Comments Add Comment

‘गौचन बनाइदिन्छु’ भन्दै ठूला ठेकदारलाई कसले दिइरहेको छ धम्की ?

५० लाखदेखि एक करोड रुपैयाँसम्म मागिएको दाबी

Photo Credit : अनलाइनखबर अर्काइभ । सीआईबीमा समिरमानसिंह बस्नेतलाई सार्वजनिक गरिँदै ।

१७ वैशाख, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई वर्ष पुग्न लाग्दा फेरि निर्माण व्यवसायीहरुलाई मोटो रकम माग्दै धम्की आउन थालेको छ ।

२४ फागुनदेखि निर्माण व्यवसाय क्षेत्रका ठूला ठेकदारलाई पटकपटक रकम माग गर्दै धम्की आइरहेको हो । स्रोतका अनुसार करिब ३० जना व्यवसायीलाई ‘अननोन’ नम्बरबाट धम्कीपूर्ण फोन आइसकेको छ ।

निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पनि व्यवसायीहरुलाई धम्की आएको स्वीकार गर्छन् । फोनमा बोल्ने व्यक्तिले धम्कीपूर्ण भाषामा भन्ने गरेका छन्, ‘रकम नदिए गौचककै ताक बनाइदिन्छु ।’

गौचनको २३ असोज ०७४ मा बानेश्वर, खरिबोटमा दिनदहाडै गोली हानेर हत्या भएको थियो । घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेतसहित उनको समूहलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ ।
बस्नेत हाल केन्द्रीय कारागार सुन्धारामा छन् ।

तर, गौचन हत्या प्रकरणमा उनलाई साथ दिएका बोका भनिने गंगा लिङ्देन र अजय थापा अझै फरार छन् । प्रहरीका अनुसार गौचनको हत्याका लागि लिङ्देनले हतियार व्यवस्थापन गरेका थिए भने थापाले गौचनको रेकी गरेका थिए ।

रवि सिंहको प्रश्नः हामी कसरी फिल्डमा जाने ?

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरुलाई धम्कीपूर्ण फोन आइरहेको स्वीकार्दै कार्यस्थलमा जाने वातावरण नभएको बताए ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतलाई जानकारी दिइए पनि प्रहरी–प्रशासनबाट सुरक्षाको प्रत्याभूति नपाएको उनले बताए ।

‘हामी दुई महिनासम्म चुपचाप थियौं तर, अझै धम्की दिने व्यक्ति पत्ता नलागेपछि बोल्न बाध्य छौं’, उनले अनलाइनखबरसँग भने, ‘हामी दुरदराजमा गएर काम गर्छौं । दुर्गम ठाउँलाई सुगम बनाउँछौं तर, यस्तो अवस्थामा कसरी हामी दुर्गममा जाने ?’

उनले सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । ‘हामी पैसा दिने पक्षमा छैनौं । पहिलेको घटनाले पनि हामी जनतामा गएर सरकारलाई झक्झक्याउन चाहन्छौं’, उनले थपे, ‘सरकारले चाँडै दोषी पत्ता लगाओस् ।’

को हुनसक्छ धम्क्याउने ?

गौचन हत्या अघिकै शैलीमा निर्माण व्यवसायीहरुलाई धम्की आउन थालेपछि सुरक्षा संयन्त्रले भने समिरकै संलग्नता आशंका गरेको छ ।

भारतबाट पक्राउ गरी १७ मंसिरमा सार्वजनिक गरिएका उनले नख्खु कारागारभित्रै रहेर हाई–प्रोफाइल हत्या योजना बनाएको प्रहरी स्वयंमले बताएको छ ।

त्यही आशंकामा उनलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो तर, श्रीमती मायासहित परिवारका सदस्यले समिरको इन्काउन्टर गर्न खोजेको भन्दै सर्वोच्च अदालतमा रिट हाले । अदालतले समिरको पक्षमा आदेश दिएपछि उनलाई अहिले केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।

सामान्यतयः सुरक्षा संवेदनशील भएका कैदीबन्दीलाई गोलघरमा राख्ने गरिन्छ । उनीहरु विशेष सुरक्षा र निगरानीमा हुन्छन् भने अन्य कैदीबन्दीको सम्पर्कबाट टाढा हुन्छन् । तर, कारागार प्रशासन स्रोतकाअनुसार उनी दिउँसो घाम ताप्न भन्दै बाहिर निस्कन्छन् ।

त्यही बेला अरुको सम्पर्कमा पुग्ने उनले नै चलखेल गर्ने सम्भावना रहने सुरक्षा अधिकारी बताउँछन् । हाल केन्द्रीय कारागारमा समिरसहित अर्का गुन्डा नाइके रमेश बाहुन र रिगल ढकाल पनि राखिएका छन् । उनीहरुबीच सम्पर्क देखिएले सुरक्षा चुनौति हुनसक्ने भन्दै कारागार सरुवा गर्ने तयारी गरिएको पनि प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस जेलबाटै सुरक्षा चुनौतीः गृहमन्त्रीलाई चिठी, सञ्चार उद्यमीलाई ‘थ्रेट’

त्यसो त समिरलाई देखाएर अर्को समूह पनि रकम असुलीमा संलग्न हुननसक्ने भने होइन । तर, त्यस्ता सम्भावित समूह हालसम्म प्रहरीले पहिचान गर्न सकेको छैन ।

केही प्रहरी अधिकारीले विप्लव समूहका व्यक्तितर्फ पनि आशंका गरे पनि त्यो दाबी बलियो देखिँदैन । किनकि, समूहले पत्राचार गरेरै चन्दा माग्ने गरेको छ ।

समिरः वाफलको टोली गुण्डादेखि नाइकेसम्म

काठमाडौं वाफलका गुण्डा समीरमान सींह बस्नेत ०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा कुमार घैंटेको समूहमा संलग्न थिए ।

उनको मृत्युपछि बस्नेत आफू पनि इन्काउन्टरमा पर्ने डरले प्रहरीबाट भागिरहेका थिए । तर, सीआईबीले पक्राउ गरिसकेपछि घैंटेको लगानी फिर्ता नगर्दा गौचनको हत्या गरेको उनले दाबी गरेका थिए ।

कहिले नेपालका विभिन्न ठाउँ त कहिले भारतमा बस्दै आएका थिए, उनी ।

कुनै समय उनी कलंकी, बाफल र कालिमाटी क्षेत्रका सामान्य गुन्डा थिए । तर, दिनेश अधिकारी (चरी) र कुमार घैंटेबीचको सम्बन्धनमा दरार आएपछि दुवैले छुट्टाछुट्टै ग्याङ बनाउने क्रममा बस्नेत घैंटेसँग नजिक भए ।

उनी व्यवसायीबाट चन्दा सङ्कलन गर्ने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न हुँदै आएका थिए । प्रहरी परिसर काठमाडौंले बस्नेतलाई ‘ए’ ग्रेण्डको गुण्डामा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment