News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप ज्ञवालीले नेपालले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा नजोडिई स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए ।
- उनले असंलग्नता, पञ्चशील र गौतम बुद्धको मध्यम मार्गलाई परराष्ट्र नीतिको आधार बनाउनुपर्ने भन्दै अतिवादी कित्तामा नउभिन आग्रह गरे ।
- ज्ञवालीले चीन र भारत दुवैसँगको सम्बन्धलाई अवसरका रूपमा लिएर पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, नेपालले असंलग्नता र पञ्चशीलको सिद्धान्तलाई परराष्ट्र नीतिको आधार बनाउनुपर्ने बताए ।
गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको उल्लेख गर्दै उनले कुनै पनि अतिवादी धार वा रणनीतिक कित्तामा उभिन नहुने बताए ।
‘गौतम बुद्धको मध्यम मार्गले पनि हाम्रो परराष्ट्र नीतिलाई प्रभाव पारेको छ । कुनै पनि अतिवादमा नलाग्ने, कुनै कित्तामा नउभिने र रणनीतिक समूहमा नजोडिने कुरा असंलग्नता र पञ्चशीलका सिद्धान्तमा भेटिन्छन्,’ उनले भने, ‘त्यसैले इतिहासको यो पक्षलाई ध्यानमा राखेर नेपालले सधैं स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ ।’
छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास पैदा हुने खालका गतिविधि र नीति अपनाउन नहुने उनको भनाइ छ । नेपालप्रति छिमेकीको विश्वास कमजोर भए शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
‘कुनै दिन लाग्यो ढुक्क हुन सकिने अवस्था छैन भनेदेखि शक्ति राष्ट्रहरू गेम प्ले गर्न थाल्छन् । शक्ति राष्ट्रहरू आफैं अगाडि आउन थाल्छन्, जुन कुरा नेपालले एफोर्ड गर्न सक्दैन,’ ज्ञवालीले भने, ‘यो कुरालाई ध्यानमा राखेर सन्तुलित सम्बन्ध हाम्रो परराष्ट्र नीतिको एउटा महत्वपूर्ण आधार हुनुपर्छ ।’
नेपालले चीन र भारत दुवैसँगको सम्बन्धलाई अवसरका रूपमा लिनुपर्ने उनले बताए । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र, ठूलो उपभोक्ता बजार, नवप्रवर्तनको केन्द्र तथा उत्पादन र आर्थिक वृद्धिको इन्जिन रहेको उल्लेख गर्दै उनले उत्तरी छिमेकीसँगको सम्बन्धलाई महत्त्वका साथ अघि बढाउनुपर्ने बताए ।
दक्षिणी छिमेकी भारत पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । ठूला मुलुकको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति कमजोरी नभई अवसर भएको उल्लेख गर्दै उनले दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
नेपालको वर्तमान परराष्ट्र नीति र पछिल्ला गतिविधिले छिमेकीको विश्वास कति जित्न सकेका छन् भन्ने विषयमा बौद्धिक समुदायले विश्लेषण गर्नुपर्ने पनि उनले बताए ।
ज्ञवालीले चीनको कम्युनिष्ट पार्टी संगठनात्मक र नीतिगत रूपमा व्यवस्थित रहेको उल्लेख गर्दै त्यसबाट नेपाली कम्युनिष्ट पार्टीहरूले समेत सिक्नुपर्ने बताए ।
प्रतिक्रिया 4