Comments Add Comment

संसारका मजदुर हँसाउने जुलुस ! वारि कम्युनिस्ट, पारि कांग्रेस

मजदुर दिवसमा सडकको दाया र बायाँ ‘मजदुर’को बेग्ला बेग्लै जुलुस

१८ वैशाख, काठमाडौं । आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए ।

तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

संसारका मजदुर एक हौं भन्ने त कुरा न हो, विभिन्न पार्टीका भातृ संगठनका रुपमा रहेका नेपाली मजदुरहरुले आज मे १ का दिनमा पनि एकैठाउँ उभिएर आफ्नो वर्गको आवाज बुलन्द गर्न सकेनन् । र, अन्तरराष्ट्रिय श्रमिक दिवसका दिनमा समेत प्रमुख राजनीतिक दलसम्वद्ध मजदूर संगठनले छुट्टाछुट्टै जुलुस निकालेर एकताविरोधी सन्देश दिए ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।

दुई पार्टी निकट मजदुर संगठनको  र्‍याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो । सुन्धारामा नेकपा निकट मजदुर संगठनको र्‍याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको र्‍याली सडकको दाया भागबाट अघि बढेको थियो ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म जुलुस र कोणसभा गरेको थियो ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरबा मजदुरहरुले गरेको संघर्षको सम्झनामा अरेक वर्ष मे १ का दिन मजदुर दिवस मनाउने गरिन्छ ।

हुन त मजदुर संगठनहरुले बेग्लाबेग्लै जुलुस निकाले पनि पत्रकारहरुका संस्थाले भने बुधबार बिहान पत्रकार महासंघको ब्यानरमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म संयुक्त जुलुस निकालेका थिए । पत्रकारको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका पत्रकारहरु एकै ठाउँमा उभिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment