News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १३ कात्तिकमा दक्षिण कोरियाको बुसानमा भेटवार्ता हुँदैछ।
- दुवै नेता अमेरिकी किसानका सोयाबिन खरिद, टिकटकको अमेरिकी स्वामित्व र फेन्टानिल सङ्कट समाधानमा छलफल गर्नेछन्।
- मलेसियामा भएको उच्चस्तरीय वार्ताले व्यापार सम्झौताको ढाँचा तयार पारेको र व्यापार युद्धविरामको अवधि थप्ने सम्भावना छ।
१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भोलि बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुँदैछ ।
दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ । यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान शहरमा हुनेछ ।
चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ ।
ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।
सात दिने एशिया भ्रमणमा रहेका ट्रम्पले समकक्षी सी सँगको भेटअघि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘खर्बौं डलर लिएर अमेरिका फर्किँदैछु । एक फलदायी यात्रा । निकै स्मार्ट, प्रतिभावान र शानदार नेताहरूसँगको भेट । भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ । हामी दुवैका लागि यो निकै सानदार भेटवार्ता हुनेछ ।’
राष्ट्रपति ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका तर्फबाट आयोजित भोजमा भाग लिएका थिए ।
भेटमा दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युङ्गले राष्ट्रपति ट्रम्पलाई सुनको विशेष ताज उपहार दिए ।
ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा आजदेखि सुरु भएको एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।
ट्रम्प र सी वार्ताको एजेण्डा
ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ ।
समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीको भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ । यसलाई चीनका तर्फबाट यस वर्षको अमेरिकी कृषि उपजको पहिलो खरिद भनिएको छ ।
दुवै देशबीच व्यापारिक शुल्क विवाद चलिरहेको अवस्थामा चीनले अमेरिकाबाट खरिद घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइएको छ ।
चीनसँगको व्यापार युद्धका कारण मारमा परेका किसानहरूले सन् २०१६ र २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन गरेका थिए ।
कोफ्कोले डिसेम्बर–जनवरी डेलिभरीका लागि करिब १,८०,००० मेट्रिक टन सोयाबिन खरिद गरेको व्यापारिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
यद्यपि यो महिनौंपछि गरिएको पहिलो खरिद भए पनि व्यापारीहरूले निकट भविष्यमा अमेरिकी सोयाबिनको ठूलो मात्रामा माग बढ्ने अपेक्षा भने गरेका छैनन् । किनभने चीनले हालै दक्षिण अमेरिकी मुलुकहरूबाट ठूला परिमाणमा सोयाबिन खरिद गरिसकेको छ । चिनियाँ सरकारी स्वामित्वको कम्पनी कोफ्कोले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
ट्रम्प र सी बीच टिकटकको अमेरिकी स्वामित्वका विषयमा पनि छलफल हुने बताइएको छ । अमेरिकाभित्र चल्ने टिकटकको भर्सन बिक्री गर्न ट्रम्पले चीनमाथि दबाब बढाउँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पको जितमा समेत सहयोगी बनेको टिकटकलाई अमेरिकी प्रशासनले राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै आएको छ । अधिकतम सेयर अमेरिकी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई दिएर अमेरिकाभित्र चल्ने टिकटकलाई आफू अनुकूल बनाउने ट्रम्पको रणनीति देखिन्छ ।
यस्तै दुई शीर्ष नेताबीच अमेरिकी फेन्टानिल सङ्कट समाधान जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।
फेन्टानिल वा अन्य ओपियोइड संकट भन्नाले अत्यधिक ओपियोइड औषधि र लागूपदार्थको दुरुपयोगका कारण व्यापक लत, स्वास्थ्य समस्या र मृत्युदर बढेको अवस्था हो ।
यही फेन्टानिल संकटका कारण अमेरिकाले चीनका सामानमाथि २० प्रतिशत कर लगाएको थियो ।
दुवै देशले आगामी नोभेम्बर १ देखि लागू हुने सम्भावित नयाँ १०० प्रतिशत अमेरिकी कर र चीनका निर्यात नियन्त्रणका कारण व्यापार युद्ध अझै नबढोस् भनेर सम्झौताको बिन्दु खोजिरहेका छन् ।
अमेरिका र चीनले यसअघि एकअर्काका सामानमाथि लगाइएका सयौँ प्रतिशत करहरू फिर्ता लिँदै मे महिनामा ‘व्यापार युद्धविराम’ गरेका थिए । जसको अवधि आउँदो नोभेम्बर १० मा सकिँदैछ ।
मलेसियामा भएको उच्चस्तरीय वार्तामा दुवै पक्षले व्यापार विस्तार, युद्धविरामको अवधि थप्ने, फेन्टानिल समस्या, अमेरिकी बन्दरगाह प्रवेश शुल्क, दुर्लभ खनिज, टिकटक र अन्य विषयमा छलफल गरेका थिए ।
दक्षिण कोरियामा हुने ट्रम्प–सी वार्तालाई चीनको दुर्लभ खनिज निर्यातमाथिको नियन्त्रणसँग जोडेर हेरिएको छ । चीनले दुर्लभ खनिज निर्यातमा नियन्त्रण बढाएपछि विश्व बजारमा आपूर्ति संकट सिर्जना गरेको छ ।
त्यसैको प्रतिवादमा अमेरिकी प्रशासनले चीनतर्फ हुने सफ्टवेयर निर्यात रोक्ने बताएको थियो ।
ल्यापटपदेखि जेट इन्जिनसम्ममा प्रयोग हुने अमेरिकी सफ्टवेयर रोक्ने चेतावनीपछि चीनले पनि उच्च तहको वार्ताबाटै समस्या समाधान गर्नतर्फ जोड दिएको देखिन्छ ।
प्रतिक्रिया 4