Comments Add Comment

झोलामा खाना बोकेर हिँड्ने ‘हनुमानजी’

रविन्द्र सिंह बानियाँको रोमाञ्चक जीवनशैली

रविन्द्र सिंह बानियाँ अर्थात ‘हनुमानजी’ । धेरैलाई थाहा छ, उनी कलाकार हुन् । धेरैलाई यो कुरा पनि थाहा छ कि, उनले धेरै फिल्म खेलेकै छैनन् । थोरै फिल्म सही, मगजमा टाँसिइरहने चरित्र निर्वाह गरेका छन् ।

‘टलकजंग भर्सेस टुल्के’देखि ‘जात्रा’सम्म उनको यात्रा कस्तो रह्यो ? ती तपसिलका कुरा हुन् । गुदी कुरा त, उनको जीवन हो । अर्थात जीवन भोगाइ र बुझाइ । समग्रमा, जीवनशैली । अतः अनलाइनखबरसँग गफिदै गर्दा उनले आफ्नो दिनचर्याको बेलिबिस्तार मात्र लगाएनन्, जीवन-दर्शनका केही गहन कुरा पनि उप्काए ।

बेसार-पानीसँगै सुरु हुने दिनचर्या

उनी बिहान ६ बजे ब्युँझन्छन् । घडीको काँटासँग उनले आफूलाई डोहोर्‍याएका त छैनन्, तर बिहान ब्युँझने तालिकामा भने कुनै घटबढ छैन ।

निद्राले छाडेपछि ओछ्यानबाटै हात लम्काउँछन् र मोबाइलमा ससर्ती नजर दौडाउँछन् । देश-दुनियाँको खबर हेर्छन् । युट्युबमा आफ्नै फिल्मको ट्रेलर/गीतको भ्युज कति भयो ? चासो राख्छन् । यसरी मोबाइल खेलाउँदा-खेलाउँदै कहिले त एक घण्टा बित्छ । अनि पो बल्ल उनी तङ्ग्रिन्छन् । यतिबेला जीवनसंगी सीता श्रेष्ठले बेसार-पानीको गिलास थमाइदिन्छिन् ।

खाली पेटमा बेसार-पानी पिउन थालेको केही वर्ष भयो । एक पोषणविदले सुझाएकै फर्मुला अनुसार उनले यस्तो पेयमा आफूलाई अभ्यस्त बनाएका हुन् । रविन्द्र सिंह भन्छन्, ‘अब उमेर बढ्ने होइन, ढल्कने क्रम सुरु भयो । त्यसैले हेल्थ मेन्टेन गर्नका लागि बेसार पानीबाट दिनचर्या सुरु गर्छु ।’

सूर्य नमस्कार र हट घोडा हट

बिहान फ्रेस भइसकेपछि केही क्षण विश्राम लिन्छन् । त्यसपछि सूर्य नमस्कार गर्छन् । त्यसपछि समग्र शरीरको अवयवलाई पुग्नेगरी व्यायाम गर्छन् । अर्थात होल बडी स्ट्रेच । यो व्यायाम चाहिँ उनले नाटकमा काम गर्दाताका सिकेका हुन् । शरीरको सबै अंगलाई लचिलो, सक्रिय राख्नका लागि होल बडी व्यायाम गराइन्छ ।

पहिले ध्यान गर्थे । अहिले छुटेको छ । मुड चलेको बेला मर्निङ वाकमा निस्कन्छन् । तर, अहिले मुडले मात्र हुँदैन, किनकी तीन वर्षीय छोरोको खातिर पनि समय दिनुपरेको छ ।

छोरो बालक छन् । ओछ्यान छाडेपछि उनैसँग खेल्नुपर्छ । कहिले उनको घोडा बन्नुपर्छ, कहिले के । भर्खरै मात्र विद्यालयमा पाइला टेकेका छोरोले बुवालाई ‘सतर्क पोजिसन’मा उभ्याएर राष्ट्रिय गीत पनि गाउन लगाउँछ । छोराको आज्ञा जो पालना गर्नैपर्‍यो । उनी उभिएर भाका हाल्छन्, ‘सैयौं फूलका थुंगा हामी ।’

झोलामा भात

रविन्द्र सिंह बानियाँ हेर्दा रोमान्टिक लाग्छन् । फिल्ममा त अझ उनी ‘ननभेज’ लाग्छन् । तर, यी मनुवा सात्विक छन् । खासगरी खानपानको कुरा गर्नुपर्दा ।

उनको दैनिक खुराक हो, सागपात, सलाद र फलफूल । माछामासु वा तामासिक भोजन त्यागेका छन् । सात्विक जीवनशैली अंगाल्ने अभ्यासमा छन् । त्यसमा कति सफल छन् वा छैनन् ? त्यो उनै जानुन् ।

उनको खुराक यस्तो हुन्छ । बिहान नास्तामा ड्राई फुड्स, सातु, दूध । कहिले काहीँ कर्नफ्लेक्स । जीवनसंगी सीताले बेलाबखत रोटी बनाउँछिन्, सागपात सबै मिसाइएको विशेष खालको । यति भएपछि उनको पेट भरिन्छ ।

त्यसपछि कहाँ जानुपर्ने, कसलाई भेट्नुपर्ने, के गर्नुपर्ने ? समय र परिस्थितिअनुरुप निर्धारण हुन्छ । कहिले साथीभाइसँग भेटघाटमा, कहिले सुटिङमा, कहिले प्रि/पोस्ट प्रोडक्सनमा ।

घरबाट निस्कँदा उनीसँग झोला हुन्छ । झोलामा खानेकुराको डिब्बा । डिब्बामा मुला, कांक्रा, गाजर, चुकन्दर आदिको सलाद । त्यससँगै ब्राउन फ्राइ राइस वा यस्तै अरु केही ठोस भोजन । एकदेखि तीन बजेभित्रको समयमा उनी त्यही खानेकुरा खाएर भोक शान्त गर्छन् । यो नै उनको लन्च अथवा दिवा-भोजन हो ।

खानेकुरामा यसरी सतर्क हुन थालेको पनि धेरै समय बितेको छैन । एकपटक ज्यानले ‘हाई अलर्ट’ जारी गरेपछि उनले सतर्कता अपनाएका हुन् । हुन त त्यो उति खतरनाक अवस्था थिएन, थोरै सुगर बढेको संकेत देखिएको थियो । तर, उनका परिचित पोषणविदले ‘मुख बार्न’ सुझाव दिए । सोही अनुसार उनले आफ्नो खान्की बदले । सेता खानेकुरा, चिनी, सेतो चामल र मैदा त्यागे ।

उनी सात्विक भए । सागपात, फलफूल मात्र खाने । तर, भैपरी आउँदा मासुको एक टुक्रा टिप्न उनमा कुनै हिच्किचाहट हुनेवाला छैन । किनभने सधैं र सबै अवस्थामा मुख बारेर साध्य हुँदैन । कहिले आफन्तकहाँ पाहुना लाग्नुपर्ने हुन्छ । पाहुनाको स्वागतका खातिर मासुमंस पाक्ने गर्छ । अब खाना पकाउनुअघि नै ‘म भेजिटेरियन’ भन्न नसकिने । भागमा आइसकेको मासु खाँदै नखान शोभनीय नलाग्ने ।

‘त्यसैले परिस्थितिअनुसार एक-दुई टुक्रा मासु खान सकिन्छ,’ उनी भन्छन्, ‘सबै कुरामा घुलमिल त हुनुपर्‍यो नि ।’

सकेसम्म धर्तीमा अँध्यारो पोखिन नपाउँदै घर पुगौं भन्ने लाग्छ । तर, कामको चटारोले त्यस्तो अनुकुलता सधैं मिल्दैन । राति घर पुग्छन् । खाना खान्छन् । खानामा रोटी, भिन्डी, साग हुन्छ । सकेसम्म ९ बजेभित्र खाना खाइसक्नुपर्छ भन्ने लाग्छ । तर, यो तालिका पनि नियमित हुन सकेको छैन ।

श्रीमान गम्भीर

उनी गम्भीर नै त होइनन् । तर, रोमान्टिक पनि छैनन् । अलि शान्त छन् । चुपचाप-चुपचाप बस्न रुचाउँछन् । बसेका बेला फिल्म हेर्न रुचाउँछन् । पुस्तक पढ्न रुचाउँछन् ।

पुस्तक र फिल्मको स्वाद पहिलेजस्तो छैन । अलि जीवन दर्शनसँग एकाकार हुने किसिमको सामग्री मनपर्छ । बुद्ध सम्बन्धीका पुस्तक एवं रचनाहरु बढी चाख लाग्छ । फुर्सदमा छोरासँग छिल्लिने र मोबाइलमा लीन हुने अतिरिक्त बानी छँदैछ ।

हुन त हरेक श्रीमती चाहँदैनन्, आफ्ना श्रीमान सबथोक भुलेर मोबाइलमा हराएको । सीता श्रेष्ठ कसरी अपबाद हुनसक्छिन् ? उनलाई आफ्ना श्रीमानले मोबाइल खेलाएको मन नपर्दो हो ।

स्कुले जीवनमा रबिन्द्र सिंह बानियाँ चञ्चले थिए । बोलिरहन्थे । तर्क-कुतर्क जे गर्नुछ, गरिरहन्थे । साथीहरुसँग झगडा गर्नुछ भने भनाभनका लागि उनी नै अगाडि सर्थे । भनाभन गरेरै हातपातको अवस्था निम्त्याउँथे । तर, अहिले बोल्न छाडेका छन् । आवश्यक्ताभन्दा बढी शब्द ओकल्न जरुरी ठान्दैनन् । बरु, त्यस समयमा आफ्नै मनको मन्थन गर्न रुचाउँछन् ।

यसरी एकाएक परिवर्तन आएको उनको बानीबाट साथीहरु हैरान हुन्छन् । कतिले त शंका गर्छन्, ‘कतै यसलाई मानसिक रोग त लागेन ?’

तर, असली कुरा अर्कै छ ।  रिम्पोछे गुरु श्रीधर राणाको शरणमा पुगेपछि उनलाई बुद्ध बन्ने रहर जागेको हो । यही रहरले उनलाई शान्त र धैर्य तुल्याएको हो ।

अध्यात्मतिर मन

हेर्दा ननभेज एवं तामासिक लाग्नसक्छ, रबिन्द्र सिंह बानियाँ । फिल्ममा पनि उनको भूमिका त्यस्तै हुन्छ । तर, उनी अध्यात्मिक छन् । जीवन र जगतलाई फरक आँखाले चिहाएका छन् । खासमा उनी बौद्ध दर्शनबाट प्रेरित छन् ।

जब-जब अध्यात्मको कुरा उठ्छ, उनी धाराप्रवाह बोल्न थाल्छन् । यस्तो लाग्छ, उनको रुचि र रहर यतैतिर झुकाव छ ।

बुद्धमार्गी भएपछि उनले आफूमा परिवर्तनको आभाष पाएका छन् । यसले आफूलाई पथभ्रष्ट हुन नदिएको उनको बुझाई छ । भन्छन्, ‘बुद्धिज्ममा आएपछि मेरो जीवन कायापलट भयो ।’

उनी के पनि ठोकुवा गर्छन् भने, ‘पञ्चशील मानियो भने हाम्रो जीवनको ८० प्रतिशत समस्या छु मन्तर हुन्छ ।’ जब हामी आफू शुद्ध हुन्छौं, अनुशासित हुन्छौं, धेरै समस्याहरु स्वत हट्छ । किनभने यो आत्म अनुशासनको कडी हो । जब आफूले आफैंलाई अनुशासित जीवन शैलीमा डोर्‍याइन्छ, न मन खिन्न हुन्छ, न जीवन छिन्न-भिन्न हुन्छ ।

पहिले यस्तो थिएन । उनी फटाहा नै थिए । काम बिगार्थे । जानेर वा नजानेर । कतिसम्म भने, श्रीमती बेलायतमा थिइन् । उनले कमाएर पैसा पठाउँथिन् । त्यो पैसाले उनी अर्की गर्लफ्रेन्ड घुमाउँथे । अवस्था कतिसम्म थियो भने, घर पुग्नुअघि उनी मोबाइलमा आउने कल र म्यासेज सबै ‘डिलिट’ गरिदिन्थे । किनभने ति म्यासेज र कल पारिवारिक कलह बन्न सक्थ्यो ।

अहिले यस्तो भय छैन । किनभने उनी आफैंप्रति ढुक्क छन् ।

उनको दाम्पत्य जीवन रसिलो र कसिलो छ । एकअर्काको सहयोगी हुन्, दुबै । एकअर्काको आड भरोसा हुन् । यद्यपि उनीहरुबीच मायाको कुरा हुँदैन । भविष्यको कुरा हुँदैन । यी कुरा त नभनेरै वा नदेखाएरै हुने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment