Comments Add Comment

नेपालीहरु निराश छन्, नौजवानलाई मद्दत गर्नुहोस् : गगन थापा

१८ वैशाख, बार्सिलोना । नेपालमा सोझो हिसाबले कुनै काम गरेर ढुक्कसँग जीविका गर्न सकिने अवस्था छैन । सन्ततिको त के, आफ्नै भविश्यसमेत अँध्यारो देखेर लाखौं नेपाली देश बाहिर छन् । त्यमध्येको एक हिस्सा युरोपमा छ ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा नेपालमा सुरु भएको संसदको वर्षे अधिवेशन छाडेर युरोप भम्रणमा आएका छन् ।

यसैक्रममा नेपाली जनसम्पर्क समिति नर्वेको अधिवेशन सकेर पोल्याण्ड आएका थापासँग अनलाइनखबरका युरोप संयोजक बसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंशः

संसदको बजेट अधिवेशन छाडेर सुटुक्क युरोप उत्रनुभयो, भ्रमणको खास उद्देश्य के हो ?

नर्वे र पोल्याण्डस्थित नेपाली जनसम्पर्क समितिको पूर्वनिर्धारित कार्यक्रमको लागि तीन दिनका लागि मात्र आएको हुँ ।

ओस्लोमा सम्बोधन गर्दा निकै भावनात्मक कुरा गर्नुभयो । नेपालीहरुको पात पनि उतै जरा पनि उतै हुने दिन कहिले आउँला ?

कुनैबेला नर्वेकै पनि जनसंख्याको एउटा हिस्सा अवसर खोज्दै अमेरिका गयो । प्रायः सबै देशले कुनै न कुनै बेला यस्तो अवस्था भोगेको छ । चीन वा भारतमा त्यही भएको छ । यो नेपालको मात्र अवस्था होइन ।

तर, सचेत हुनुपर्ने विषय के हो भने नेपालको जनसंख्याको बनोट अहिले बिशिष्ट चरणमा छ, युवा जनसंख्या बढी छ । हाम्रा तन्नेरी सबै देश बाहिर रहँदा त्यो समयको लाभ त्यही देशको अर्थतन्त्रले पाउँछ ।  हामी विकास गर्ने क्षमता राख्दा पनि आफूसँग तन्नेरी जनसंख्या नहुने अवस्थातर्फ जादैछौं ।

त्योभन्दा पनि चिन्ताको विषय, अबको २०/२५ वर्षमा नेपालमा बुढ्यौलीमा उक्लेको जनसंख्या धेरै हुन्छ । त्यो अवस्थामा घरहरुमा काम गर्ने मान्छे हुँदैनन् । त्यसैले, नेपालमा धेरै मेहनत हुनुपर्ने, बढी उत्पादन गर्नुपर्ने बेला यही हो ।

नेपालको अर्थतन्त्र राम्रो भए सबै नेपाली नेपाल र्फकने वा नराम्रो नै भए सबै नेपालबाहिरै रहने अवस्था हुँदैन । तर, न्युनतम रोजीरोटीकै निम्ति लाखौं तन्नेरी देश बाहिर रहनुपर्ने अहिलेको अवस्था नफेरि नेपाल फेरिन्न ।

नेपालमा वर्षेनी सालाखाला चारलाख युवा श्रम बजारमा आउँछन् । ती मध्ये थोरैले मात्र देशभित्रै न्युनतम जिविका चल्नेगरी काम पाउने अवस्था छ । कम्तिमा तीन-साढे तीन लाख युवा काम खोज्न बाहिर जान्छन् । नेपालभित्रै अवसर सिर्जना नभएसम्म यो क्रम रोकिँदैन ।

हामी नेपालमा राजनीतिक स्थायित्व भएन, सरकार बदलिरहे, त्यसैले रोजगारीको अवसर सिर्जना गर्न सकेनौं भन्दै लामो समय मेहनेत नगरी बस्यौं । दुईतिहाई बहुमतको सरकार आएपछि एक वर्ष पनि उत्साही हुने वर्ष रहेन । यो एक वर्षमा कम्तिमा केही आधारहरु निर्माण गर्ने दिशातर्फ अग्रसर भएको भए अबको ५-७ वर्षमा नेपालमा केहि हुन्छ भनेर आशा गर्ने ठाउँ बन्थ्यो होला । तर मैले त्यसो भन्न पाएको छैन ।

नेपालमै आशा जगाउन नसक्नुको अरु कारणहरु के हुन् ?

नेपालमै बसिरहेका नौजवानहरुले काम गर्न खोजेका छन् तर, उनीहरुसँग पुँजी र अनुभव छैन । यसमा तपाईँहरुले बाहिरबाट नयाँ ढंगले सोचिदिनुस् । यसमा केही मद्दत गरिदिनुभयो भने असाध्यै ठूलो कुरा हुनेछ ।

मैले नेपाली रहेका धेरै देश घुम्ने मौका पाएको छु । २०-२५ वर्षदेखि विदेशमा रहेकाहरुलाई भेटेको छु । मैलै सबैलाई सोधेको छु-किन विदेश आउनुभएको ? सबैको कथा करिब करिब एउटै छ- देशमै काम गर्ने अवसर र वातावरण दुवै पाइएन ।

विदेशको दुःख के को लागि भन्दा आˆनो र सन्ततीको भविष्यको लागि । यसको सिधा अर्थ के हो भने, नेपालमै भविष्य बनाउन सकिन्छ भन्ने आशा जगाए सबै नेपालमै कृयाशील हुन्छन् । वा बाहिरीने घट्छन्, भित्रिने बढ्छन् ।

त्यस्तो आशा जगाउने अवस्था छ त नेपालमा ?

मेरो सानो अनुभव राखौं । गएको चुनाव सकिएपछि म देशका विभिन्न ठाउँमा गएँ । त्यो बेला नेपालीहरुमा यो पार्टी, त्यो पार्टी, यो विचार, त्यो विचार नभनी ठूलो आशाको सञ्चार भएको थियो । एउटा लामो राजनीतिक उकुसमुकुसबाट देश बाहिर निस्कियो, अब केहि नयाँ हुन्छ भन्ने भएको थियो । त्यसलाई स्थायित्व दिन कति सक्यौं, कति सकेनौं छुट्टै विषय हो । सबैले त्यसको प्रतिक्षा गरिरहेका रहेछन् । मलाई लाग्छ, देश बाहिर रहेका साथीहरु पनि त्यो प्रतिक्षामा हुनुहुन्छ ।

हामी अरु जस्तो सम्बृद्ध देश बन्न नसक्नुको कारण तपाई के देख्नुहुन्छ ?

पहिलो कुरा हामीले राजनीतिक प्रणालीलाई स्थिर बनाउन सकेनौं । पोल्याण्ड सन् १९९० मा स्थापित ‘डेमोक्रेसी’लाई स्थिर बनाएर अगाडी बढ्यो । हामीले २०४६ सालपछिका  परिवर्तनहरुलाई टिकाउन सकेनौं । हामी कहाँ परिवर्तन गर्ने तर, त्यसलाई नटिकाउने नकाम भयो । हाम्रो समय, स्रोत सबै द्वन्द र लडाइँमा गयो ।

असहमति र द्वन्द्वको बिचमा पनि अदालत, विश्वविद्यालय लगायतका ‘इन्स्टिच्युसन’हरुलाई बलियो बनाउँदै लैजानुपथ्र्यो । त्यसो गरेको भए राजनीतिक अस्थिरताका बीचमा उनीहरुले देशको प्रगति र विकासमा योगदान पुर्‍याइरहेका हुन्थे । तर नेपालमा उल्टो काम भयो । हामीले ‘इन्स्िटच्युसन’हरुलाई जोगाएनौं ।

तेस्रो कुरा, हामीले गरिबीबाट बाहिर निस्कने आकांक्षा राख्यौं तर, गरिब बनाउने कारणहरु हटाउन, अवस्था बदल्न जुन ठाउँमा जस्तो हस्तक्षेप गर्नुपथ्र्यो, त्यो गरेनौं । त्यहाँ जान चाहन्छौ भन्यौं, त्यहाँ जानका लागि गर्नुपर्ने काम गरेनौं । कहिले डराएर गरैनौं, कहिले सिर्जनात्मक नभएर गरेनौं तर, गरेनौं । यात्राको निम्ति गर्नुपर्ने पहल गर्दै नगरेपछि जहाँको त्यही रहृयौं ।

गत चुनावबाट दुईतिहाई बहुमतको स्थिर सरकार आयो । नेपाल अब सम्बृद्ध बन्ला त ?

हामीले सरकार अस्थिर भएको कारणले विकास नभएको भन्ने धारणा बनाइ राख्यौं । अहिलेको सरकारलाई पनि लाग्यो- पाँच वर्षको लागि ढुक्कसँग हामी आयौं, अब सबथोक स्वतः हुन्छ ।

तर, सरकार सिंगो मेशिनको एउटा पूर्जा मात्र हो । बाँकी पाटपूर्जा पनि ठिक भयो भने मेशिन चल्छ । तर, हामीले धेरै समय लगाएर देशका ‘इन्स्िटच्युसन’हरु बिगारेका छौं । तिनलाई सपार्ने प्रयास भएको मैले देखेको छैन ।

म प्रधानमन्त्रीको नियत बेठिक भन्दिन । एक वर्ष अघि उहाँ आउनुभयो, देश बदल्ने इच्छा थियो नै । अहिलेसम्मका सबै खराब, अब म आएँ । म असल भइसकेपछि सबै ठीक हुन्छ भन्ने लाग्यो, उहाँलाई । तर, ‘सिस्टम’ चल्नका निम्ति पाटपूर्जा ठीक बनाउनुपर्छ । कुर्सीमा बसेकाले यो कुरा सोचिदिएको भए वा अब सोचिदिए हुन्थ्यो । समस्या यहाँनेर छ भन्ने मलाई लाग्छ ।

अब गैर-आवासीय नेपाली संघ (एनआरएन)को कुरा गरौं । नेपालीहरुले विदेशमा सिकेका सिप र ज्ञानलाई नेपालसँग जोड्ने भन्दै एनआरएनले काठमाडौंमा गरेको सम्मेलन यहाँलाई कस्तो लागेको छ ?

यसमा निरन्तरता कस्तो हुन्छ, हेर्नुपर्छ । किनकि, एकचोटि यो कुरा गर्नुपर्छ भनेर मात्र ज्ञानको सदुपयोग हुँदैन । जस्तो, मैले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरेँ । यसमा मलाई रुची भएकाले नर्वे र पोल्याण्डका केही साथीसँग कुरा गर्दा ३-४ वटा नयाँ कुरा थाहा पाएँ ।

नेपालमा मैले स्वास्थ्य बीमा सम्बन्धी कानून बनाउँदा यसका चुनौतीहरु पोल्याण्डका साथीहरुले बताउनुभयो । यसरी नेपालीहरुसँग भएको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने प्रयासलाई निरन्तरता दिन मञ्चहरु बनाउनुपर्छ ।

विदेशमा व्यवस्थित जीवन बिताइरहेका नेपालीहरुले स्वदेशका गाउँठाउँमा विद्यालय र एम्बुलेन्सका लागि धेरै सहयोग गर्नुभयो, अब यसलाई बदल्नुपर्छ । सहयोगलाई नेपालमै बसिरहेका नवजवानहरुलाई स्वदेशमै रोजगार गराउने अवस्था सिर्जना गने ढाँचामा ढाल्नुपर्छ ।

नेपाल सरकारले नेपालमा काम गर्ने वातावरण नै दिएन भन्ने गुनासो छ नि ?

गैर-आवासीय नागरिकको रुपमा नेपालको नागरिकता राखिराख्न पाउने कुराले एउटा आधार बनायो । यति आधार भएपछि नेपाल सरकारले हामीलाई विश्वास गर्‍यो, हामीले पनि केही कुरा गर्नुपर्छ भन्ने हो ।

एनआरएनएलाई तपाईँको थप सुझाव के छ ?

नर्वेका साथीहरु उर्जा सम्मेलन गर्ने सोचमा हुनुहुँदोरहेछ । त्यसो भए तपाईर्ँहरु नर्वेका मात्र नभई उर्जाको क्षेत्रमा काम गरिरहेका युरोपभरका विज्ञहरुलाई डाक्नुहोस्, नेपालका त आइहाल्नुहुन्छ भनेको छु । सम्मेलन मात्र नगरौं, त्यहाँबाट उठेपछि उर्जा मन्त्रालयसँग निरन्तर समन्वय गरिरहने कुनै मञ्च बनाउँ भनेको छु ।

युरोपमा बसेका नेपालीमध्ये कोहीले ज्ञानमा सहयोग गर्न सक्नुहोला, कोहिले नेटवर्किङमा, कोहीले युरोप र बाहिरका लगानीकर्ता ल्याएर सहयोग गर्न सक्नुहोला । नेपालको उर्जा मन्त्रालयले पनि विदेशका कुन ठाउँमा रहेका नेपालीहरु कुन-कुन क्षेत्रमा के-के दिन सक्छन् भन्ने करा थाह पाउँछ ।

अन्य मन्त्रालयहरुमा पनि त्यसैगरी जोडिन सकिन्छ । विदेशस्थित नेपालीहरुले बनाएको नेटवर्क मन्त्रालयले प्रयोग गर्दा नेपाल बन्छ । यो प्रकृयालाई गतिशील बनाउन मन्त्रालयहरुले अगुवाई गर्नुपर्छ ।

केहि अघि तपाई ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अमेरिकाको हार्वड विश्वविद्यालयको विद्यार्थी हुनुहुन्थ्यो । यो कस्तो किसिमको अध्ययन थियो ?

विश्व आर्थिक मञ्चको एउटा परियोजना छ-योङ ग्लोबल लिडर । यसले हरेक वर्ष संसारभर प्रशासनिक, राजनीतिक, व्यवसायिक आदी विविध क्षेत्रमा काम गरिरहेका युवामध्ये केहीलाई छान्छ । २०१५ मा नेपालबाट म छानिएको थिएँ ।

विभिन्न देशका ७० जना योङ ग्लोबल लिडरका निम्ति हावर्ड विश्वविद्यालयले १६ दिनको कोर्ष डिजाइन गरेको थियो । ‘लिडरसिप’, ‘नलेज’सँगै विश्वका मुद्वा, लोकतन्त्रमाथि आएको विश्वव्यापी संकट, जलवायु परिवर्तन, स्वास्थ्य र शिक्षामा राज्यको दायित्व आदी विषयहरुमा पढ्ने मौका पायांै । यी कुरामा देश अनुसार कसरी धारणाहरु बन्छन् भन्ने बुझ्न पाइयो । अब लिडरसिपबारे अनलाइनमा एक वर्षसम्म अध्ययन गर्नेछौं ।

अन्त्यमा, बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई के भन्न चाहनुहुन्छ ?

देशभित्र होस् वा देशबाहिर, नेपालीहरु निराश छन् । प्रत्येक दिन यो भयो, त्यो भयो भन्ने नयाँनयाँ काण्ड हुन्छ । दिक्क लाग्छ ।

सबैमा मेरो के आग्रह छ भने नेपालमा यो प्रणाली काम नलाग्ने भयो भन्ने निष्कर्ष ननिकाल्नुहोला । शासन प्रणाली खुल्ला र पारदर्शी भएर नै हामीलाई यी सूचनाहरु थाहा भएको हो । हामीले यसभित्रका रोगहरुलाई निको पार्दै यो व्यवस्थालाई मजबुत बनाएर जाने हो । भित्र, बाहिर सबै ठाउँबाट हामीले संघीय गणतन्त्र नेपाललाई बलियो बनाउनु पर्छ ।

प्रवासमा पनि सबैका अवस्था एउटै छैन । आ-आˆना दुःख र क्षमता छ । नेपाललाई १५-२० वर्षमा द्रुत आर्थिक विकासको बाटोमा लएर लैजानुपर्ने भएकाले नेपालसँग जोडिने कुरामा नयाँ ढंगले सोच्नुहोला ।

नेपालमै बसिरहेका नौजवानहरुले काम गर्न खोजेका छन् तर, उनीहरुसँग पुँजी र अनुभव छैन । यसमा तपाईँहरुले बाहिरबाट नयाँ ढंगले सोचिदिनुस् । यसमा केही मद्दत गरिदिनुभयो भने असाध्यै ठूलो कुरा हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment