+
+
Shares

किन बन्द भयो होटल ह्यात ? अब खुल्छ कहिले ?

सरकारले एक महिनासम्म पनि पुनर्निर्माण वा अन्य कुनै कार्यक्रम अघि नबढाएको गुनासो व्यवसायीले गरेका छन् भने राष्ट्रकै प्रतिष्ठा समेत जोडिएको होटल सञ्चालनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको अर्थमन्त्री रामेश्वर खनालको भनाइ छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ कात्तिक ८ गते २१:१४

८ कात्तिक, काठमाडौं । काठमाडौं बौद्धमा रहेको पाँचतारे होटल ह्यातले हिजो (शुक्रबार) एउटा सूचना जारी गर्‍यो । जसमा भनिएको थियो, ‘… अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’

गत २४ भदौमा भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त यो होटल निर्माण गर्नुपर्ने भएकाले अस्थायी रूपमा बन्द गरिएको हो ।

होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेत मध्यनजर गरेर पूर्ण बन्द गराइएको ह्यात रिजेन्सीका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो सूचना देखेपछि शनिबार बिहानै प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गरेकी छिन् । उनकै आग्रहमा अर्थमन्त्री रामेश्वर खनालले होटलका सञ्चालक एवं व्यवस्थापक टिमसँग कुराकानी पनि गरेका छन् ।

देशको पर्यटन, विभिन्न उच्च तहका भ्रमण समेतमा महत्त्व राख्ने यो होटल बन्द नगराउन र सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता अर्थमन्त्री खनालले दिएका छन् ।

होटल व्यवस्थापन स्रोतका अनुसार आक्रमणकारीले आक्रमण गरेको, सामान चोरेर लगेको स्पष्ट देखिने भिडियो फुटेजहरू सुरक्षित छन् ।

नजिकै रहेको भाटभटेनी जले लगत्तै त्यो दिन होटल ह्यातमा आक्रमण भएको थियो । चुच्चेपाटीबाट बौद्धतर्फ जाने बाटोमा टुसाल नपुग्दै होटल ह्यातकाे गेट छ । भाटभटेनीकै अगाडि ठूलो चौर छ ।

पर्खाल नाघेर साेही चाैर हुँदै त्यस दिन आक्रमणकारी हाटल प्रवेश गरेका थिए । उनीहरूले होटल परिसरमा रहेको क्यासिनोमा बढी आक्रमण गरेका थिए ।

तर, ती आक्रमणकारी पक्राउ परेको वा कारबाही प्रक्रिया अगाडि नबढेको अवस्थामा होटल सञ्चालन गराउन नसकिएको व्यवस्थापन टिममा कार्यरत एक कर्मचारीले बताए ।

‘अर्को, ह्यात होटल बढी मजदुर संगठन सक्रिय हुने र व्यवस्थापनलाई दबाब दिइरहने होटल हो,’ ती कर्मचारी भन्छन्, ‘आक्रमणको निसाना बनेसँगै भएको बुकिङ पनि रद्द भयो, थप बुकिङ पनि आएन, यी सबै परिस्थितिबाट आत्तिएको व्यवस्थापनले तत्कालका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।’

सरकार गठन भएको एक महिनासम्म पनि यस्ता क्षतिग्रस्त होटल पुनर्निर्माण एवं व्यवसायीलाई उत्साहित बनाउने कुनै कार्यक्रम नआएपछि अन्तत: बन्द गर्न बाध्य भएको होटल स्रोत बताउँछ ।

‘नयाँ सरकार गठन भएपछिको एक महिनासम्म कुनै न कुनै रिभाइबल प्लान आउँछ र क्षतिग्रस्त होटलहरूले राहत पाउँछन् भन्ने आशमा थियौं, त्यो हुन सकेन,’ ती कर्मचारीले भने ।

ह्यातले छठलगत्तै सञ्चालक समिति बैठक बोलाएको छ ।

उक्त बैठकले व्यवस्थापनको पछिल्लो निर्णय, सरकारको चासोबारे समेत समीक्षा गर्दै थप निर्णय लिने छ ।

तर, प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भने ह्यात रिजेन्सीजस्ता व्यावसायिक र राष्ट्रिय महत्त्व बोकेका होटलहरू बन्द नगराउन सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ ।

‘प्रधानमन्त्रीले समेत यसलाई गम्भीर रूपमा हेर्नुभएको छ, त्यहाँ कार्यरत कर्मचारीको परिवारको हालत के हुन्छ भन्नेसम्म चिन्ता प्रधानमन्त्रीले गर्नुभयो,’ प्रधानमन्त्री सम्बद्ध स्रोतले भन्यो, ‘चाँडै सबै पक्षसँग छलफल गरेर पुनर्निर्माणको काम अघि बढ्छ ।’

तर, व्यवसायीहरू भने निराश छन् । एक व्यवसायीले अहिले पर्यटकीय सिजनकै बेलामा बेहोर्न परेको यो पीडा पुन: फर्कने गरी काम गर्न सरकारी तर्फबाट ठूलो सहयोग नभए सम्भव नभएको गुनासो गरे ।

‘सरकारले अविभावकत्व देखाउन नसक्दा व्यवसायी निरास छन्, त्यसबाट आत्तिएरै यो निर्णय आएको हो,’ उनले भने, ‘अहिले व्यापार छैन, घाटामा होटल चलाउनु भन्दा रोक्दा फाइदा हुने देखेरै यो निर्णय आएको हो ।’

अर्थमन्त्रीको आश्वासन : नआत्तिनू, सबै सहयोग गर्न तयार छौं

यसैबीच अर्थमन्त्री खनालले व्यवसायीहरूलाई नआत्तिन आग्रह गरेका छन् ।

देशको प्रतिष्ठा समेत जोडिएका यस्ता व्यवसाय धरापमा पार्न नदिने गरी सरकारले काम अघि बढाउने उनले बताएका छन् ।

शनिबारमात्रै उनले उच्च मनोबल साथ काम गर्न ह्यात होटलकै सञ्चालक समूहका सदस्यहरूलाई आग्रह गरेका छन् ।

‘नआत्तिनू, सरकार साथमा छ, कुनै पनि खालको व्यवसाय अघि बढ्नुपर्छ, यो त झनै राष्ट्रको गौरवको कुरा हो,’ खनालले भनेका छन्, ‘कुनै पनि सहयोग चाहियो भने भन्नुस्, सरकार सहयोग गर्न तयार छ ।’

पुनर्निर्माण सुरु, तर समय लाग्ने

होटल सम्बद्ध स्रोतका अनुसार ह्यात होटल पुनर्निर्माणका लागि डिजाइनका कामहरू सुरु भइसकेको छ । विशेषगरी होटल परिसरमा रहेको क्यासिनोमा धेरै तोडफोड भएको छ ।

उक्त क्यासिनोमा प्रयोग भएका धेरैजसो सामग्रीहरू विदेशी रहेको र ती सामग्री ल्याउन समय लाग्ने व्यवसायीले बताएका छन् ।

होटल सञ्चालक समितिका केही सदस्यले प्रधानमन्त्री तथा अर्थमन्त्रीको टिमलाई समेत आफ्ना समस्याबारे जानकारी गराइसकेका छन् ।

‘हामीले डिजाइनरलाई ल्याएर काम थालिसक्यौं, इन्स्याेरेन्स (बीमा) को पैसा पनि आउन समय लाग्ने देखियो,’ व्यवसायीले राखेका समस्या सुनाउँदै सिंहदरबार स्रोतले भन्यो, ‘बैंकबाट लोनका लागि पनि प्रक्रिया अघि बढाएका छौं, तर चाडबाड भएकाले त्यो प्रक्रिया पनि रोकिएको छ ।’

अहिले पुनर्निर्माण पनि ढिला हुने र व्यवसाय पनि चलाउन नसक्ने भएपछि श्रमिकहरूलाई तत्कालका लागि होटल परिसरमा नआउन भनिएको एक सञ्चालक सदस्यले बताए ।

त्यहाँ रिनोभेसनको काम भइरहेकाले धुलो उड्ने, अन्य होटलको काम पनि नहुने भएकाले पूर्णरूपमा बन्द गरिएको होटल स्रोत बताउँछ ।

यद्यपि, विदेशबाट सामग्रीहरू ल्याउनुपर्ने र आर्थिक सुनिश्चितताको पनि चिन्ता रहेकाले तत्काल नै होटल पूर्णरूपमा सञ्चालन गर्न नसकिने समस्या व्यवसायीहरूले सरकारलाई गराएका छन् ।

ह्यात होटलले जारी गरेको सूचना :

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?