+
+
Shares

सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत  

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • २०८३ असार मसान्तसम्म सुदूरपश्चिममा कुल कर्जा ३.८२ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ४१ करोड २८ लाख पुगेको छ ।
  • २०८३ असार मसान्तसम्म कृषिमा प्रवाहित कर्जा २.१३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड ४४ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।

१२ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो ।

२०८३ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा १८.५६ प्रतिशत बढेको छ । तर, कर्जा प्रवाह भने ३.८२ प्रतिशत वृद्धि भएको छ ।

२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह गरिएको कुल कर्जा २०८२ असार मसान्तको तुलनामा ३.८२ प्रतिशत वृद्धि भई १ खर्ब ६३ अर्ब ४१ करोड २८ लाख पुगेको छ । अघिल्लो आव यस्तो कर्जा २.९८ प्रतिशत वृद्धि भएको थियो ।

गत आव प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७३.४८ हिस्सा सेवा क्षेत्रमा छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब २० अर्ब ७ करोड कर्जा लगानी सेवा क्षेत्रमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

आव २०८२/८३ मा सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ६३ अर्ब तथा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान छ ।

आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्र वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ ।

गत आव प्रमुख कृषि बालीले ढाकेको भूक्षेत्र २.११ प्रतिशत ह्रास आएको छ भने यस्ता बाली उत्पादन ०.८२ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन, तेलहन र भटमास उत्पादन क्रमश: ११.८६, ९.५२ र ९.५२ प्रतिशत वृद्धि भएको छ भने फापर र जौ उत्पादनमा क्रमश: ६३.२४ र ३२.०१ प्रतिशत ह्रास आएको छ ।

गत आव यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ९.५६ प्रतिशत हिस्सा कृषि क्षेत्रमा छ । २०८३ असार मसान्तसम्म कृषिमा प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा २.१३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड ४४ लाख पुगेको छ ।

गत आव यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत छ । गत आव अधिकांश उद्योगको उत्पादनमा वृद्धि भएको देखिन्छ भने कंक्रिट, साबुन तथा जीआई तार उत्पादनमा भने ह्रास आएको देखिन्छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १६.९६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ भने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८२ असारमसान्तको तुलनामा ३.७२ प्रतिशत वृद्धि भई २७ अर्ब ७१ करोड ५१ लाख पुगेको छ ।

गत आव यस प्रदेशका होटलहरूको औसत अकुपेन्सी ३४.६९ प्रतिशत छ । घरजग्गा रजिस्ट्रेसन संख्या ११.४१ प्रतिशत बढेको छ । रजिस्ट्रेसन राजस्व १७.२९ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

२०८२ फागुनसम्म यस प्रदेशका विभिन्न जलविद्युत् आयोजनाबाट कुल १ सय ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । २०८२/८३ मा यस प्रदेशबाट जम्मा ६२ हजार ७ सय ३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?