Comments Add Comment

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

२३ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

गौचनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

[sam_list]

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएर सरकारविरूद्ध प्रदर्शन गरेका थिए । उनीहरूले अस्पताल अगाडिको सडकमै बसेर गृहमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए । उनीहरूको कारण बानेश्वर तीनकुने सडक अवरूद्ध भएको थियो ।

प्रहरीले  गौचनको हत्या आशंकामा तीन जनालाई पेस्तोलसहित पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको रोशी नगरपालिका ४ का  छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् । उनीहरू गौचनको हत्यामा संलग्न भए/नभएकोबारे एकीन नभएको र घटनाबारे गहन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेलले कैद गरेका केही तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment