
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुसँग आक्रोशित बनेका छन् । काठमाडौंमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको आरोप लगाए ।
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले धेरैवटा ठेक्काहरु लिएर काम नगर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले काठमाडौंका केही सडकको उदाहरण नै दिए ।
प्रधानमन्त्री ओलीले दलको बैठकमा प्रस्तुत गरेको ठेकदारमाथिको आक्रोश यस्तो थियो-
कतिको मुटुमा ढ्याङ्ग्रो ढोकिएको होला, त्यसो भएर पहिल्यैबाट खुट्टा फुत्त झिक्नेखालका प्रयासहरु भएका हुन सक्छन्, म त्यसमा केही पनि भन्न चाहन्न अहिले । त्यो समयक्रममा हामी हेर्छौं ।
एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा हामी भ्रष्टाचारको खोजविन, छानविन र अनियमितताको छानविन गर्छौं ।
अहिले पनि कतिपय ढिलाढाला गर्दिने । कामको जिम्मा लिने, काम नगर्ने । ठेकदारले नसक्ने गरी अनेक ठेक्का लिने । अनेक ठेक्का लिने र त्यो अपूरो राख्ने ।
काठमाडौंको वरिपरि साँघु जाने बाटो होस् कि चाँगुनारायण जाने बाटो होस् कि अर्कोतिर जाने बाटो होस्, या नागढुंगा कलंकी बाटो होस्, विभिन्न बाटाहरु एउटै मान्छेले ठेक्का दिएको छ, काम गर्दैन । शायद उसको क्षमता पनि छैन, एकैचोटि त्यत्रो काम गर्ने ।
देशको विकासलाई बर्बाद पारेर अनि मोबिलाइजेसनको पैसा लिएर मोबिलाइजेसनको पैसाले प्लटिङ गरेर, अरु-अरु काम गरेर, अरु-अरु धन्दा गरेर… ।
खर्बौंको ठेक्का लिने, त्यसो गर्दा १० अर्बको ठेक्का लियो भने २० प्रतिशतका दरले उसले २ अर्ब त मोबिलाइजेसनको पैसा पाउने भयो । २ अर्ब पैसा पायो भने काम नगर्यो, अनि अरु धन्दा गर्यो । अनि देशलाई बर्बाद । त्यसपछि त्यो सबै महंगो हुन्छ । काम राम्रो हुँदैन । यसप्रकारको परिपाटी छ । त्यस्ता परिपाटीहरुलाई हामी नियन्त्रण गर्ने, काम अगाडि बढाउने काम गर्दैछौं ।
मैले भनेको छु, म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार सहन्न । भ्रष्टाचार कल्ले गर्यो, त्यसको मुख हेर्दिनँ, त्यसको काम हरेर कानूनवमोजिम दण्ड सजायँ गर्ने काम गरिन्छ । यसमा देशमा कसैलाई भ्रम नरहे पनि हुन्छ । कसैभित्र, कहीँ, कतै पनि भ्रम नरहे हुन्छ । भ्रष्टाचार गरेको फेला पर्यो भने, छानविन गर्दा भ्रष्ट आचार गरेको छ भने फेला परिहाल्छ र त्यसको कारवाही हुन्छ ।
हामीले कालोबजारी, तस्करी, भ्रष्टाचार, अनियमितता यस सम्बन्धमा अहिले जसरी कारवाही कहिल्यै पनि भएको थिएन ।
आग्रहपूर्ण ढंगले भन्नु, आग्रहपूर्ण ढंगले नक्कली आयोग बनाउनु, अख्तियारलाई ओझेलमा पारेर नक्कली आयोग बनाएर विरोधीहरुलाई तर्साउन खोज्नु बेग्लै कुरा हो ।
अहिले हामीले चलाएको भ्रष्टाचार विरोधी प्रयास यो नक्कली अनधिकृत कुनै संस्था निर्माण गरेर त्यसबाट विपक्षी तर्साउने, विपक्षी फसाउने हिसाबको होइन । देशलाई स्वच्छतामा लाने प्रयास हो ।
प्रतिक्रिया 4