमान गरिएको छ ।
केही वर्ष अगाडिसम्म इराक र सिरियाको सिमानामा पर्ने ठूलो हिस्सा इस्लामिक स्टेटको नियन्त्रणमा थियो । तर, सन् २०१६ मा इराकको मोसुल शहर इस्लामिक स्टेटले गुमायो । यसैगरी सन् २०१७ को अक्टुबरमा सिरियाको रक्काबाट पनि इस्लामिक स्टेट लखेटियो । हालै इराकको बागुज शहरमा पनि इस्लामिक स्टेटको उपस्थिति छैन ।
को हुन् बगदादी ?
बगदादीको जन्म सन् १९७१ मा इराकको बगदाद शहरको उत्तरमा पर्ने समारा भन्ने स्थानमा भएको बताइन्छ । बगदादीको वास्तविक नाम इब्राहिम अब्बाद इब्राहिम अल बदरी हो । अमेरिकाले उनको टाउकोको मूल्य साढे २ करोड अमेरिकी डलर तोकेको छ ।
सन् २००३ मा जब अमेरिकी सेना इराक प्रवेश गरे, त्यति बेलासम्म बगदादी शहरको एक मस्जिदमा मौलवी थिए ।
इस्लामी चरमपन्थी संगठन इस्लामिक स्टेट इन इराक एन्ड अल–शाम (आईएसआईएस) ले इराक र सिरियाका आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा ‘खिलाफत’ (इस्लामी राज्य) घोषणा गरेको थियो । त्यसपछि संगठनले अबु बकर अल बगदादीलाई ‘खलिफा’ र मुस्लिमहरुको नेता घोषणा गरेको थियो ।
यसअघि उनको पहिलो भिडियो सन् २०१४ मा सार्वजनिक भएको थियो । पाँच वर्षपछि सार्वजनिक भएको नयाँ भिडियो इस्लामिक स्टेटको मिडिया नेटवर्क अल फुरकानमा पोष्ट गरिएको छ । अप्रिल महिनामा पोष्ट गरिएको यो भिडियो कहिले रेकर्ड गरिएको थियो भन्ने खुलेको छैन ।
प्रतिक्रिया 4