+
+
Shares

इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्चमा तरंग, शुक्रबार बस्दैछ फूलकोर्टको बैठक

बिहीबार दिनभर सर्वोच्चमा के भयो ?

बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालसँग जोडिएका म्यासेज सार्वजनिक भएपछि सर्वोच्च अदालतमा बिहीबार कुनै संस्थागत प्रतिक्रिया आएन ।
  • न्यायाधीश फुयालले इनम सापकोटासँगको सम्पर्क र कुराकानीबारे पत्रकारसँग कुरा गर्दै बदनियत नभएको जिकिर गरे ।
  • नेपाल बार एशोसिएसनले घटनाको छानबिन, न्यायिक नेतृत्वको भूमिकाबारे अध्ययन र गल्ती भेटिए कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्त तरंगित भयो ।

इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ‘ह्वाट्सएप म्यासेज’बाट गरेका कुराकानी सार्वजनिक भएका हुन् । गम्भीर एवं संगीन विवरण सार्वजनिक भएपनि न्यायपालिकाले भने त्यसमाथि कुनै संस्थागत प्रतिक्रिया जनाएन ।

‘फूलकोर्टको बैठकमा त्यसबारे कुरै भएन, गोला तान्ने बेलामा प्रधानन्यायाधीश र अरु न्यायाधीशले त्यसबारे कुनै प्रतिक्रिया जनाउनुभएन’ सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अरु सामान्य दिन सरह नै गोला तानेर इजलास छनौटपछि न्यायाधीशहरू आ–आफ्नो चेम्बरमा गए अनि इजलासमा बसे ।’

हरेक दिन बिहान सर्वोच्च अदालतको बैठक कक्षमा गोलाप्रथाबाट इजलास गठन गर्ने अनि मुद्दा छान्ने अभ्यास छ । त्यसक्रममा न्यायाधीशहरूबीच समयसामयिक विषयमा संक्षिप्त छलफल समेत हुन्छ । तर बिहीबार भने दुई घटनाका बारेमा न्यायाधीशहरूले मुख खोलेनन् ।

न्यायाधीश हरि फुयाल गोला तान्न बैठक कक्षमा गएनन् । सम्बन्धित न्यायाधीश अनुपस्थित भएमा अरु न्यायाधीशले उनको गोला तानिदिने चलन हुन्छ । बिहीबार बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेका न्यायाधीश फुयालले दिउँसो खाजा समय अघिसम्म मुद्दा हेरे, त्यसपछि पत्रकारहरूसँग भेटघाट गरे ।

उनले आफूले इनम सापकोटासँग सम्पर्क गर्नुको कारण, त्यसक्रममा भएको कुराकानी र आफूले मुद्दामा गरेको आदेशकाबाररे पत्रकारहरुसँग कुराकानी गरे । र, इनम सापकोटालाई भेट्नुमा आफ्नो बदनियत नभएको अनि विचाराधीन मुद्दामा समेत भेटको कुनै प्रभाव नपरेको जिकिर गरे ।

स्रोतका अनुसार, दिउँसो खाजा समयमा समेत न्यायाधीशहरूबीच सामूहिक छलफल हुन सकेन । अपरान्ह प्रधानन्यायाधीश डा. शर्माले आफ्नै हस्ताक्षरमा विज्ञप्ति निकालेर इनमसँग आफ्नो सम्पर्क नभएको र कुनै भेटघाट पनि नभएको जिकिर गरे ।

उनले सचिवालयको साटो आफ्नै हस्ताक्षरमा विज्ञप्ति निकालेका थिए । त्यसको केहीबेरमा न्यायाधीश श्रीकान्त पौडेलले समेत आफूले मुद्दाको आदेश गर्दा बहसपैरवी र मुद्दाको विषयवस्तु हेरेको तर कुनै व्यक्तिसँग भेटघाट नगरेको जिकिरसहित विज्ञप्ति जारी गरे ।

प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल समेत गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट(सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ ।

शुक्रबार प्रधानन्यायाधीश डा. शर्मा सहित अरु न्यायाधीशहरूले बैठक गर्नेछन् । सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा छिन् । बरिष्ठतम न्यायाधीशको अनुपस्थितिमा फूल कोर्टको बैठक हुन लागेको हो ।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले पनि बिहीबार विज्ञप्तिमार्फत नै घटनाको छानबिन हुनुपर्ने, न्यायिक नेतृत्व र अरु न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ ।

न्यायाधीशहरूबिच सामूहिक छलफल नभएपछि केही न्यायाधीशहरूले भने आपसमा छलफल गरेका थिए । बिहीबार साँझ न्यायाधीश हरि फुयालले विज्ञप्ति जारी गरी आफूबाट न्यायिक निष्ठामा आँच आउने काम नगरेको दाबी गरेका छन् । उनले आफूले न्यायपालिकाको प्रतिष्ठामा आघात पुर्‍याउने कुनै काम नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यति संवेदनशील समाचार सार्वजनिक हुँदा समेत सर्वोच्च अदालतको संयन्त्र तुलनात्मक रुपमा मौन बस्यो । छलफलमा न्यायिक नेतृत्वको अग्रसरता देखिएन,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘शुक्रबारको बैठकमा यसबारे छलफल होला भन्ने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?