८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार रुकुमकोटतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालकसहित पाँच जना र मोटरसाइकलमा सवार दुई जना गरी सात जना घाइते भएका छन् । भूमे–२ खाबाङका ४५ वर्षीय सहिन पुनको बाँया आँखानजिक चोट लागेको छ । सोही ठाउँका ११ वर्षीय सुदीप पुनको शरीरको भित्री भागमा सामान्य चोट लागेको छ ।
त्यसैगरी सोही गाउँपालिकाकी २७ वर्षीया अस्मिता झाँक्री बुढामगरको बाँया गालामा चोट लागेको छ भने ४३ वर्षीया कर्मकुमारी पुनलाई जिल्ला अस्पताल रुकुमपूर्वमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
८ वर्षीय बचन बुढामगरको टाउकोमा चोट लागेको छ । रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्यान बागचौर–६ का बसन्त भण्डारीको हात र खुट्टाको औंलामा चोट लागेको प्रहरीले बताएको छ ।
घाइते सातै जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4