News Summary
Generated by OK AI. Editorially reviewed.- न्यायाधीश हरि फुयालले इनम सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको विशेष प्रतिनिधि भन्दै भेटेको र मुद्दामा दबाब दिएको दाबी गरेका छन्।
- फुयालका अनुसार, सापकोटाले रोहित गुप्ता, दीपक भट्ट र शरद ओझासम्बन्धी मुद्दामा फेभर गर्न आग्रह गर्दै न्यायाधीशहरूलाई महाभियोगको चेतावनी दिएका थिए।
- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सापकोटासँग आफ्नो प्रत्यक्ष वा परोक्ष सम्पर्क नभएको विज्ञप्ति जारी गरेका छन्।
१२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेलगत्तै आफू लगायत अरु दुई न्यायाधीशहरूमाथि चलेको महाभियोगको हल्लाको पृष्ठभूमिमा आफू र इनम सापकोटाबिच सम्पर्क भएको दाबी गरेका छन् ।
आफू र सापकोटाबिच सम्पर्क भएको ह्वाट्सएप विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालले केही संवाददाताहरुसँगको भेटका क्रममा सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको प्रतिनिधिको रुपमा परिचित गराएको दाबी समेत गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला एवं केही संवाददाताहरूसँग आफ्नो चेम्बर(इजलास बाहेकको कार्यकक्ष)मा प्रस्तुत भएका न्यायाधीश फुयालले शुरुमा आफन्तमार्फत सापकोटाले आफूसँग सम्पर्क गरेको बताए ।
भेटको शुरुमा नै इनम सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको विशेष प्रतिनिधिको रुपमा प्रस्तुत गरेका थिए । उनले प्रधानमन्त्री शाहको म्यासेज भन्दै विभिन्न कुराहरू भन्थे र आफ्ना कुरा सुनाउँथे ।
न्यायाधीश फुयालका अनुसार, सापकोटाले आफूलाई प्रधानमन्त्री शाहको प्रतिनिधिका साथै अमेरिकी दूतावासको विश्वासपात्र अनि भारतस्थित अमेरिकी राजदूत सर्जिओ गोरको विशेष सद्भावप्राप्त व्यक्तिको रुपमा चिनाएका थिए ।
‘हामीहरूमाथि महाभियोगको हल्लाका बिच सम्पर्कमा आएका उनले ‘मैले प्रधानमन्त्रीज्यूको विशेष सन्देश लिएर आएको छु, तपाईंहरूमाथि कुनै खतरा छैन,कुनै त्रासमा रहनु पर्दैन भन्ने सन्देश लिएर आएका थिए’ न्यायाधीश फुयालले संवाददाताहरूसँग भने, ‘त्यतिबेलाको परिस्थिति र सन्दर्भका आधारमा (यो घटना) हेरिदिन आग्रह गर्छु ।’
इनम सापकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिरहेको छ । सापकोटाको ग्याजेटका आधारमा प्रहरीले विभिन्न सार्वजनिक पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग सम्पर्क गरेको खुलेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणको आरोपमा समेत अनुसन्धान भइरहेको छ ।
अनि मुद्दाको कुरा गर्न थाले
भेटघाटका क्रममा सर्वोच्च अदालतका अरु ६/७ जना न्यायाधीशहरू पनि जोडिएको न्यायाधीश फुयाल बताउँछन् । त्यसपछि उनले नेपाली कांग्रेसको मुद्दामा अस्वभाविक चासो राखेर निर्देशित गर्न खोजे । न्यायाधीश फुयालका अनुसार, सुरूमा संयुक्त इजलासबाट इनम सापकोटाले चाहेजस्तो फैसला आएन । सापकोटाले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गराउन चाहन्थे । न्यायाधीश फुयालका अनुसार, सापकोटाले हरेक कुराकानीमा प्रधानमन्त्री बालेन शाहको हवाला दिएर कुराकानी गर्थे ।
न्यायाधीश फुयालका अनुसार, भेटमा इनम सापकोटाले कहिले समसामयिक विषयमा कुरा गर्थे भने कहिले विचाराधीन मुद्दाको प्रसंग कोटयाउँथे । कहिलेकाही सर्वोच्च अदालतका ५/७ जना न्यायाधीशहरूसँग सामूहिक रुपमा भेटेका उनले आर्थिक अपराध र अरु मुद्दामा अदालतबाट भएको आदेशले ‘प्रधानमन्त्री निकै असन्तुष्ट हुनुहुन्छ’ भनेर सन्देश दिन्थे ।
सार्वजनिक भएको म्यासेजको सन्दर्भ उल्लेख गर्दै न्यायाधीश फुयालले सुरूमा सापकोटाले प्रधानमन्त्री बालेन शाहको चाहना भन्दै रोहित गुप्तालाई थुनामा पठाउन आदेश हुनुपर्ने आग्रह गरेका थिए । सुरुमा त्यो म्यासेज नहेरेका न्यायाधीश फुयालले इजलासबाट गुप्तालाई २ करोड धरौटीमा छाड्न आग्रह गरे ।

अनि त्यही दिन बेलुकी मुद्दाको धरातल तथा कम्पनीमा गुप्ताको भूमिका विवेचना गर्दा उनी धरौटीमा छाड्नयोग्य रहेको जवाफ दिए । अनि त्यही म्यासेजमा ‘भोलि बेलुकी ७ बजे होटल हिमालयमा भेटौला’ भनी रिप्लाई गरेका थिए ।
न्यायाधीशहरूसँगको भेटघाटमा सापकोटाले ‘यो मुलुकमा अझै ठूलो कू हुन्छ र मुलुक लफडामा जान्छ’ भन्दै न्यायाधीशहरूलाई आफ्नो विश्लेषण सुनाउँथे । अनि अहिलेभन्दा जटिल परिस्थिति आउने भन्दै त्यस्तो अवस्थामा समेत ‘तपाईंहरूलाई मैले सहयोग गर्छु’ भन्दै संरक्षणको आश्वासन दिने गरेका थिए ।
न्यायाधीश फुयालका अनुसार, भोलिपल्ट होटल हिमालयमा आफू मात्रै नभई सर्वोच्च अदालतका ५/७ जना न्यायाधीशहरूसँग सापकोटाको सामूहिक भेट भएको थियो । त्यो भेटमा आक्रोशित भएका सापकोटाले ‘तपाईंहरूमाथि महाभियोग जानसक्छ’ भन्दै चेतावनी दिएका थिए । त्यतिबेला उनी निकै ठाडो र रुखो रुपमा प्रस्तुत भएका थिए ।
सापकोटाले नेपाली कांग्रेसपछि थुनामा रहेका दिपक भट्ट, बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा लगायतको मुद्दामा ‘फेभर गरिदिन’ आग्रह गरे ।
उनले सोझै दिपक भट्टको बन्दीप्रत्यक्षीकरणको निवेदनमा अनुकूलता खोजे । उनले न्यायाधीश फुयाल सहित केहीलाई भट्टको निवेदन हेरिदिनुपर्यो भनेर आग्रह गरेका रहेछन् ।
सोझै र खुलमखुला रुपमा मुद्दाहरूको सिफारिस गर्न थालेपछि सर्वोच्चका ५/७ जना न्यायाधीशहरूबिच सामूहिक छलफल भएको र प्रहरीलाई खबर गर्ने निधो भएको थियो । त्यसपछि न्यायाधीशहरूले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई डाकेका थिए । उनीहरूले इनम सापकोटाले मुद्दाका बारेमा कुराकानी गरिरहेको भन्दै उनको पृष्ठभूमि बुझिदिन आग्रह गरेका थिए ।
केही दिनको फरकमा प्रहरी महानिरीक्षकको सचिवालयले न्यायाधीशहरूसँग सम्पर्क गरेको न्यायाधीश फुयालले बताए । ‘यो मान्छे हामीभन्दा माथिल्लो पहुँचमा छ, हामीले त केही गर्न सक्दैनौं’ भन्दै आईजीपी कार्कीले उसको हाइप्रोफाइल व्यक्ति र माथिकाहरूसँग पहुँच रहेको भन्दै जोगिएर बस्नु नै उचित हुने’ सुझाव दिएका थिए ।
अनि हेडक्वाटरमा सम्पर्क
प्रधानमन्त्री कार्यालयको टिमलाई सम्पर्क गर्दा खासै रेस्पोन्स नआएको अनि प्रहरीबाट समेत सकारात्मक सहयोग नभएपछि न्यायाधीशहरूबिच छलफल भएर प्रधानसेनापतिसँग कुराकानी गर्ने सल्लाह भएको न्यायाधीश फुयालले बताए । उनका अनुसार, ‘त्यसमा सहमत हुनेमा म मात्रै होइन, अरु न्यायाधीशहरू पनि थिए ।’
संवाददाताहरूको बारम्बारको आग्रहमा उनले अरु न्यायाधीशहरूको नाम खुलाउन चाहेनन् । नेपाल बार एसोसिएसनका अध्यक्ष मिश्र र महासचिव कोइराला सहित केही सञ्चारकर्मीहरुको भेटमा आफ्नो टिपोट पढ्दै न्यायाधीश फुयालले भने, ‘त्यसपछि मात्रै लफडा बाहिर आएको हो ।’
न्यायाधीशहरूले प्रधानसेनापति अशोकराज सिग्देललाई ‘इनम सापकोटा’का बारेमा सोधेका थिए । जवाफमा सिग्देलले उनलाई नेपाली सेनाले व्यक्तिगत र संस्थागत रुपमा प्रयोग नगरेको र त्यसो गर्न आवश्यक पनि नभएको जवाफ दिए । अनि सेनाको कुनै सम्पर्कमा नभएको समेत स्पष्ट पारे ।
न्यायाधीशहरूसँगको कुराकानीमा प्रधानसेनापति सिग्देलले सापकोटाको गतिविधिबारे आफूले प्रधानमन्त्री कार्यालयमा सन्देश पुर्याइदिने आश्वासन समेत दिए । ‘इनम सापकोटाले मुद्दाहरूका बारेमा कुरा गर्न थालेपछि हामीले प्रधानमन्त्रीको टिमलाई गुनासो गर्न थालेका हौं,’ न्यायाधीश फुयालले भने, ‘ऊ सबैतिर संलग्न छ भनेर मुख खोलेकै हामीले नै हो । न्यायिक जागरुकताका कारणले नै यो मानिसमाथि अनुसन्धान भएको हो ।’
खासगरी दिपक भट्टलाई छाड्नका लागि प्रधानमन्त्री बालेन शाहकै निर्देशन छ भनेर इनम सापकोटाले भन्न थालेपछि उमाथि अलि आशंका बढेको र सोधखोज हुन थालेको न्यायाधीश फुयालले बताए । न्यायाधीशहरूलाई सम्पर्क गर्ने क्रममा सापकोटाले विभिन्न न्यायाधीशहरूको नाम लिन्थे र अर्कोलाई सहयोग गर्न प्रेरित गर्थे ।
भेटघाटका क्रममा सापकोटाले न्यायाधीश फुयाललाई जहिले पनि ‘प्रधानन्यायाधीशलाई सहयोग गर’ भनेर आग्रह गरिरहन्थे । आफूले नै डा. मनोज शर्मालाई प्रधानन्यायाधीश बनाएको जिकिर सहित सापकोटाले शर्मासँग नियमित भेटघाट र कुराकानी हुने गरेको बताएका थिए । तर बिहीबार नै प्रधानन्यायाधीश डा. शर्माले विशेष विज्ञप्ति जारी गरेर इनम सापकोटासँग आफ्नो ‘प्रत्यक्ष र परोक्ष रुपमा कुनै सम्पर्क र चिनजान’ नभएको दाबी गरेका छन् ।
न्यायाधीश फुयालका अनुसार, उनले सर्वोच्चका ७/८ जना, विशेष अदालतका ३/४ जना र उच्च अदालतका थप ३/४ जना न्यायाधीशहरूसँग पहुँच बनाएर नियमित सम्पर्क गरेका थिए । अनि उच्च तहका प्रशासकहरूसँग नियमित उठबस भइरहने दाबी गर्थे ।
महाभियोगको हल्लाकाबिचमा प्रधानमन्त्री बालेन शाहको नाम लिएर इनम सापकोटाले आफूसँग भेटेको भन्दै न्यायाधीश फुयालले आफूले उसको आग्रह अनुसार कहिल्यै न्यायनिरुपण नगरेको र सेटिङ नगरेको बताए ।
त्यही मुद्दामा रोहित गुप्तालाई धरौटीमा छाड्ने आदेश गरेका न्यायाधीश श्रीकान्त पौडेलले पनि बिहीबार विज्ञप्ति निकालेका छन् । उनले कानून व्यवसायीहरूको बहसपैरवी तथा विषयवस्तुको आधारमा आदेश भएको भन्दै उनले आदेश हुनुअघि र पछि कुनैपनि व्यक्तिसँग फोन र भेटघाट नभएको दाबी गरेका छन् ।
आफूले नै सर्वोच्च अदालतको पूर्ण बैठकमा विशेष अदालतमा देखिएको समस्या र बढ्दो बिचौलियागिरीबारे कुरा उठाएको दाबी गरे । ‘म आजसम्म यत्तिको रक्षात्मक र दुःखी कहिल्यै भएको थिइनँ, विशेष गरेर म नै भिक्टिमाइज भएँ’ संवाद सार्वजनिक भएकै विषयवस्तुमा पनि इनम सापकोटाको इच्छा विपरीत आदेश आएको भन्दै उनले न्यायनिरुपण प्रभावित नभएको दाबी गरे ।
‘उ प्रधानमन्त्री कार्यालयको प्रतिनिधित्व गर्छ भन्ने विश्वासमा मात्रै भेटेको हो, अरु सेटिङ केही होइन’ न्यायाधीश फुयालले भने, ‘म लगायत न्यायीक नेतृत्व र अरु न्यायाधीशहरूमाथि अनुसन्धान होस् । त्यसमा सहयोग गर्न तयार छौं ।’
प्रतिक्रिया 4