Comments Add Comment

भेनेजुएला संकट : सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदायो

१८ वैशाख, काठमाडौं । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । राष्ट्रपति निकोलस मदुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी नै कुदाइदिएको छ ।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व विपक्षी नेता ख्वान गुइदोले गर्दै आएका छन् । आफूले आफैंलाई नयाँ राष्ट्रपति घोषणा गरेका गुइदोमाथि सत्ता पलटको आरोप लाग्दै आएको छ । उनले अमेरिकाको समेत समर्थन पाएका छन् ।

तर, मदुरोले सत्ता नछाडेपछि गुइदोले सरकारविरुद्ध निर्णायक आन्दोलनका लागि आह्वान गरेका छन् । हजारौं प्रदर्शनकारी राजधानी कराकसस्थित सैनिक मुख्यालय अगाडि जम्मा भएर मदुरोको राजीनमा मागिरहेका छन् । तिनै प्रदर्शनकारीमाथि मदुरोप्रति बफादार सेनाले बख्तरबन्द गाडी कुदाएको हो ।

सैनिकहरुले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

गुइदोले आफूलाई समर्थन गर्न सेनालाई समेत आह्वान गरेका छन् । तर, भेनेजुएलाका सैन्य जनरल भ्लादिमिर पडि्रनोले सेना राष्ट्रपति मदुरोको साथमा रहेको स्पष्ट पारेका छन् । मदुरोलाई साथ दिँदै आएको सेनाले सामरिक रुपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ ।

भेनेजुएलालाई आर्थिक संकटमा पारेको भन्दै गुइदो र उनका समर्थकहरूले मदुरोको राजीनामा माग्दै आएका छन् । उनले आफूलाई गत वर्षको जनवरीमा अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले उनीमाथि यात्रा प्रतिवन्ध लगाएको थियो ।

उनी केही समय कोलम्बिया बसेर बिभिन्न देशहरुको समर्थन जुटाएका थिए । उनलाई अमेरिका, कोलम्बिया, ब्राजिल लगायतका देशहरुको समर्थन छ । यसैगरी मदुरोलाई चीन, रुस, क्युवालगायत देशले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment